Comments Add Comment

दसैंको सबै पक्ष देखावटी बन्दै गयो

९ कात्तिक, काठमाडाैं । दसैंको महिमा र यसको विशेषताको व्याख्या गर्नुपूर्व दसैं के आधारमा नाम राखियो भन्ने भन्ने कुरालाई ध्यान दिनु उपयुक्त हुन्छ । हाम्रा चाडपर्वहरू अधिकांश नामैबाट स्पष्ट अर्थ लाग्ने खालका हुन्छन्, बस् नामलाई गहिरिएर हेर्नुपर्छ ।

काठमाडौंका नेवार समुदायले यसलाई मोहनी नामले चिन्छन् भने यहाँबाट बाहिर गएपछि यो दसैैं वा विजयादशमी नामले चिनिन्छ । मोहनीको सिधा अर्थ भनेको अरूलाई आफूतिर आकर्षित गर्ने काम हो । देवी जगदम्बिकाले एउटा १६ वर्षे यौवनाको रूप लिएर राक्षसलाई मोहित गरेर पराजित गरेकोले यसको नाम मोहनी राखियो भन्ने विश्वास छ ।

महिसासुर दैत्यले स्वर्ग, पृथ्वी र पाताल तीनै भुवनमा आफ्नो कब्जा जमाएपछि सबै देवताको भागाभाग भयो । सर्वत्र हारपछि देवताहरू शरण माग्दै माता जगदम्बिका कहाँ पुगे । उता राक्षस सेनाहरूभने हिमालयमा समेत देवतागणलाई खोज्दै हिँडिरहेका थिए ।

देवताहरूको अनुनय सुनेपछि माता जगदम्बिका १६ वर्षकी तरुनी रूप लिएर हिमालयमा तपस्या गर्न पुगिन् । देवतागण खोज्दैै हिमालय पुगेका राक्षस सेनाहरूले एउटा नवयौवनालाई तपस्या गरिरहेको देखेपछि यी स्त्री राजालाई बुझाउन पाए राजा खुसी हुन्थे भन्ने सोचेर ती उनलाई अपहरण गर्न तम्सिए ।

जवाफमा देवी जगदम्बिकाले आफूलाई अपहरण गर्नु आवश्यक नरहेको भन्दै बरु आफैँ उनीहरूको राजाकहाँ जाने बताइन् । तर त्यसको लागि आफूसँग युद्ध गरेर जित्नुपर्ने शर्त उनको थियो ।

राक्षस गण त्यसको लागि तयार भए । नौ दिनसम्म युद्ध भयो । युद्धमा केवल राक्षस सेना मात्रै आएनन्, स्वयं महिसासुर पनि देवीसँग लड्न आए । लड्न आएका जोकोही सेना पनि उनको सुन्दरतामा मोहित हुन्थे र आफैँ कमजोर भएर पराजित हुन्थे । नौ दिनको युद्धपछि यही मोहनी स्वरूपकी दूर्गाले सबैलाई पराजित गरेकोले यो पर्वको नाम नै मोहनी राखिएको पाइन्छ ।

त्यस्तै नवरात्रिपछि एकदिन टीकासहित १० दिन मनाउने पर्व भएकोले यसको नाम दसैं राखियो । देवीले राक्षसी शक्तिसामु विजय हासिल गरेको उपलक्ष्यमा टीका लगाइने दिन दशमी तिथि परेकोले यसलाई विजयादशमी भनिएको हो । त्यसैले नामबाट नै धेरैहदसम्म दसैंको महत्व देख्न सकिन्छ ।

नौरथाको नौ दिन नौ प्रकारकी देवीको पूजा गरिन्छ । यसमा पनि ठाउँ अनुसारको भेद छ । काठमाडौं उपत्यकामा ब्रह्मायणी आदि नौ दूर्गाहरूको पूजा गरिन्छ भने उपत्यकाबाहिर शैलपुत्री आदि नौ दूर्गाको पूजा गरिन्छ । यसमा पनि भिन्दाभिन्दै ४ भेद देख्न सकिन्छ । काठमाडौं उपत्यकामा नवदूर्गाको रूपमा ब्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महाकाली महालक्ष्मी यी आठ मात्रिकाहरू र त्रिपुरासुन्दरीलाई मान्ने गरिन्छ । काठमाडौैंकै कतिपय ठाउँमा यस बाहेक पनि रुद्रचण्डा, प्रचण्डा, चण्डोग्रा, चण्डनायका, चण्डा, चण्डवती, चण्डरुपा र अतिचण्डिका र उग्रचण्डालाई नवदूर्गाको रूपमा मान्ने गरिन्छ र रुद्रचण्डादि नवदूर्गाको पूजा गर्ने ठाउँमा जयादि नवदूर्गालाई पनि मान्ने चलन छ । जसमा जया, विजया, अजिता, अपराजिता, जम्मने, टम्मने, मोहिनी र आकर्षणी हुन् । यसमा सिद्धिचण्डा थपेपछि नवदूर्गाको रूपमा पूजा गर्ने गरिन्छ ।

