१८ असार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीबाट खटिएका केन्द्रीय प्रतिनिधिहरूसँग आवश्यक समन्वय गरेर क्रियाशील सदस्यता अद्यावधिक र वितरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतलाई अनुरोध गरेको छ ।
अध्यक्ष मनिष कोइरालाले बिहीबार तरुण दलका जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेर क्रियाशील सदस्यता अद्यावधिक र वितरणका लागि ७७ वटै जिल्लामा पार्टीबाट खटिएका प्रतिनिधिहरूसँग समन्वय गरेर अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका हुन् ।
‘खटाइएका प्रतिनिधिहरूले २०८३ असार २० गतेभित्र सम्बन्धित जिल्लामा पुगेर अभियान सञ्चालन गर्ने भएकाले उहाँहरूसँग आवश्यक समन्वय, सहकार्य तथा सहजीकरण गरी पालिका तथा वडा तहसम्म अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ ।
अभियान अवधिभर केन्द्रीय कार्यालयसँग नियमित सम्पर्क तथा प्रगति विवरणको जानकारी गराएर अभियान सम्पन्न भएपछि आवश्यक प्रतिवेदन समयमै पठाउन पनि परिपत्रमा भनिएको छ ।
कांग्रेसले केही दिनअघि ३५ वर्षमुनिका युवालाई प्राथमिकतामा राखेर नयाँ क्रियाशील सदस्यता वितरण गर्न र छुटेका क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि सहजीकरण गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो ।
प्रतिक्रिया 4