२६ पुस काठमाडौं । सञ्चुरी कमर्शियल बैंकले बिहीबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयरमा एकैदिन मागभन्दा बढीको आवेदन परेको छ ।
बैंक र सेयर निष्काशन तथा बिक्री प्रबन्धकहरुले जनाए अनुसार बिहिबार १ अर्ब ५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बैंकले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ९२ लाख कित्ता अर्थात् ९२ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो ।
सेञ्चुरी बैंकका ३५ वटा शाखामार्फत् बिहिबार ७१ करोड ७७ लाख ७४ हजार ७ सय रुपैयाँको आवेदन परेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । त्यसैगरी नविल इन्भेष्टमेन्टमा साढे १४ करोड रुपैयाँको आवेदन परेको इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए । नागरिक लगानी कोषमा ६ करोड रुपैयाँ बराबरको आवेदन परेको कोषका सेयर शाखा प्रमुख नारायण प्रसाद घिमिरेले जानकारी दिए । त्यस्तै सिभिल क्यापिटलले ५ करोडको, ग्रोमर मचेन्टले र एनसीएम मर्चेन्टले ४-४ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको जनाएका छन् ।
‘एकैदिनमा हामीलाई चाहिनेभन्दा बढीको आवेदन परिसक्यो, आज पनि उस्तै भीँड छ’ सेञ्चुरीका सीइओ श्रेष्ठले उत्साहित हुँदै भने -‘वाणिज्य बैंकको अन्तिम आइपीओ भएकाले सेञ्चुरीको सेयर खरिद गर्न सर्वसाधारण आतुर छन् ।’ चालू आर्थिक वर्षको नाफाबाट आगामी वर्ष लगानीकर्तालाई दोहोरो अंकको अर्थात् १० प्रतिशत प्रतिफल दिने श्रेष्ठले बताए । ‘१० प्रतिशतबाट लगानीकर्तालाई प्रतिफल दिन सुरु गर्ने योजना छ’ उनले भने ।
२०६७ सालबाट बैंकिङ कारोबार सुरु गरेको सेन्चुरी बैंकले गत आर्थिक बर्षमा ६ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो ।
प्रतिक्रिया 4