Comments Add Comment
हिँडेर कैलाली पुगेका युवकको पीडा :

‘काठमाडौंमा अनागरिकजस्तो भएपछि हिँडेर गाउँ फर्किएँ’

काठमाडौंबाट हिँडेर गाउँ फर्किएकाहरु । यो लेखमा डेभिड चौधरीको इच्छाअनुसार उनको तस्वीर राखिएको छैन ।

५ वैशाख, कैलाली । शरीर पसिनाले भिजेको थियो । लगातारको हिँडाइले खुट्टा पनि सुनिएका थिए । तर, क्वारेन्टाइन प्रवेश गर्दैगर्दा उनको अनुहारमा उत्साह झल्किन्थ्यो ।

क्वारेन्टाइन छिर्दै गर्दा २०/२२ वर्षका उनलाई सोध्यौँ, ‘तपाईं कहाँबाट आउनुभयो ?’

‘म काठमाडौंबाट’ उनले संक्षिप्त जवाफ दिए ।

कुराकानीका क्रममा थाहा भयो, डेभिड चौधरी । काठमाडौंमा फर्निचरको काम गर्दा रहेछन् । लकडाउनका कारण काम बन्द भएपछि चैत २९ गते काठमाडौं छाडेका रहेछन् ।

श्रीमान–श्रीमती पाँच दिन कष्टकर यात्रापछि कैलाली आइपुगेका रहेछन् । ‘काम बन्द भएपछि माम बन्द हुने अवस्था आयो । त्यसपछि हामीसँग घर फर्किँनेबाहेक अन्य विकल्प केही थिएन’ उनले भने ।

तर, कहाँ सजिलो रह्यो र यात्रा ।

उनकाअनुसार काम गर्ने ठाउँमा १५ हजार लिन बाँकी थियो । उनले कम्तीमा पाँच हजार दिन आग्रह गरे । तर, २५ सयभन्दा पाएनन् । ‘उहाँलाई पनि समस्या रहेछ । त्यसैले पैसा थपिदिनुहोस् भनेर बस्नुभन्दा हिँडेरै घर जानु बेस लाग्यो’ उनले सुनाए ।

त्यही, २५ सयबाट ५ प्याकेट चाउचाउ, एक किलो चिउरा र दुई वटा बिस्कुट किने ।

र, काठमाडौंबाट हिँडेर मुग्लिन नजिक पुगे । त्यहाँबाट ट्रक चढे । ट्रकले बुटवलभन्दा उतै छोडिदियो । त्यसपछि हिँडेर बुटबल पार गरे । फेरि ट्रक भेटियो । त्यो ट्रकले उनीहरुलाई भालुवाङसम्म छाडिदियो । भालुवाङबाट लमहीसम्म हिँडे । ‘लमही आइपुग्दा गोजी रित्तिसकेको थियो । तर, बाटो झण्डै आधा बाँकी थियो’ उनले भने । लमहीबाट सामान बोक्ने ट्रकमा बर्दियासम्म छाडिलियो । ‘यसरी बाटोमा ट्रक भेटिँदा भगवान भेटिए जस्तो लाग्यो’ उनले सुनाए ।

यसरी हिँड्दा उनीहरुले कहिले मन्दिरमा रात काटे त कहिले सडक र प्रतीक्षालयमा ‘मन्दिरमा बस्दा त त्यही समस्या भएन । सडक छेउ र प्रतीक्षालयमा रात कटाउँदा त लामखुट्टेले सारै तनाव दियो’ डेभिडले पीडा सुनाए ।

त्यही बेला उनीहरुसहित करिब ३०/४० जना बाँके र बर्दियाको सीमामा पर्ने मालखोलामा ७ घण्टा अलपत्र परे । उनीहरुले खाना नखाएको तीन दिन भएको थियो । शरीर कमजोर बन्दै गएको थियो । खुट्टा सुन्निन थालेको थियो ।

‘हिँडेर घर जान लागेको भनेर फेरि उत्तै फकाइदिन्छ कि भन्ने डर लागेको थियो’ उनले भने ।

त्यही बेला यात्रामा रहेकाहरूमध्ये एकलाई घोडाघोडी नगरपालिकाका मेयरको फोन आयो । ‘कहाँ पुग्नु भयोभन्दै मेयर ममताप्रसाद चौधरीले फोन गरेपछि बर्दियामा रोकिएको बताए । उताबाट मेयरले भने । ‘चिसापानीसम्म पुग्नुहोला, म ट्रक पठाइदिन्छु ।’ मेयरको आश्वासनसँगै ठूलो राहतको सास फेरे ।

हिँडेर चिसापानी पुगेका उनीहरू ट्रक चढेर घोडाघोडी पुगे र अहिले क्वारेन्टाइनमा छन् ।

त्यही भेटिएका डेभिडलाई सोध्यौँ, ‘यस्तो कष्ट सहेर यात्रा किन ? काठमाडौंमै राहत दिएनन् ?

‘राहत पाउन पनि नागरिकता चाहिने रहेछ । मेरो नागरिकता गाउँमा छुट्यो’ उनले भने, ‘आफ्नै देशमा अनागरिक जस्तो भएपछि काठमाडौं छाड्नुको विकल्प रहेन ।’

राहत नपाएपछि रोगभन्दा पहिले भोकले मार्ला भन्ने डरले घर फर्किएको उनले बताए ।

क्वारेन्टाइनमा अहिले काठमाडौंबाट आएका दुई जना, बुटवलबाट आएका ११ जना र नेपालगञ्जबाट आएका तीन जना छन् । उनीहरू सबै हिँडेरै यहाँसम्म पुगेका हुन् । सयौं किलोमिटर हिँडेर घर फर्किएका उनीहरूलाई घोडाघोडी नगरपालिकाले सम्भावित जोखिमबाट बच्नभन्दै क्वारेन्टाइनमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment