+
+
Shares

साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो

साउदी अरबको दम्माममा प्राविधिक समस्यापछि थन्किएको जहाज मर्मतपछि आज ८७ यात्रु लिएर काठमाडौं आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १३:०८
फाइल तस्वीर

१३ फागुन, काठमाडौं । साउदी अरबको दम्माममा प्रविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज काठमाडौं अवतरण भएको छ ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको उक्त जहाज आज मंगलबार बिहान १०ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

‘मर्मतपछि एकेएक्स जहाजले ८७ यात्रु लिएर काठमाडौं आएको छ,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘यो जहाजको बेलुका मलेसियाको क्वालालम्पुर जाने तालिका छ ।’

पौडेलका अनुसार यो जहाज गत शनिबार साउदीको दम्माम गएको थियो । भोलिपल्ट आइतबार काठमाडौं फर्कनुअघि प्राविधि जाँच हुँदा ‘नोज ल्यान्डिङ गियर’ मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो । आवश्यक मर्मतपछि जहाज आज काठमाडौं फर्किएको हो ।

त्यसैगरी नियमित मर्मत (सी–चेक) का लागि चीन गएर उतै थन्किएको निगमको अर्को न्यारो बडी जहाज (दर्ता नम्बर ९एन–एकेडब्लू) पनि आवश्यक प्रक्रिया पूरा गरेपछि आज मंगलबार बेलुका काठमाडौं आइपुग्ने प्रवक्ता पौडेलले बताए ।

निगमका दुइटै न्यारो बडी जहाज विदेशमा थन्किँदा सयौं यात्रु प्रभावित भएका थिए । दुवै जहाज १ सय ५७ सिट क्षमताका हुन् ।

९एन–एकेडब्लू जहाजको मर्मत खर्च तोकिएको समयमा भुक्तानी हुन नसकेपछि जहाज चीनमै अड्किएको थियो । निगमले चाइना साउदर्न एयरलाइन्समा जहाज मर्मत गरेको हो ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न दुइटा न्यारो बडी र २ सय ७४ सिट क्षमतायुक्त दुई थान वाइड बडी गरी चार थान जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?