Comments Add Comment

कसरी फैलियो मेलबर्नमा कोरोनाको महामारी

Photo Credit : GETTY IMAGES

२१ असार, काठमाडौं । केही समयअघिसम्म कोभिड–१९ को महामारीलाई अस्ट्रेलियाले सहजै नियन्त्रणमा लिनेमा धेरैको विश्वास थियो । तर पछिल्लो समय मेलबर्न सहरमा देखिएको बढ्दो कोरोना संक्रमणसँगै त्यो विश्वास विस्तारै आशंकामा परिणत हुन थालेको छ ।

यो आशंकासँगै सरकारले पनि कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न योजनाहरू अघि सार्न थालेको छ । गतसाता अस्ट्रेलियाले तीन लाख मानिसको बसोबास क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको थियो ।

अहिले अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका पाँच सयभन्दा बढी एक्टिभ केसहरू छन् । साथै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हालसम्म १०४ पुगेको छ । अहिले भिक्टोरियामा देखिएको संक्रमण गत मार्चमा उत्कर्षमा पुगेकोभन्दा कम हो । अहिले यहाँ फैलिएको स्थानीय संक्रमणले मुलुकमा संक्रमण थप फैलाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने चिन्ता अधिकारीहरूले गर्दै आएका छन् ।

यसअघि अधिकांश संक्रमित बाहिरबाट आएका मानिसहरू हुन्थे । तीन महिनाअघि अस्ट्रेलियाले लकडाउन र अनिवार्य होटल क्वारेन्टिनजस्ता नियम ल्याउँदै उल्लेख्य मात्रामा नयाँ संक्रमित घटाएको थियो । अहिले अस्ट्रेलियामा आठ हजारभन्दा धेरै कोरोना संक्रमित छन् ।

अस्ट्रेलियाका अन्य राज्यमा कोरोना भाइरसका नयाँ संक्रमित शून्य छन् वा घटिरहेका छन् । तर भिक्टोरियामा के गल्ती भयो त ?

होटल क्वारेन्टिनको असफलता

भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्र्युले भिक्टोरियामा संक्रमण फैलिनुको कारण होटल क्वारेन्टिनको नियम पालना गरेको वा नगरेको भनेर रेखदेखको जिम्मा पाएका कर्मचारीले आफ्नो काम राम्रोसँग नगर्नु रहेको बताउँछन् ।

भिक्टोरियामा यसरी १४ क्वारेन्टिनमा बसेर २० हजारभन्दा धेरै मानिसहरू घर फर्किएका थिए । भिक्टोरियामा घरमा फेला परेका एक व्यक्तिमा होटलका कर्मचारीबाटै कोरोना भाइरसको संक्रमण फैलिएको पाइएको थियो । यसले भिक्टोरियाको होटल क्वारेन्टिन प्रभावकारी हुन नसकेको देखाएको थियो ।

कसरी फैलियो त भाइरस ? धेरैले निजी कम्पनीका सुरक्षाकर्मी ल्याइएको कारण होटल क्वारेन्टिन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । जबकी छिमेकी राज्य न्यु साउथ वेल्समा भने होटल क्वारेन्टिनका लागि प्रहरीको प्रयोग गरिएको थियो ।

निजी कम्पनीका सुरक्षा गार्डहरू तुलनात्मक रूपमा प्रशिक्षित पनि नहुने र पर्याप्त मात्रामा उनीहरूलाई पीपीईको पनि अभाव हुने भएकाले प्रभावकारी रुपमा होटल क्वारेन्टिन चल्न नसकेको आलोचकहरूको भनाइ छ । एन्ड्र्युका अनुसार क्वारेन्टिनमा बस्ने मानिसहरूसँग सुरक्षा गार्डको निकै ठूलो हिमचिम हुने गरेको थियो ।

उनीहरूले चुरोट आदानप्रदानसम्म गर्ने गरेको एन्ड्र्युको भनाइ छ । केही स्थानीय सञ्चारमाध्यमहरूले भने क्वारेन्टिनमा बसेका मानिस र सुरक्षा गार्डले यौन सम्बन्ध पनि राख्ने गरेको बताएका छन् ।

सरकारले यस विषयमा अनुसन्धान गरेर आवश्यक कारबाहीका लागि निर्देशन दिएको छ ।

कहाँबाट निस्कियो भाइरस ?

मे महिनाको सुरुवातमा अस्ट्रेलियाको मेलबर्नको एक वधशालाका कर्मचारीहरूबाट कोरोना भाइरसको महामारी बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका थिए । मेलबर्नको एक क्षेत्रबाट करिब १११ नयाँ संक्रमित फेला परेका थिए । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले उक्त क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गर्ने काम अघि बढायो ।

त्यसको एक महिनापछि लकडाउन खुल्यो र मानिसहरूले लामो समयपछि साथीभाइ र परिवारसँगको भेटघाटको अवसर पाए । साथै, रेस्टुरेन्टमा बसेर खाना खाने अवसर पनि उनीहरूले पाए ।

यद्यपि विशेषज्ञहरूका अनुसार सुरुमा देखिएको संक्रमणबाट संक्रमित भएका मानिसहरू अझैसम्म पनि पहिचान हुन सकेका छैनन् ।

लकडाउनपछिको खुसी

कोरोना भाइरसको संक्रमणमा कमी आएसँगै अस्ट्रेलियामा लकडाउन पनि केही खुला गरियो । विशेषज्ञहरूले भने अझै भौतिक दुरी कायम राख्ने नियम पालना गर्नको लागि आग्रह गर्दै आएका थिए । तर सरकारले जम्मा हुन पाउने मानिसको संख्या बढाइदियो । यससँगै ठूलो परिवारको सञ्जाल एक ठाउँमा भेला भए । जसको कारण निकै कम लक्षण देखिएका वा कुनै लक्षण नदेखिएका मानिसले अन्य मानिसमा यो रोग सारेको पाइएको अधिकारीहरूले बताएका छन् ।

यस किसिमको समूहले भिक्टोरियामा कोरोना भाइरसका संक्रमितहरू बढे ।

अङ्ग्रेजी नबुझ्ने मानिसमा सन्देश फैलाउन नसक्नु

अस्ट्रेलियामा लकडाउनको समयमा हटस्पट बनेको मेलबर्नको उत्तर र पश्चिम क्षेत्रमा ठूलो आप्रवासी समुदायको बसोबास रहेको छ । यो क्षेत्रका नेताहरूले अङ्ग्रेजी नबोल्ने मानिसहरूमा राम्रोसँग कोरोना भाइरसको बारेमा सन्देश पुग्न नसकेको बताएका छन् । मेलवर्नमा ३५ प्रतिशत घरमा अङ्ग्रेजीभन्दा अर्को भाषा बोलिन्छ ।

यस्तो अवस्थामा सरकारको सन्देश अनुवाद गरेर सुनाउनु पर्याप्त नहुने गरेको एक अनुसन्धानले देखाएको छ । त्यसका साथै सरकारी निकायहरूले उनीहरूलाई गलत सूचना दिने गरेको पनि आरोप लागेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment