५ वैशाख, काठमाडौं । नेपाल तरुण दलले पैदल हिँडेरै गन्तव्यमा गइरहेकाहरूलाई ठाउँ-ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कष्टपूर्ण यात्रा गरी आफ्नो घरसम्म गइरहेकाहरूलाई सरकारले उचित प्रवन्ध गर्न नसकेको भन्दै उनीहरुको यात्रामा सहजता प्रदान गर्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गरेका हुन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले भनेका छन्, ‘नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ-आफनो तर्फबाट राजमार्गमा हिँडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।’
लकडाउनको बेला दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गलाई आवश्यक राहतको प्रवन्ध गराउन तरुण दलले पटक-पटक ध्यानाकर्षण गराउँदै आए पनि सरकार भने यो कार्यमा चुकेको तरुण दलको ठहर छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिने कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र भ्रातृ संगठनहरुले सरकारलाई सहयोग गरे पनि सरकार भने आफ्नो जिम्मेवारीबाट विमुख हुँदै अनावश्यक गतिविधिमा रुमल्लिरहेको आरोप तरुण दले लगाएको छ ।
अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संकटको यो समयमा परीक्षणको दायरालाई तीव्र गतिमा अगाडि बढाउनु पर्ने बेला सरकार भने आफ्ना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ । यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउँदछौँ ।’
पर्याप्त सुरक्षा सामग्रीविना पनि अग्रपङ्क्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एम्बुलेन्स चालक, फोहोर संकलकहरुको प्रशंसा गर्दै तरुण दलले यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रगीसँगै थप सुविधा पनि व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4