Comments Add Comment

राष्ट्रिय ध्वजावाहक जोगाउने जिम्मेवारी पूर्वसचिवको काँधमा

३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) मा हुने नियुक्तिलाई लिएर एउटा भनाइ नै चलेको छ– प्रतिष्ठा बोकेर छिर्‍यो, बदनाम भएर निस्कियो ।

यसमा कतिपय व्यक्तिगत कारण होलान् । तर, मुख्य कारण नेवानी भित्रको गुटबन्दी, पाइलट–इन्जिनियर द्वन्द्व र राजनीतिक हस्तक्षेप नै हो । नेतृत्वमा जो आए पनि गुटबन्दी, द्वन्द्व र राजनीतिक हस्तक्षेपको भूमरीबाट जोगिन सक्दैनन् ।

यसपटक सरकारले नेवानी हाँक्ने जिम्मेवारी राम्रो छवि बनाएका पूर्वसचिव सुशील घिमिरेलाई दिएको छ । कार्यकारी अध्यक्षमा नियुक्ति पाएका उनीसँग यसअघि करिब १८ महिना निगमको वोर्ड अध्यक्ष रहेको अनुभव पनि छ ।

सरकारी सेवाबाट बाहिरिएपछि पनि घिमिरे नेवानीसँग जोडिँदै आएका छन् । योगेश भट्टराई पर्यटनमन्त्री भएलगत्तै गठित नेवानी सुधार सुझाव कार्यदलको संयोजक उनी तोकिएका थिए । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव रहँदा घिमिरे नेवानीको बोर्ड अध्यक्ष थिए । त्यसबेलाका निर्देशक रहेका रामहरि शर्मा निगममा घिमिरेको आगमनले राम्रो संकेत गरेको बताउँछन् ।

‘लामो समय नेवानीमा रहँदा मैले चिनेका थोरै राम्रा कर्मचारीमध्ये उहाँ एक हो,’ उनले भने, ‘अब सरकारीस्तरबाट पनि निगमले माया पाउने आशा गरौँ ।’

कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनायता नेवानी नेतृत्वविहीन थियो ।

पर्यटन बोर्ड काण्डमा सफाइ

नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त कार्यकारी अधिकृत (सीईओ) सुवास निरौलासहित २३ जनाविरुद्ध २०७१ चैतमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुँदा उनी पनि परेका थिए ।

पर्यटन मन्त्रालयका सचिव पर्यटन बोर्डको सञ्चालक समिति अध्यक्ष हुने प्रावधानका कारण उनी पनि भ्रष्टाचारमा मुछिएका थिए । तर, पछि उनले अदालतबाट सफाइ पाए । त्यसबाहेक घिमिरेको सार्वजनिक छविमा प्रश्न उठेको छैन ।

उनले स्थानीय विकास, सूचना तथा सञ्चार र खेलकुद मन्त्रालयको सचिवको समेत जिम्मेवारी सम्हालेका थिए । नेवानी बोर्डको अध्यक्ष रहँदा घिमिरेले चुस्त र पारदर्शी निर्णय दिने गरेको पूर्वनिर्देशक शर्मा सम्झन्छन् ।

अर्घाखाँचीमा जन्मिएका पूर्वसचिव घिमिरे गत माघसम्म लक्ष्मी बैङ्कका अध्यक्ष थिए ।

आफ्नै सुझाव कार्यान्वयन गर्ने अवसर

घिमिरेकै नेतृत्वमा गठित नेवानी सुधार सुझाव कार्यदलले संस्थाको सबल र दुर्बल पक्ष केलाउँदै उत्थानका लागि विभिन्न सुझाव दिएको थियो । यो नियुक्तिले उनी आफैँलाई सुझाव कार्यान्वयनको अवसर दिएको छ ।

राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु, अपारदर्शी निर्णय परम्परा भत्काउनु, आधुनिक उपकरणको प्रयोग बढाउनु, आन्तरिक-बाह्य प्रतिस्पर्धी क्षमता विस्तार गर्नु, चुस्तदुरुस्त कर्मचारी व्यवस्थापन बनाउनु, वैज्ञानिक कार्य सम्पादन मूल्याङ्कन, सरकारी लगानी वृद्धि गर्दै नेवानीलाई गर्व गर्न लायक बनाउने जिम्मेवारी अब घिमिरेकै काँधमा आएको छ । उनी संयोजक रहेको कार्यदल यस्तै सिफारिस गरेको थियो ।

नेवानीलाई ४० अर्ब हाराहारी ऋणबाट मुक्त पार्नु र सञ्चालन पुँजी वृद्धि गर्ने चुनौती उनको सामु छ । सञ्चित नोक्सानीमा रहेको कम्पनीलाई माथि उकास्नेदेखि संस्थागत संरचना सुधार गर्नेसम्मका जिम्मेवारी नयाँ कार्यकारी अध्यक्षको काँधमा छ।

अन्य सरकारी निकायसँग समन्वय, स्रोतको सदुपयोग, व्यवसायिक योजना लगायतका पक्षमा समेत चालिने नयाँ कदम वा यथास्थितिमा अगाडि बढ्ने प्रयासले घिमिरेको सफलता या असफलता निर्धारण गर्नेछ । घिमिरे सफल भए लडखडाइ सकेको नेवानी उकासिन्छ, असफल भए उनको छविसँगै रसातलमा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment