
३१ असार, काठमाडौं । नि:सन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने भन्दै किशोरीको शरीरबाट गैरकानुनी रुपले डिम्ब निकालेर बेचबिखन हुने गरेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानवबेचबिखन अनुसन्धान ब्यूरोले गरेको जाँचका क्रममा १८ वर्षमुनिका किशोरीहरुलाई विभिन्न प्रलोभन देखाएर डिम्ब बेचबिखन हुने गरेको पाइएको हो ।
सीआईबीका निर्देशक चन्द्रकुवेर खापुङका अनुसार, १८ वर्ष नपुगेका किशोरीहरुलाई आर्थिक प्रलोभन देखाएर कारोबार गरेको भन्दै सूचना आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । ‘एकातिर नि:सन्तानलाई सन्तान हुने बनाइदिने भन्ने र अर्कातिर किशोरीहरुलाई १५ देखि १६ हजार दिएर डिम्ब निकाल्ने गरिएको खुलेको छ’, उनले भने, ‘किशोरीहरु ल्याउने बिचौलियालाई ३० देखि ३५ हजार रुपैयाँ दिइने गरेको खुलेको छ ।’
यस्तो काममा संलग्न काठमाडौंको होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रा.लि.का ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर, के कसुर अन्तर्गत कानुनी प्रक्रिया अघि बढाउने भन्नेमा अलमल देखिएको छ । सुरुमा यो प्रकरण मानव बेचबिखन अनुसन्धान ब्यूरोसम्म पुगेको थियो । तर, यसलाई मानव अंग तस्करीसँग जोडेर हेर्न नमिल्ने भन्ने सरकारी वकिलको राय आएपछि सीआईबीले अनुसन्धान थालेको थियो ।
‘डिम्बलाई मानव शरीरको सेलको रुपमा मात्र हेरिन्छ भन्ने भएपछि सरकारी वकिलसँगको छलफल गरेर बालबालिकासम्बन्धी ऐनविपरीतको कसुरमा अनुसन्धान थालेका थियौं, किनभने पीडित अन्डरएजका थिए’, खापुङले अनलाइनखबरसँग भने, ‘तर, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेपछि हाजिर जमानतमा छाडेका छौं ।’
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङका अनुसार, पीडितहरुले आफूहरुलाई ९ देखि १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको बताएका छन् । ‘पछि डिम्ब विकास भइसकेपछि सानो शल्यक्रिया गरेर निकाल्ने र त्यसलाई प्रिजर्भ गरेर राख्ने गरेको देखिन्छ’, खापुङले थपे, ‘उहाँहरुलाई अहिले हाजिर जमानतमा छाडे पनि अनुसन्धान जारी रहन्छ, हामी कहाँ उहाँहरु नियमित उपस्थित भइरहनु हुन्छ ।’
उमेर पुगेका युवतीले स्वेच्छाले दिए फरक विषय हुने तर, किशोरीहरुलाई प्रलोभनमा पारेर यो कार्य गरेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ । प्रहरी अधिकारीहरुका अनुसार, नेपालमा शुक्रकिट भण्डारण गर्ने कानुनी प्रावधान भएपनि डिम्ब दानबारे स्पष्ट प्रावधान छैन ।
प्रतिक्रिया 4