Comments Add Comment

लकडाउन अघि जारी भएका ६० हजार सीम कार्डको विश्लेषण गर्दैछ सेना

फोन नउठ्दा हैरान छन् सैनिक

४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले ६० हजार वटा सीम कार्डको विश्लेषण थालेको छ ।

लकडाउन हुनुअघि चैत पहिलो साता वितरण गरिएका सीम कार्डको ट्रेसिङ प्रक्रिया सीसीएमसी–अप्सले सुरु गरेको हो ।

अपरेशनमा खटिएका एक सैनिक अधिकृतका अनुसार टेलिकम्युनिकेशन सेवा प्रदायक एनसेलबाट ४० हजार र नेपाल टेलिकमबाट २० हजार वटा सीम कार्डको नम्बर प्राप्त भएपछि ट्रेसिङ गर्न थालिएको छ ।

तीमध्ये बुधबारसम्म ८ हजार ८ सय २२ वटा सीम कार्डमा सम्पर्क गरेर सम्बन्धित व्यक्तिको अवस्थाबारे जानकारी लिइएको छ । सम्पर्कका लागि प्रारम्भमा ६ जना सैनिक खटिएको भए पनि अहिले बढाएर २५ जनालाई पुर्‍‍याइएको छ ।

यसअघि १ चैतदेखि लकडाउन गरिएको ११ चैतसम्म विभिन्न सेवा प्रदायक कम्पनीबाट वितरण गरिएका सीम कार्डका नम्बर माग्दै अपरेशन सेन्टरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म स्मार्ट सेलको रेकर्ड भने प्राप्त भइनसकेको स्रोतले बतायो ।

लकडाउनअघि चैत महिनामा हवाइ तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्थिति विश्लेषणका लागि अप्सले सीम कार्ड नम्बरबाट टे«स गर्ने विधि अपनाएको हो । हवाई मार्गबाट नेपाल प्रवेश गर्नेको सूची विमानस्थलबाट प्राप्त हुने भए पनि स्थलमार्गबाट आउनेको रेकर्ड नहुने भएकाले पनि यो विधि उपयोगी हुने सैनिक अधिकृतहरुको विश्लेषण छ ।

यो कार्यका लागि सीसीएमसीले कल सेन्टर नै स्थापना गरेको थियो । सेन्टरबाट सीम कार्डका विवरण संकलन गरी विश्लेषण गर्ने काम भइरहेको छ ।

Top Comment Roshan Kumar Regmi २०७७ वैशाख ४ गते ७:५५ The better solution is to ask the BTS tower information from the airport and border entry areas for the switched on mobiles from particular date and corner down from those mobile numbers this will make the data set narrower and tracing of probable candidates easier. See All Add Comment

फोन नउठ्दा सैनिक अधिकृत हैरान

सीसीएमसी–अप्सले २७ चैतबाट सीम कार्डको विश्लेषण थालेको थियो । पहिलो दिन अपरान्ह ४ बजेदेखि बिहान ८ सम्म ४ सय ५० वटा नम्बरमा सैनिक अधिकृतहरुले सम्पर्क गरेका थिए । तर, कसैले पनि फोन नउठाएको स्रोतले बतायो ।

दोस्रो दिन २८ चैतमा १२ घन्टा गरिएको सम्पर्कमा ५ सय ६९ वटा कल गरिएको थियो । जसमध्ये ३ सय ६० वटा फोन उठ्यो भने एक जना व्यक्ति विदेशबाट आएको देखिएको थियो । यो अवधिमा २ सय ९ वटा फोन नउठेको पाइएको छ ।

तेस्रो दिन २९ गते बिहान ८ बजेदेखि फोन गर्दा ९ सय १२ वटा सीम कार्डमा सम्पर्क भएको छ । तीमध्ये ६ सय ४७ वटा नम्बर मात्र उठेको थियो भने २ सय ६५ जनाले उठाएनन् । तीमध्ये ५० जना विदेशबाट आएका व्यक्ति थिए ।

चौथो दिन ३० गते एक हजार ६ सय ८ वटा नम्बरमा सम्पर्क भएको देखिन्छ । तीमध्ये ११ सय ६२ जनाले फोन उठाएका छन् भने ४ सय ४६ जनाले उठाएका छैनन् । तीमध्ये विदेशबाट आउने ८ जनामा कोभिड–१९ भाइरसको लक्षण देखिएको थियो ।

स्रोतका अनुसार १ वैशाखमा १४ सय दुई वटा कल भएको थियो । त्यसमध्ये एक हजार १७ जनाले फोन उठाएका थिए भने ३ सय ८५ जनाले फोन उठाएनन् । यो अवधिमा सम्पर्क स्थापित भएकामध्ये ६ जनालाई कोरोनाको लक्षण देखिएको थियो ।

छैठौं दिन २ वैशाखमा २ हजार ३ सय २१ जनासँग सम्पर्क भएको देखिन्छ । तीमध्ये एक हजार एक सय ३२ जनाले फोन उठाएका छन् भने १ हजार १ सय ८९ जनाले फोन उठाएनन् । तीमध्ये १ सय ९ जना विदेशबाट आएका थिए भने एक जनामा कोरोनाको लक्षण देखिएको छ ।

बुधबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समयमा १५ सय ६० वटा नम्बरमा सम्पर्क गर्ने प्रयास भएको छ । जसमध्ये ९ सय ५४ जनाले फोन उठाएका छन् भने ५ सय ६६ जनाको फोन लागे पनि उठेन ।

उनीहरुमध्ये १ सय ६८ जना विदेशबाट आएको देखिएको छ भने दुई जनामा कोरोनाको लक्षण देखिएको छ ।

दोस्रो चरणमा सम्पर्कमा गएका व्यक्तिको ट्रेसिङ

कोरोना संक्रमणको लक्षण देखिएकालाई उपचारका लागि अपरेशन सेन्टरले समन्वय गरिरहेको छ । साथै, निको भएका व्यक्तिको पनि निगरानी भइरहेको छ ।

सेन्टर स्रोतका अनुसार ३० गते सम्पर्क गरिएका भोजपुर, दाङ, बर्दिया, कञ्चनपुर, बागलुङ, मकवानपुर, डोटी र दार्चुलाका एक/एक जनामा कोरोनाको लक्षण देखिएको थियो । तीमध्ये अधिकांश भारतबाट आएको पाइएको छ ।

उनीहरुमध्ये पनि बर्दिया, भोजपुर, दार्चुला र डोटीका गरी चार जना व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । यद्यपि, उनीहरुलाई पनि निगरानीमै राखिएको छ ।

स्रोतका अनुसार १ वैशाखमा कोरोनाको लक्षण देखिएका ६ जनामध्ये कैलालीका एक जना निको भएर घर फर्किएका छन् । डडेल्धुरा, दैलेख, दाङ र कैलालीका ५ जनाको उपचार जारी छ ।

२ वैशाखमा सम्पर्क गर्दा काभ्रे, झापा र दैलेखका एक/एक जनालाई कोरोनाको लक्षण देखिएको थियो । तीमध्ये काभ्रेका व्यक्ति स्वस्थ भइसकेका छन् ।

यदि कसैमा कोरोनाको संक्रमण देखिए दोस्रो चरणको योजना अनुरुप उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिबारे पनि विवरण संकलन र विश्लेषण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीले पनि कोरोना संक्रमित व्यक्तिको छुट्टै कन्ट्याक ट्रेसिङ गरिरहेको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सीसीएमसी गठन भएपछि कन्ट्याक ट्रेसिङको काम प्रभावकारी रुपमा भइरहेको बताउँछन् । यसअघि स्वास्थ्य मन्त्रायल र नेपाल प्रहरीले संक्रमण देखिएका व्यक्तिको मात्रै कन्ट्याक ट्रेसिङ गर्दै आएको थियो ।

सीसीएमसीले चार वटा क्लस्टरमा समूह विभाजन गरेर कोभिड–१९ नियन्त्रणका लागि कार्य गरिरहेको छ । सीसीएमसीको मेडिकल क्लस्टरले पश्चिमका विभिन्न जिल्लाबाट ४ हजार जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको सहायक रथी पाण्डेले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment