+
+
Shares

कांग्रेस संस्थापनको रणनीति : चुनाव सरे फागुनमै महाधिवेशन, नत्र वैशाख

संस्थापन पक्षीय एक नेता भन्छन्, ‘मंसिरमा महाधिवेशन हुने कुनै सम्भावना देखिँदैन । तर, उहाँहरूले गर्छु भन्नु भएकाले हामीले सकिँदैन किन भन्नु ?’

केशव सावद केशव सावद
२०८२ कात्तिक ३ गते २१:०१

३ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार ढल्नेगरी भएको जेनजी आन्दोलनलगत्तै नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पाएको छ । २३ भदौको आन्दोलनको अघिल्लो दिनसम्म आगामी वर्ष (०८३) मा पार्टीको १५ औँ महाधिवेशन सकेर ०८४ को निर्वाचनमा जाने एजेन्डामा कांग्रेसमा एकमत थियो ।

तर, आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएसँगै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणापछि कांग्रेसमा नयाँ नेतृत्व चयनको विषयले प्राथमिकता पायो । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा उपचारमै रहेका बेला कांग्रेसमा एकथरिले राजीनामाको मुद्दा अघि सारे ।

वर्तमान नेतृत्वलाई बोकेर आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले सभापति देउवाले पदत्याग गरेर मार्गप्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरे । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र पार्टीभित्र उठेको माग सहजै स्वीकार गर्दै सभापति देउवाले २८ असोज (केन्द्रीय कार्यसमिति बैठक) मा उपसभापति पूर्णबहादुर देउवालाई कार्यवाहक तोकेर तत्कालका लागि सक्रिय राजनीतिबाट विश्राम लिए ।

त्यसको भोलिपल्ट ‘विशेष महाधिवेशन पक्षधर’ समूहले विशेष महाधिवेशनमार्फत् पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने माग अघि सार्दै १४ औँ महाधिवेशनका झण्डै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझायो । ३० असोजबाट कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डासहित छलफल सुरू भयो । तर, विशेष महाधिवेशनको एजेन्डाले बैठकमा प्रवेश नै पाएन । ३० र ३१ गते बोलेका अधिकांश केन्द्रीय सदस्यहरूले आगामी मंसिरमा नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

१ कात्तिकका लागि बोलाइएको बैठक पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै १३ कात्तिकसम्मका लागि स्थगित भयो । बैठक स्थगित भएपछि केन्द्रीय कार्यसमितिको म्याद थप्ने खेल भइरहेको दाबी गर्दै विशेष महाधिवेशन पक्षधर समूहले २ कात्तिकमा पत्रकार सम्मेलन गर्‍यो ।

राष्ट्रिय राजनीति अत्यन्त तीब्रताका साथ अगाडि बढिरहेको समयमा विलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाई गर्ने छुट कसैलाई नभएको भन्दै उनीहरूले केन्द्रीय कार्यसमितिलाई सचेत गराए ।

तर, कांग्रेसको संस्थापन पक्षका केही नेताहरू भने मंसिरमै महाधिवेशन गर्नका लागि आवश्यक तयारी नपुगेको तर्क गर्छन् ।

विशेष महाधिवेशन गर्दा पुरानै प्रतिनिधिहरूले नेतृत्व चयन गर्ने वैधानिक व्यवस्थाका कारण जेनजी पुस्ताको भावना नसमेटिने संस्थापन पक्षीय नेताहरू बताउँछन् । जेनजी पुस्तालाई पनि पार्टीको मूलप्रवाहमा समावेश गराउन नियमित महाधिवेशन नै उपयुक्त हुने उनीहरूको भनाइ छ ।

‘नयाँ साथीहरूलाई पनि सहभागी गराउनुपर्छ । नवयुवा (जेनजी) लाई पनि सक्रिय सदस्यता दिनुछ, पुरानाको नवीकरण टुंगिएको छैन । त्यसलाई पनि पूरा गर्नुछ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘फेरि वडादेखि नै अधिवेशनको प्रक्रिया पनि टुंग्याउनुर्छ । त्यसले गर्दा मंसिरमा गर्न समय पर्याप्त हुँदैन भन्ने पनि साथीहरूको भनाइ छ ।’

प्रवक्ता महतले कांग्रेसले विशेष महाधिवेशन आयोजना नगर्नेबारे यसअघि नै प्रष्ट पारिसकेका छन् । ‘विशेष महाधिवेशन भनेको त पदावधि नसकिँदै मध्य–मध्य समयमा विशिष्ट परिवेश आयो, कुनै विशेष परिवेशमा छलफल गर्नुपर्‍यो, नेतृत्वमा पनि प्रश्न उठ्यो भने गर्ने हो,’ उनले ३० कात्तिकमा सानेपामा भनेका थिए, ‘अहिले त हाम्रो कार्यसमितिको पदावधि नै सकिन थालिसकेको छ । डेलिगेट्सको त सकिनै सक्यो ।’

गत असोज १० गते नै अधिकांश महाधिवेशन प्रतिनिधिहरूको अवधि समाप्त भइसकेको अवस्थामा नयाँ क्रियाशील सदस्यसमेत जोडेर महाधिवेशन गर्दा पार्टीमा समग्र वर्ग, क्षेत्र, र आयु समूहसमेतको प्रतिनिधित्व गर्नुपर्ने भएका कारण महाधिवेशन नै गर्नुपर्ने महतको भनाइ थियो ।

पार्टीको निर्णय प्रक्रियामा सहभागी हुँदै आएका एक संस्थापन पक्षीय नेताले प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने आफूहरूको राय रहेको प्रतिक्रिया दिए ।

‘चुनावपछि महाधिवेशन गर्नु पार्टीको हितमा छ । फागुनमा चुनाव भयो भने वैशाखमा महाधिवेशन हुन्छ,’ ती नेताले भने, ‘चुनाव नै वैशाखमा सर्‍यो भने फागुनमा महाधिवेशन गर्न सकिन्छ ।’

संस्थापन पक्षीय अर्का नेताले पनि प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने गरी १५ औँ महाधिवेशनको मिति तोकिने प्रतिक्रिया दिए । ‘निर्वाचनको तयारी गर्ने गरी महाधिवेशनको मिति तोकिन्छ,’ ती नेताको भनाइ थियो, ‘निर्वाचन हुने हो भने त्यो अघि महाधिवेशन हुन सक्दैन ।’

पार्टीको केन्द्रीय कार्यसमिति बैठक र बाहिर जे सुकै भने पनि आगामी मंसिरमा नियमित महाधिवेशन गर्न सकिदैन भन्नेमा पदाधिकारीहरू सबैलाई राम्रो जानकारी रहेको अर्का केन्द्रीय सदस्यको भनाइ छ ।

‘बाहिर जति सुकै भने पनि अनटाइममा महाधिवेशन गर्न सकिँदैन भन्ने कुरामा उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू क्लियर नै हुनुहोला,’ ती नेताले अनलाइनखबरसँग भने, ‘हस्ताक्षरकर्ताहरूको मागलाई ‘सेफ ल्यान्डिङ’ गर्ने, समय तोक्ने तर, पछि त्यसलाई पनि एक्सटेन्सन गरेर अगाडि बढ्ने सम्भावना छ ।’

उनले महामन्त्री गगनकुमार थापाले ३० असोजको बैठकमा गरेको ‘ब्रिफिङ’ अनुसार ७० प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम टुंगिएको बताए । ३० प्रतिशत काम १५ दिन समय दिँदा टुंगिने महामन्त्रीको भनाइ रहेको उनले बताए ।

‘यो त भयो क्रियाशील सदस्यता नवीकरणको कुरो । नयाँ सदस्यता वितरणको काम सुरू नै भएको छैन,’ ती नेताले थपे, ‘मंसिरमा महाधिवेशन हुने कुनै सम्भावना देखिँदैन । तर, उहाँहरूले गर्छु भन्नु भएकाले हामीले सकिँदैन किन भन्नु ?’

पार्टीका तर्फबाट विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका संस्थापन पक्षीय एक नेताले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको वातावरण बन्ने स्थिति देखिए चुनावलगत्तै महाधिवेशन हुने गरी अघि बढिने बताए ।

‘कात्तिक १३ गतेसम्म केही कुरो होला । सरकारले दलहरूसँग छलफल गरिरहेको छ,’ ती नेताले भने, ‘चुनाव हुने सम्भावना बढ्यो, वातावरण बन्यो भने चुनावको तयारी गर्ने गरी र लगत्तै महाधिवेशन हुने गरी अघि बढ्छौँ ।’

पहिलोपल्ट पार्टीको केन्द्रीय सदस्य बनेका एक केन्द्रीय सदस्यले मंसिरमै महाधिवेशन गर्ने भनिए पनि समय थोरै रहेको बताए ।

