Comments Add Comment

साउदीबाट एक नेपालीको गुहार– कम्पनीले निकाल्यो, सडकमा अलपत्र छु

साउदी अरबमा अलपत्र परेका गोविन्द नेपाली ।

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका एक युवाले आफू सडकमा अलपत्र परेको भन्दै उद्धारका लागि अपिल गरेका छन् ।

लकडाउनको समयमा कम्पनीका म्यानेजरले आफूलाई कुटपिट गर्दै बाहिर निकालिदिएको उनले बताए ।

अनलाइनखबरसँग फोन सम्पर्कमा गोविन्‍द नेपालीले आफ्नो पीडा यसरी सुनाए :

म साउदी अरबको अल्कासिम बराइदास्थित तस्लिया भन्ने स्थानमा रहेको निर्माण सामग्री उत्पादन गर्ने एउटा कम्पनीमा काम गर्दै आएको थिएँ ।

छ महिना अगाडि मलाई कम्पनीको म्यानेजरले चोरीको झूटो आरोपमा फसायो । उसले अदालतमा केस गर्‍यो । अदालतमा मैले आरोप स्वीकार गरिनँ । तर, पनि मलाई चार महिना जेल हालियो ।

जेलबाट निस्केपछि म घर फर्किने मनस्थितिमा थिएँ । त्यतिबेला यसरी नेपालमा लकडाउन होला भन्ने थाहा थिएन । इदको छुट्टीमा नेपाल फर्किने योजना थियो ।

तर, मुदीर (कम्पनीको मालिक) ले तेरो केस अझै सकिएको छैन, केस सकेर आइज, अनिमात्रै पासपोर्ट दिन्छु भनेर रोक्यो ।

प्रहरीमा क्लीनचिट लिन म बारम्बार धाएँ । तर, उनीहरुले विभिन्न बहानामा अल्झाइहे । यत्तिकैमा नेपालमा लकडाउन भयो । म घर फर्किन पाइनँ ।

म त्यही कम्पनीमा काम गर्ने अरु नेपाली दाजुभाइहरुको कोठामा बसिरहेको थिएँ । अस्तिको दिन एकाएक कम्पनीका म्यानेजरले कोठामा पसेर मेरो मोबाइल र पर्स खोसे । अनि मलाई घिच्याएर बाहिर निकाले । म भोकभोकै रातभरि सडकमा बसेँ ।

भोलिपल्ट नेपाली साथीहरुसँग सम्पर्क गरेँ । उनीहरुले कम्पनीको मालिकसँग कुरा गर्न भनेर मलाई बोलाए । म भित्र गएँ । साथीहरुले कुरा गरेपछि म्यानेजरले मेरो पर्स र मोबाइल फिर्तां गरे ।

हिजोको रात म फेरि साथीहरुसँगै कोठामा बसेँ ।

तर, आज बिहान कम्पनीको मुदिर र म्यानेजर फेरि कोठामा आए । म्यानेजरले मलाई कुटपिट पनि गरे । उनीहरुले मलाई घोक्र्याउँदै बाहिर निकाले । जुत्ता पनि लगाउन दिएनन् ।

अहिले म सडकमा नै छु ।

नेपाली एम्बेसीमा फोन गरेँ । उताबाट अहिले लकडाउनमा केही गर्न सकिँदैन, मिलेर बस्नू भन्ने जवाफ आयो । अब म कहाँ जाने ?

खल्तिमा १–२ सय रियाल छ । लगाएको एकजोर कपडा छ । अरु केही पनि छैन । खुट्टामा चप्पल लगाएको छु । अहिलेसम्म केही खाएको पनि छैन ।

यहाँ बिहान ८ बजेदेखि ३ बजेसम्म गाडीहरु चलिरहेका छन् । नेपाली दूतावासबाट पहल गरेर मेरो उद्धार गरिदिए हुन्थ्यो । दूतावास यहाँबाट ३५० किलोमिटर टाढा छ । म त्यहाँसम्म जान सक्ने अवस्था छैन । म अब के गरौं ?

नेपालमा श्रीमती, छोराछोरी छन् । जसोतसो घर फर्किने व्यवस्था मिलाइदिए हुन्थ्यो । नत्र एम्बेसीमै शरण लिन पाए पनि हुन्थ्यो ।

मेरो कुरा दूताबाससम्म पुर्‍याइदिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment