Comments Add Comment

बच्चालाई सिकाउने कि बच्चाबाट सिक्ने ?

अक्सर हामी बालबच्चालाई भन्ने गर्छौं, ‘ठूलो मान्छे हुनुपर्छ ।’

तर, बालबच्चालाई हेरेर हामी कहिल्यैपनि सोच्दैनौं, ‘सानो पनि हुन सिक्नुपर्छ ।’

हामीलाई लाग्छ, ‘मैले धेरै कुरा जानेको छु । बुझेको छु । सिकेको छु । भोगेको छु ।’ आफुले सुनेको एवं सिकेको कुरा नै बच्चाहरुलाई सिकाइरहेका हुन्छौं । के गर्ने, के नगर्ने भनी उनीहरुलाई निर्देश गरिरहेका हुन्छौं ।

हामी चाहन्छौं, ‘मैले सिकाएका कुरा उनीहरुले पालना गरोस् । आज्ञाकारी भइदियोस् ।’ आफुले सोचेजस्तै, आफुले गरेजस्तै सबै कुरा बालबच्चाले पनि अनुशरण गरिदियोस् भन्ने लाग्छ ।

बच्चालाई हामी बोल्न सिकाउँछौं, बस्न सिकाउँछौं, हिँड्न सिकाउँछौं, खान सिकाउँछौं, लेखपढ गर्न सिकाउँछौं । यी तमाम कुराहरु सिकाइरहँदा हामीलाई हेक्का हुँदैन कि, बालबच्चाबाट पनि सिक्ने कुरा थुप्रै छन् । बालबच्चाबाट पनि हामीले जान्नु र बुझ्नुपर्ने कुरा अनगिन्ती छन् ।

मनोज गजुरेलले एक प्रसंगमा अनलाइनखबरसँग भनेका थिए, ‘हामीलाई हेरेर बालबच्चालाई हामीजस्तै हुनुपर्छ भन्ने होइन, बरु बच्चालाई हेरेर हामी उनीहरुजस्तै बन्नुपर्छ ।’

सानो हुन सिकौं

हामी ठूलो कुरा गछौं, ठूलो काम गर्छौं, ठूलो हुन खोज्छौं । हरक्षण हाम्रो प्रयत्न हुन्छ, ठूलो हुने । त्यसैले हामी सिक्दैनौं सानो हुन ।

घर–परिवार, साथीभाई, छिमेकी, समाज, सहकर्मी सबैको अगाडि हामी आफुलाई जतिसक्दो ठूलो देखाउने यत्न गर्छौं । सबैकुरा जानेको, बुझेको झै गर्छौं ।

जान्ने होइन, जान्न खोज्ने

हामी कहिले पनि सानो हुन चाहँदैनौं । सानो हुनु भनेको सबैकुरा जानेको ठान्नु होइन, बरु धेरै कुराप्रति उत्सुक हुनु हो । सानो बच्चाहरुसँग उत्तर हुँदैन, प्रश्न हुन्छ । हामीमा पनि यो गुण हुन आवश्यक छैन र ? साथीभाई, आफन्त, सहपाठी अगाडि सबै आफु जान्ने÷बुझ्ने देखाउने होइन, बरु जान्न र बुझ्न उत्सुक देखाउने हो ।

अरुप्रति आदर भाव

सानो हुनु भनेको विनम्र र विनयी हुनु हो । अरुप्रति आदर र सम्मान भाव प्रकट गर्नु हो । तर, हामी चाहन्छौं, अरुले हामीलाई नमस्कार गरिदियोस् । अरुले हामीलाई सम्मान गरिदियोस् । बालबच्चाहरु यस्तो चाहँदैनन् कि कसैले उनीहरुलाई आदर, सम्मान प्रकट गरिदियोस् । नमस्कार गरिदियोस् । उनीहरु त सबैप्रति विनम्र र विनयी हुन्छन् । उनीहरुलाई ठान्छन्, ‘सबैलाई मैले आदर गर्नुपर्छ ।’

सधै उत्साहित

सानो हुनु भनेको उमंगित र उत्साहित हुनु पनि हो । बालबच्चाहरु उमंगित हुन्छन् । सानो–सनो कुरामै रमाइरहेका हुन्छन् । तर, हामी बालबच्चा जसरी उमंगित हुन सकिहरेका हुँदैनौं । किनभने उनीहरुले जसरी हरेक कुरालाई दोषरहित आँखाले हेरिरहेका हुन्छन्, हामीले त्यो गुण गुमाइसकेका हुन्छौं । हामी कुनैपनि बस्तु, व्यक्तिलाई हेर्नुअघि आफ्नो धारणा तयार गर्छौं । त्यही धारण अनुसार नै हरेकको मूल्यांकन गर्छौं । त्यसैले कुनै वस्तु, दृश्य वा व्यक्ति देख्नसाथ हामी उमंगित हुँदैनौं ।

सबैप्रति समान दृष्टि

सानो हुनु भनेको सबै कुरालाई सन्तुलित र स्पष्ट रुपमा हेर्नु हो । बालबच्चासँग आग्रह, पूर्वाग्रह केहीपनि हुँदैन । उनीहरुले सबैलाई समान दृष्टिले हेर्छन् । धनी, गरिब, ठूला, साना सबै उनीहरुका लागि एकै हुन् । धनीमानी वा ठूलाठालुको अगाडि पर्नसाथ लचिलो हुने र गरिब–निर्धोको अगाडि भयांकर देखाउने प्रवृत्ति बालबच्चामा हुँदैन ।

ठूलो बन्न जति सजिलो छ, सानो बन्न उत्तिनै कठिन । सानो बन्नुको अर्थ विनम्र, विनयी, उत्सुक, चञ्चल हुनु हो ।

बच्चाहरु अबुझ होइनन् अनभिज्ञ हुन्छन्

बच्चाहरु धुलोमा खेल्छन् । धुलोमा खेल्दा लुगाफाटो फोहोर हुन्छ । लुगाफाटो फोहोर भएपछि त्यसलाई धुने–पखाल्ने काम बढ्छ । साबुन खर्च हुन्छ । हामीलाई लाग्छ, ‘बच्चाहरु अबुझ छन् । धुलोमा खेल्न हुन्न भन्ने कुरा बुझ्दैनन् ।’

उनीहरु अबुझ होइनन्, अनभिज्ञ हुन् । कुनैपनि कुरा गर्दा त्यसको नतिजा के हुन्छ भनेर उनीहरुलाई थाहा हुँदैन । किनभने उनीहरु सिक्ने क्रममा हुन्छन् । उनीहरुले गर्ने हरेक गतिविधि सिकाइएकै एउटा प्रक्रिया हो । जस्तो उनीहरुले घरको खेलौना लथालिंग बनाउँछन्, तोड्छन् । यी सबै कुरा उनीहरुले आफ्नो अनभिज्ञता मेट्नका लागि गरेका हुन् । आफ्नो उत्सुकता मेट्न गरेका हुन् । अतः यही नै सिकाइको प्रभावकारी र दीगो विधी हुन् ।

बच्चाहरुबाट हामीले सिक्न सक्छौं कि, हरेक कुरा अनुभव र प्रयोगबाट सिक्न सकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment