सुदूरका ढुङ्गामा शिलाको शिल्प
उमेरले ६० को नजिक पुग्न लागेकी शिला नेपाली (५८) को फुर्ती भने १६ वर्षे ठिटीको जस्तै छ। अनुहारको चमक, फुर्तिलो हाउभाउ, युग सुहाउँदो पहिरन र अङ्ग्रेजी मिश्रित बोलीचालीले उनलाई भेट्ने जो–कोहीलाई प्रभावित पार्छ। तर, बाहिरबाट जति चम्किलो देखिन्छ, उनको जीवनको सङ्घर्षको कथा कुनै वियोगान्त सिनेमाभन्दा कम छैन।
टुटेको नर्स बन्ने सपना र शुरु भएको सङ्घर्ष
२०४१ सालमा कक्षा ८ पास गरेकी शिला आफ्नो जीवनमा नर्स बन्न चाहन्थिन्। नर्स बन्न चाहनुको मुख्य कारण क्षयरोग (टीबी) ले थलिएकी आफ्नै आमा थिइन्। ‘आमालाई टीबी लागेको थियो। उनकै राम्रो हेरचाह गर्न सकूँ भनेर मलाई नर्स बन्ने रहर जागेको थियो’, उनी भावुक हुँदै विगत सम्झिन्छिन्।
त्यतिबेला ८ कक्षा पास गरेपछि अनमी पढ्न पाइन्थ्यो। नर्सिङ पढ्न नेपालगञ्ज जाने तयारी भइरहेकै बेला शिलाकी आमाको मृत्यु भयो। सानैदेखि उनलाई आमाले एकल रूपमा हुर्काउँदै आएकी थिइन्। आमाको मृत्युपछि शिलाको नर्स बन्ने सपना मात्रै टुटेन, घरबास नै उजाडियो। साँझ–बिहान के खाने भन्ने पिरलोले सताउन थाल्यो।
त्यतिबेला जाजरकोट जिल्ला अस्पतालको भवन निर्माण भइरहेको थियो। भेरी नगरपालिका–३, स्यालाकी स्थायी बासिन्दा उनले त्यही अस्पतालमा गिटी–ढुङ्गा बोक्ने काम पाइन्। ज्यालाबापत दैनिक ३५ रुपैयाँ पाउने उनले त्यही पैसाले साँझ–बिहानको छाक टारिन्। त्यही बीचमा, जम्मा १४ वर्षको उमेरमा २०४२ सालमा उनले नलगाड नगरपालिका–६ का लाल नेपालीसँग विवाह गरिन्।
शिला र उनका श्रीमानले ज्यालामजदुरी गर्दै जाजरकोटमा तीन वर्ष बिताए। पछि उनका श्रीमान्ले ‘गाउँ नगर साझेदारी कार्यक्रम’ मार्फत धनकुटामा पढ्न पाउने एउटा फेलोसिप पाए। शिला पनि श्रीमान्सँगै धनकुटा पुगिन्। शुरुमा उनले त्यहाँ एउटा विदेशी परिवारको सहयोगी (कामदार) को रूपमा काम गरिन्।
त्यहीं उनले अङ्ग्रेजी भाषा सिकिन्। ‘एउटा विदेशी परिवारसँग काम गर्दा मैले अङ्ग्रेजी सिकें। अहिले त तीन घण्टासम्म निरन्तर अङ्ग्रेजीमा भाषण देऊ भने पनि मज्जाले सक्छु’, उनी गर्वका साथ भन्छिन्।
धनकुटाको त्यो २० वर्षे सङ्घर्ष
धनकुटा पुगेपछि शिलाका सङ्घर्षका पहाड झनै अग्ला बने। बिरानो शहर, नयाँ परिवेश- के गर्ने र कहाँ जाने ? कुनै जानकारी थिएन। त्यही बीचमा उनले सडकपेटीमै सामान्य खुद्रा सामग्रीहरू बेच्न थालिन्।
विस्तारै उनले आमा समूह र टोल विकास समितिसँग सम्पर्क बढाइन्। कहिले सडकपेटीमा मकै पोलेर बेचिन् त कहिले डोकोमा तरकारी बोकेर घरघर पुर्याइन्। त्यसपछि उनले आमा समूह मार्फत विभिन्न सीप विकासका तालिमहरू माग्न थालिन्।
२०५१ सालमा उनले धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरबाट तीनमहिने ढाका बुनाइ सम्बन्धी तालिम लिने अवसर पाइन्। त्यसपछि उनको रुचि हस्तकलाका सामग्रीप्रति बढ्दै गयो। २०५६ सालमा ४५ दिने ‘लघु सिर्जना व्यावसायिक तालिम’ लिएपछि धनकुटाको सडकमा पसल थापेर व्यापार शुरु गरेकी उनले पछि ढाका कपडाकै पसल सञ्चालन गरिन्।
२०५७ सालदेखि उनले धनकुटा बसपार्क नजिकै ‘कोसेली कक्ष’ सञ्चालनमा ल्याइन्। स्थानीय उत्पादन रुचाउनेहरूको रोजाइमा परेको उक्त कोसेली कक्षमा बाँसका सामग्री, ढाका र अल्लोका कपडा, सिलावरका भाँडा, धातुका औजार र प्रशोधित खाद्य सामग्रीहरू बिक्री हुन्थे। उनले स्थानीय महिलाहरूलाई हस्तकलाको तालिम दिएर उनीहरूले उत्पादन गरेका सामग्री समेत कोसेली घरमार्फत बिक्री गर्न थालिन्।
उद्योग वाणिज्य सङ्घ, धनकुटाको कार्यसमिति सदस्य समेत बनेकी शिला २०५९ सालमा ‘महिला उद्यमी सङ्घ’ धनकुटाको अध्यक्ष बनिन्। ‘विस्तारै व्यापार फस्टाउँदै गयो। त्यही आम्दानीले मैले धनकुटाको मुख्य बजार क्षेत्रमा तीनतले पक्की घर बनाएँ र तीन जना छोरीलाई उनीहरूले चाहेअनुसारकै शिक्षा दिएँ’, उनी भन्छिन्।
रत्नपत्थरले डोर्याएर फर्काएको जाजरकोट
धनकुटामा गरेको सङ्घर्षले शिलालाई देश–विदेश घुम्ने अवसर दिलायो। सन् २००८ (२०६४ साल) मा दक्षिण कोरियामा आयोजित कोरिया एक्स्पोमा उनले नेपालको तर्फबाट सहभागी हुने अवसर पाइन्। धनकुटाका स्थानीय उत्पादन लिएर त्यहाँ पुगेकी उनले रत्नपत्थरका सामग्री र त्यसको विश्वव्यापी महत्त्वबारे नजिकबाट जान्ने मौका पाइन्।

कोरियापछि हङकङ जाने अवसर पाएकी उनले त्यहाँ रत्नपत्थरको झनै ठूलो माग र उच्च मूल्य भएको थाहा पाइन्। नेपाल फर्किएर यसबारे थप अध्ययन गर्दा विश्व बजारमा अत्यधिक माग भएको त्यो बहुमूल्य ढुङ्गा (काइनाइट र टुरमालिन) आफ्नै गृहजिल्ला जाजरकोटमा पाइने जानकारी पाइन्।
‘विश्व बजारमा त्यति धेरै बहुमूल्य रहेको ढुङ्गा आफ्नै गाउँघरमा पाइन्छ भन्ने थाहा पाएपछि मैले सदाका लागि धनकुटा छाडेर जाजरकोट फर्किने निर्णय गरें’, उनी भन्छिन्।
२०६५ सालमा उनी २० वर्ष धनकुटामा बगाएको पसिना, बनाएको घर र जमेको व्यापारको साम्राज्य बेचेर आफ्नै जन्मथलो जाजरकोट फर्किइन्। धनकुटामा घर बेचेको पैसाले उनले जाजरकोटमै पहिलो पटक ‘रत्नपत्थर प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याइन्।
२०६६ सालमा जे.एफ. रत्नपत्थर प्रशोधन सेन्टर स्थापना गरिन् र घरेलु कार्यालयबाट तालिमको माग गरी आफूसहित १० जनालाई ढुङ्गा प्रशोधनको तालिम दिलाइन्।
‘त्यतिबेलासम्म जाजरकोटबाट रत्नपत्थरको कच्चा पदार्थ मात्रै बाहिर बिक्री हुँदै आएको थियो। जिल्लामै प्रशोधन हुँदैनथ्यो। मैले नै पहिलो पटक जिल्लामा प्रशोधन कम्पनी खोलेर यो काम शुरु गरेकी हुँ’, शिला भन्छिन्।
शिलाले तीन लाख रुपैयाँ बराबरका ढुङ्गा काट्ने (कटिङ) र टल्काउने (पोलिसिङ) मेसिनहरू किनिन् र आफूसँगै तालिम लिएका महिलाहरूलाई रोजगारी दिइन्। आज उनको उद्योगमा १० जनाले नियमित रोजगारी पाएका छन्, जसमध्ये ९ जना महिला छन्।
जाजरकोटमा प्रशोधन भएको रत्नपत्थर काठमाडौंको ठमेल र न्युरोडमा गएर विभिन्न बहुमूल्य गहना र शृङ्गारका सामग्री बन्छन् र त्यहाँबाट विश्व बजारमा पुग्छन्। ‘अर्डरअनुसार काम हुन्छ। वार्षिक २५–३० लाख रुपैयाँ खुद आम्दानी हुन्छ’ शिला सन्तुष्ट सुनिन्छिन्, ‘तर मेरो लागि मुख्य कुरा आम्दानी होइन, गाउँका दिदीबहिनीले रोजगारी पाएका छन् र हाम्रो गाउँको ढुङ्गाले विश्व बजार पाएको छ।’
कानूनी उल्झनको हैरानी
रत्नपत्थर प्रशोधन कम्पनी सञ्चालन गर्नु त्यति सहज छैन। कोरोना महामारी र जाजरकोट भूकम्पले गर्दा उद्योगले लामो समय उत्पादन बन्द गर्नुपर्यो। त्यसमाथि सरकारी नीतिनियम र कानूनी झमेलाले थप हैरानी दिने गरेको शिलाको गुनासो छ।
खानी तथा भूगर्भ विभागले कच्चा पदार्थ बिक्री गर्न नपाउने नियम लगाएको छ। ‘स्वदेशमै प्रशोधन गर्छौं भन्दा राज्यले कच्चा पदार्थ नै निकाल्न र किन्न नदिएपछि उद्योग कसरी चल्छ ?’ उनको सीधा प्रश्न छ।
जल, जमिन र जडीबुटीमा सबैभन्दा धनी कर्णाली आज सिटामोल नपाएर मृत्युवरण गर्नुपर्ने नियतिबाट गुज्रिरहेको छ। ‘आज किलोमा किनेर क्यारेटमा बिक्री हुने कुनै वस्तु छ भने त्यो रत्नपत्थर हो। यसको अनुसन्धान र प्रशोधनमा राज्यले ध्यान दिनुपर्छ’, उनी भन्छिन्।
हाल महिला उद्यमी महासङ्घ नेपालकी कर्णाली प्रदेश अध्यक्ष समेत रहेकी शिला राज्य स्वदेशी उद्योगीहरूको अभिभावक बन्न नसकेकोमा दुःखी छिन्। ‘सरकारलाई कर मात्र चाहिएको छ। उद्योगीका आशा, अपेक्षा र माग के छन् भन्नेमा कसैलाई चासो छैन’, उनी गुनासो गर्छिन्।
तथापि, अस्पतालको भवन बनाउन गिटी–ढुङ्गा बोक्ने एउटी साधारण मजदुरदेखि आज आफ्नै माटोको बहुमूल्य ढुङ्गा प्रशोधन गरेर विश्व बजारमा पुर्याउने ‘रत्नपत्थर’ की सञ्चालकसम्मको शिला नेपालीको संघर्षपूर्ण जीवन र सफलता सिङ्गो देशका लागि एउटा प्रेरणादायी कथा हो।