
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा इलामकी महिलाको कोभिड-१९ संक्रमणको कारण मृत्यु भयो।
- स्वास्थ्य मन्त्रालयले २५ महिनामा पहिलो कोभिड मृत्यु भएको बताए।
- मृतक महिलामा कोभिडको ट्राभल हिस्ट्री र लक्षण देखिएको छैन।
१२ असार, विराटनगर । १० असार बिहान नोबेल मेडिकल कलेजमा इलामको सूर्यादय नगरपालिका-१० फिक्कलकी ३९ वर्षीया महिलाको मृत्यु भयो । मृतक महिलामा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ महिनायता नेपालमा कोरानाबाट मृत्यु भएको यो नै पहिलो घटना हो । २१ वैशाख २०८० यता कोरोनाबाट मृत्यु भएको रेकर्ड आफूहरूसँग नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकी बताउँछन् ।
कोभिड १९ पोजेटिभ देखिएपछि बिर्तासीटी अस्पताल विर्तामोडले ती महिलालाई नोबेलमा रेफर गरेको थियो । मंगलबार बिहान करिब साढे ३ बजे भर्ना भएकी ती महिलाको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।
अस्पतालले मृत्युको कारणमा मुटु र फोक्सोको समस्या ‘कार्डियो पोल्मुनरी अरेस्ट’ भएको रिपोर्ट दिएको छ । मृतकलाई यूटीआईसहित अन्य समस्या पनि देखाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीका अनुसार महिलामा कोभिड कहाँबाट संक्रमण भयो भन्ने देखिँदैन । महिलाको मृत्युको कारण पनि कोभिड-१९ नभएको उनको दाबी छ ।
‘कोभिड-१९ हुन्थ्यो भने अस्पतालले कारणमा कोभिड-१९ लेख्थ्यो, उहाँकोमा त्यस्तो देखिँदैन,’ उनले भने,‘ ७–८ दिनदेखिको स्वास्थ्य समस्या रहेछ, त्यो समस्या कोभिडको कारणले हो कि होइन भन्ने बुझ्दैछौं ।’
मृत्युको एकसाताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिर्तासीटी अस्पताल विर्तामोड भर्ना गरिएको थियो । आईसीयूमा उपचारपछि घर फर्किएकी उनलाई श्वासप्रश्वासको समस्या बढेपछि बिर्तासीटी हुँदै मंगलबार बिहान नोबेलमा भर्ना गरिएको थियो । दोस्रो पटक ल्याउँदा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।
उनलाई घरमा नै कोभिड १९ लागेको थियो वा अस्पतालमा उपचारका क्रममा सर्यो भन्ने खुलेको छैन । कोभिड-१९ देखिएपछि सूर्यादय नगरपालिकाले अध्ययन गरिरहेको छ ।
मृतक महिला इलामको फिक्कल बजारकी बासिन्दा हुन् । उनका श्रीमान बजारमा पसल सञ्चालन गर्छन् ।
सूर्यादय नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीका अनुसार मृतक महिलाको ट्राभल हिस्टी छैन । उनको परिवारका सदस्यको पनि बाहिरको ट्राभल हिस्ट्री देखिएको छैन ।
‘परिवारका सदस्य कसैलाई सिम्टम छैन, सामान्य हुनुहुन्छ,’ उनले भने,‘ परिवारका सदस्यहरुको कोरोना जाँच गरेका छैनौं, काम सकिएपछि जाँच गर्छौं।’
मृतक महिलाका श्रीमानलाई पनि कुनै लक्षण देखिएको छैन । मृतक महिलासँग नजिक रहेका आफन्तलाई पनि लक्षण देखिएको छैन । उनका अनुसार मृतक महिलाले कोभिडविरुद्धको भ्याक्सिन लगाएको विषयमा पनि खुलेको छैन ।
‘एकसाता अघिदेखि बिरामी भएको देखिन्छ, तर उहाँको ट्राभल हिस्ट्री देखिँदैन,’ अधिकारी भन्छन्,‘ कसरी कोरोना पोजेटिभ देखियो भन्ने खुलेको छैन ।’
अधिकारीका अनुसार कोरोनाका कारण मृत्यु भएपछि पालिकाले सतर्कता अपनाएको छ ।
प्रतिक्रिया 4