‘केन्द्रीय समितिबाट हामी नियमित महाधिवेशन गर्ने गरी अगाडि बढ्ने त हामी भनिरहेका छौँ । तर, महाधिवशेनको कार्यतालिका पेस हुन सकेको छैन,’ उनले भने, ‘यसबाट १३ गतेपछि मात्रै बैठक बस्ने कुरा भइसकेपछि एक महिनामै महाधिवेशन गर्न कति सकिन्छ, त्यसमा समीक्षा हुने नै भयो ।’

संस्थापन पक्षीय केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई नियमित महाधिवेशन गर्नतर्फ लाग्न सुझाव दिइसकेका छन् । ‘मैले त महामन्त्रीजीहरूलाई कार्यसम्पादनको बैठकमै तपाईंहरू विशेष होइन नियमित महाधिवेशनमा लाग्नुहोस् भनेर सुझाव दिएको थिएँ,’ उनले आइतबार झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘ढिलोमा पनि अबका ६, ८ महिनामा त कांग्रेसको महाधिवेशन गर्नै पर्छ ।’

संस्थापनपक्षीय केन्द्रीय सदस्य नैनसिंह महरले क्रियाशील सदस्यता नवीकरण, वितरणमा पदाधिकारीहरू सक्रिय नभएको टिप्पणी गरे । उनले चार वर्षसम्म गर्न नसकिएको काम छोटो समयमा पदाधिकारीले गर्न सक्नेमा आफू विश्वास नरहेको बताए ।

‘म नियमित महाधिवेशनको पक्षधर हो । तर, पदाधिकारीहरूले आ–आफ्नो जिम्माको काम गर्नुभएको छैन । सदस्यता नवीकरण, वितरणमा पदाधिकारीहरू सक्रिय देखिनुभएन,’ महरले भने, ‘हिजो हामीले चार वर्षसम्म गर्न नसकेको काम यति छिट्टै पदाधिकारीले गर्न सक्छन् भन्ने मलाई विश्वास त छैन । तर, बैठक विधानअनुसार कतै न कतै निर्णयमा त पुग्छ नै ।’

उनले कांग्रेससामु जेनजी पुस्ताका मागहरू सम्बोधन गर्ने र उनीहरूलाई पार्टीको मूल प्रवाहमा ल्याउने चुनौती रहेको र उक्त चुनौती पूरा गर्न तल्लो तहदेखि नै अधिवेशन गर्नुपर्ने पनि बताए ।

नेता महरले भनेको तल्लो तहदेखिको अधिवशेन विशेष महाधिवेशन आयोजना गरे सम्भावना रहँदैन । विशेष महाधिवशेनमा अघिल्लो महाधिवेशनका प्रतिनिधिहरू नै मतदाता हुन्छन् । जेनजी पुस्तालाई पार्टीको मूल प्रवाहमा ल्याउन कांग्रेसले नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने समयमै महाधिवेशन गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल चलिरहेका कारण कात्तिक तेस्रो साताको सुरूवाततिर महाधिवेशनबारे टुंगोमा पुगिने बताउँछन् ।

‘समयमा महाधिवेशन गर्नेबारे छलफल चलिरहेको छ । कात्तिक १३ गते बैठक बोलाइएको छ,’ उनले भने, ‘अबको बैठक बसेको ३–४ दिनभित्रै महाधिवेशनबारे टुंगोमा पुग्छौँ ।’

नेता विश्वकर्माले आगामी मंसिरमै महाधिवेशन सम्पन्न गर्नका लागि प्रयास गरिने पनि बताए । ‘मंसिरमा महाधिवशेन गर्ने कोसिस गर्ने हो, गर्ने भनेको महामन्त्री–पदाधिकारीहरूले गर्ने हो,’ उनले भने, ‘उहाँहरूले गर्न सक्छौँ भन्नुभयो भने कसले रोक्छ र ? सक्छौँ भन्नुभयो भने रोक्ने आधार केही पनि छैन ।’

प्रचार विभाग प्रमुख विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे औपचारिक प्रस्ताव भने पेस नभएको बताए । ‘प्रस्ताव महामन्त्रीहरूले नै राख्ने हो, उहाँहरूले यसबारे केही प्रस्ताव गर्नुभएको छैन,’ उनले भने, ‘बैठकमा उहाँले राख्नुभएका अन्य प्रस्तावमा कुनै विमति छैन ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?