अब फेरि दूर्गा नाम कसरी राखियो ? भन्ने अर्काे प्रश्न आउन सक्छ । दूर्ग नामको राक्षसलाई पराजित गरेकी देवी भएकोले उनको नाम नै दूर्गा राखिएको शास्त्रीय मान्यता पाइन्छ । त्यसैले दूर्गाको अर्थ पनि नामद्वारा नै स्पष्ट छ । त्यसैले दसैं पर्वमा उल्लेख गरिने विभिन्न तिथिका विभिन्न कर्मलाई गहिरोसँग नामै अध्ययन गरियो भने पनि यसको महिमा धेरै हदसम्म थाहा पाउन सकिन्छ ।

नवदूर्गाको उत्पत्ति कसरी भयो ?

ढोकामा पहरा दिएर बसेका गणेशले आफ्नै पिता शिवलाई नचिनेर गृह प्रवेशमा अवरोध सिर्जना गरेपछि गणेशको शिर छेदन गरेर शिव आफ्नो घरमा प्रवेश गरे । आफ्ना पुत्र गणेशको शिर छेदन भएको देखेर क्रुद्ध बनेकी पार्वतीले कुनै पनि देवतालाई छाड्दिन भनेर नौ वटा स्वरूपको सिर्जना गरिन् भन्ने मान्यता छ । पछि हात्तीको टाउको ल्याएर गणेशलाई ब्युँताइदिएपछि पार्वतीको रिस शान्त भयो । तर ती नौ देवी नै पछि नवदूर्गाको रूपमा चर्चित भए भन्ने एउटा पौराणिक कथा छ ।

तर यस्ता कथाहरू पुराण अनुसार भिन्दाभिन्दै किसिमको छ । ब्रह्मवैवत्र्य पुराणमा छुट्टै कुरा छ । दशौं दिनको दिन विजयको टीका लगाएर त्यसैको उपलक्ष्यमा पाँच दिनसम्म टीका लगाउने चलन छ । त्यसको पाँचौंदिन पछि तीनै भुवन राक्षसबाट दैवी शक्तिले हात पारेको उपलक्ष्यमा आकाश, पृथ्वी र पातालमा समेत एक महिनासम्म बत्ती बाल्ने गरिन्छ । यसैलाई आकाशदीप जस्ता विभिन्न नामबाट चिन्ने गरिन्छ ।

दसैं धेरै देखावटी भयो

पछिल्लो समय दसैंमात्रै होइन सबै चाडपर्वहरू देखावटी बनेका छन् । जस्तो उदाहरणको लागि तीजकै कुरा गरौं । महिलाहरूको लागि तीज दसैंभन्दा पनि महत्वपूर्ण थियो । तर अहिले ती सबै महत्व सकिएका छन् । त्यस्तै, दसैंको पनि सबै कुरा देखावटी बन्दै गए । उबेलाको जस्तो निश्चल मनले न त टीकाटालो हुन्छ न त नवदूर्गाको पूजाआजा । पहिलेको जस्तो एक वर्ष कुरेर नयाँ कपडा लगाउनु पर्ने अवस्था पनि छैन । पेटभरि मासु खान एक वर्ष कुर्नुपर्ने अवस्था पनि छैन ।

अर्काेतर्फ, आस्थाको विषयमा पनि पछिल्लो समय देखावटीपन देखिन्छ । संस्कार पूरा गर्ने नभई यसलाई रमाइलो गर्ने पर्वको रूपमा मात्रै यसलाई देखाउन थालिएको छ । जस्तो नवरात्रमा नौ किसिमका देवीको स्वरूप अनुसार उनीहरूको विशेषता के हो ? उनीहरूको फरक फरक उपासनाको कारण के हो ? जस्ता विषयलाई छाडेर दसैं केवल देखावटी बनाउँदै लैजानु नै दुखद् कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment