+
+
Shares

मिथिला स्वादको कमान्ड सम्हालिरहेकी २३ वर्षीया पूर्णिमा

विदेशबाट ज्ञान र अनुभव लिएर नेपाल फर्किने र अझ राम्रो सेफ बन्ने उनको योजना छ । पूर्णिमा शाहको कथा केवल एक युवतीको करियर यात्रा होइन । यो एउटा सन्देश हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्णिमा शाहले नर्स बन्ने सपना अधुरो रहँदा भान्सामा आफ्नो वास्तविक रुचि पहिचान गरिन् र होटल म्यानेजमेन्ट अध्ययन गरिन्।

सिराहाको कर्जन्हा नगरपालिकामा जन्मिएकी पूर्णिमा शाहका सपना सुरुमा भान्सासँग जोडिएका थिएनन् । प्लसटुमा विज्ञान विषय पढेपछि उनको लक्ष्य नर्स बन्ने थियो । तर छात्रवृत्तिमा नाम ननिस्किँदा त्यो सपना अधुरै रह्यो।

निराश मन लिएर उनी घर फर्किइन् । यो धेरै युवाहरूको जीवनमा हुने एउटा मोड थियो । तर कहिलेकाहीँ जीवनले हामीलाई त्यही बाटोमा डोर्‍याउँछ जहाँ हाम्रो वास्तविक रुचि लुकेको हुन्छ । पूर्णिमाको त्यो रुचि भान्सामा थियो, जसलाई उनले सानैदेखि महसुस गर्दै आएकी थिइन् ।

उनको यही रुचिलाई पहिचान गरे सेफ सन्तोष शाहले । सेफ सन्तोषले पूर्णिमालाई नयाँ बाटो देखाए । ‘तिमीलाई खाना बनाउन मन छ भने त्यही विषय पढ, होटल म्यानेजमेन्ट गर, म सहयोग गर्छु’ उनले भने । यही सुझावले पूर्णिमाको जीवनको दिशा बदल्यो ।

जनकपुरमा प्लस टु सम्मको पढाइपछि पूर्णिमा काठमाडौं आइन् र धुम्बाराहीस्थित गेट कलेजमा होटल म्यानेजमेन्ट अध्ययन सुरु गरिन् । उनी पढाइमा अब्बल थिइन् । दोस्रो स्थानमा कहिल्यै झर्नु परेन । उनको सिकाइ कक्षाकोठामा मात्रै सीमित रहेन । ‘अनुभव बिना पढाइ अधुरो हुन्छ’ भन्ने सोचले उनले होटलमा काम गर्दै पढाइ अघि बढाइन् ।

उनले ‘सेफ नेपाल’ नामक रियालिटी सोमा पनि प्रतिस्पर्धा गरिन् र सातौँ स्थानसम्म पुगिन् । कलेजकै तालिमका लागि दुबई जानुपर्ने भएपछि उनले प्रतियोगिता छाडेकी थिइन् । दुबईमा दुई वर्षको अनुभवले उनको आत्मविश्वास अझ बलियो बनायो ।

भान्सालाई पेशा मात्र होइन, पहिचान बनाउने दृढता पनि त्यहीँबाट आयो । नेपाल फर्किएपछि पूर्णिमा मास्टर सेफ सन्तोष साहले सञ्चालन गरिरहेको नक्सालको गैरीधारास्थित मिथिला थालीमा आबद्ध भइन् । अहिले २३ वर्षकै उमेरमा उनले त्यहाँको सम्पूर्ण भान्सा सम्हालिरहेकी छिन् । उनका लागि भान्सा काम मात्र होइन, आनन्द हो, जीवन हो ।

मिथिला थाली केवल खाना खाने ठाउँ मात्र होइन, एउटा सांस्कृतिक अनुभव हो । यहाँ प्रस्तुत गरिने प्रत्येक परिकारले मधेस र मिथिला क्षेत्रको जीवनशैली, परम्परा र स्वादलाई एकै थालमा उतार्ने प्रयास गर्छ । परिकारको संयोजन, पस्कने शैली र स्वादको सन्तुलनले मिथिला थालीलाई अरू भोजनालयभन्दा फरक बनाउँछ । मिथिला थालीको मुख्य विशेषता भनेको यसको ‘घरेलु अनुभूति’ हो ।

यहाँको खाना केवल पेट भर्ने साधन होइन, परिवार, संस्कृति र आत्मीयताको प्रतीक हो, जसलाई पूर्णिमा जस्ता युवा सेफहरूले आधुनिक शैलीसँग जोड्दै नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेका छन् ।

खाना बनाउने काममा कत्ति पनि अल्छी नलाग्ने उनी सुनाउँछिन् । ‘मलाई भान्सामा कहिल्यै अल्छी लाग्दैन’ पूर्णिमा भन्छिन्, ‘परेका बेला राति दुई बजे उठेर पनि खाना बनाएको छु । अरुलाई खुवाउँदा सबैभन्दा बढी खुसी लाग्छ ।’

उनले बनाउने फिस करी धेरै ग्राहकको रोजाइमा पर्छ । उनको खीर पनि उत्तिकै मन पराइन्छ । आफ्नो कामको तारिफ सुन्दा अझै राम्रो बनाउने, अझै स्वादिलो बनाउने प्रेरणा उनमा जाग्छ ।

हजुरआमाको आगेनाबाट विश्व बजारसम्मको सपना

पूर्णिमाको भान्सासँगको सम्बन्ध ७ वर्षको उमेरमै सुरु भएको थियो । हजुरआमाले आगोमा पकाएको खाना उनलाई असाध्यै स्वादिष्ट लाग्थ्यो। त्यहीँबाट जन्मिएको रुचि आज उनको पेशा बनेको छ । उनलाई नेपाली परिकार बनाउन मनपर्छ । पञ्जाबी परिकार सिक्ने चाहना पनि उत्तिकै छ ।

उनको ठूलो सपना केवल स्वादमा सीमित छैन । मिथिला परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन धोको छ उनको । ‘यसलाई व्यवसायिक रूपमा अझै अघि बढाउन चाहन्छु’ उनी भन्छिन् ।

सपना अझै बाँकी छ पूर्णिमा अझै सिक्ने क्रममा छिन् । उनको अर्को लक्ष्य विदेशमा गएर न्यूट्रेसन साइन्स अध्ययन गर्ने हो । उनका अनुसार खाना केवल स्वाद होइन, स्वास्थ्यसँग जोडिएको जीवनशैली हो । ‘हामीले खाना बनाउँदा सरसफाइ र स्वास्थ्यमा अझै ध्यान दिनुपर्छ’ उनी भन्छिन् ।

नेपाली भान्साको क्षेत्रमा महिला सेफको पहिचान अझै बलियो रूपमा स्थापित हुन बाँकी छ । पूर्णिमा यही अभावलाई अवसरका रूपमा देख्छिन्। ‘अहिलेसम्म नेपाली महिला सेफहरू धेरै चिनिएका छैनन् । म त्यो खडेरी तोड्न चाहन्छु’ उनी भन्छिन् । उनका अनुसार भान्सा केवल पुरुषको पेसा होइन, महिलाले पनि उत्तिकै क्षमता देखाउन सक्ने क्षेत्र हो ।

आफू सफल भए अरू धेरै युवतीहरूलाई पनि यो पेशातर्फ आकर्षित गर्न सकिने विश्वास उनको छ । त्यसैले केवल आफ्नो करियर मात्र होइन, नयाँ पुस्ताका महिला सेफहरूका लागि एउटा उदाहरण बन्ने लक्ष्य बोकेकी छिन् पूर्णिमाले ।

नेपालमा सेफ पेशालाई पहिले त्यति प्रतिष्ठित रूपमा हेरिँदैनथ्यो । तर मास्टर सेफ सन्तोष शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली स्वादलाई चिनाउँदै यो पेशाप्रति गर्व गर्ने वातावरण बनाएका छन् । पूर्णिमाका लागि उनी प्रेरणाका स्रोत मात्र होइन, एउटा रोल मोडेल पनि हुन् । ‘उहाँले देखाउनुभएको बाटोले हामीलाई पनि ठूलो सपना देख्ने हिम्मत दिएको छ’ पूर्णिमा भन्छिन् ।

उनी पनि त्यही प्रेरणालाई अघि बढाउँदै सेफ पेशालाई अझ प्रतिष्ठित बनाउने र नेपाली भान्सालाई विश्वसामु चिनाउने यात्रामा अघि बढिरहेकी छिन्। उनी बेला–बेला विभिन्न परिकारहरू तयार गरेर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्छिन् । हाल उनको टिकटकमा २६ हजार बढी फलोअर छन् ।

उनी जसरी अगाडि बढ्दै छिन्, त्यसै आधारमा भन्न सकिन्छ कि भोलिका दिनमा उनलाई एक सफल महिला शेफको रूपमा पक्कै देख्न पाइनेछ ।

विदेशबाट ज्ञान र अनुभव लिएर नेपाल फर्किने र अझ राम्रो सेफ बन्ने उनको योजना छ । पूर्णिमा शाहको कथा केवल एक युवतीको करियर यात्रा होइन । यो एउटा सन्देश हो । कहिलेकाहीँ असफलता नै सही बाटोको सुरुवात हुन्छ ।

नर्स बन्ने सपना अधुरो रह्यो, तर भान्सामा उनले आफ्नो असली पहिचान भेटिन् । आज उनी केवल खाना पकाउँदै छैनन्, आफ्नो सपना अघि बढाउंदै छिन् । जसको स्वाद भोलि संसारले चाख्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?