Comments Add Comment

क्यान्सर उपचारमा ऐतिहासिक सफलता, वैज्ञानिकले गरे खोपको आविष्कार

असाध्य रोगको रुपमा रहेको र विश्वमा धेरै मानिसको ज्यान लिइरहेको क्यान्सर रोगको उपचारमा वैज्ञानिकहरुले  ऐतिहासिक तथा असाधारण सफलता प्राप्त गरेका छन् ।

वैज्ञानिकहरुले क्यान्सरको उपचारका लागि एक खोपको विकाश गरेका छन् जुन क्यान्सर विरुद्धको लडाइँमा ‘गेम चेन्जर’ सावित हुने विश्वास गरेका छन् ।

cancer-vaccine

वैज्ञानिकहरुले क्यान्सर कोषिकाहरुलाई पहिले नै पहिचान गर्ने र त्यस्ता हानिकारक क्यान्सर कोषलाई सुरुमै नष्ट गर्नका लागि शरीरको रोग प्रतिरोधी प्रणालीलाई कसरी प्रशिक्षित गर्न सकिन्छ ? भन्ने विषयमा अनुसन्धान गरेका थिए ।

वैज्ञानिकहरुले तीन हप्तापछि मृत्यु हुने भनेर डाक्टरहरुले तिथि तोकिदिएकी रक्त क्यान्सरग्रस्त एक महिलालाई पूर्णरुपमा क्यान्सरमुक्त गराउन सफल भएका छन् । उनी तिथि तोकिए यता ३ वर्ष बाँचिसकेकी छिन् र यस्तो सफलता अन्य क्यान्सर रोगीमा पनि प्राप्त भएको डाक्टरहरुको भनाइ छ ।

अमेरिकी वैज्ञानिकहरुको यो प्रयास जस्तै बेलायती वैज्ञानिकहरुले पनि मिल्दोजुल्दो आविष्कार गरेका छन् ।

दुबै पद्धतिमा शरिरमा संक्रमण विरुद्ध लड्ने टी-सेलको प्रयोग गरिन्छ र टी सेललाई क्यान्सर कोषको पहिचान गर्नसक्ने क्षमता विकाश गरिन्छ । वैज्ञानिकहरुले क्यान्सर कोषको सतहमा हुने डब्लुटीवान नामक प्रोटिनलाई पहिचान गर्ने क्षमता क्यान्सर रोगीको शरीरमा रहेका टी-सेललाई प्रदान गरे र त्यसका लागि विशेष खोपको प्रयोग गरेका छन् ।

रक्तक्यान्सर अर्थात् ल्यूकेमियाका विरामीमा यो अनुसन्धान गरिएको छ । तथापि अन्य सबैखाले क्यान्सर रोगीको उपचारमा यो पद्धति कामयावी हुने विश्वास वैज्ञानिकहरुको छ ।

वैज्ञानिकहरुले सबैखालका क्यान्सर रोगको उपचारमा विश्वव्यापी क्यान्सर भ्याक्सिनको प्रयोग गर्न सकिने तर्फ समेत संकेत गरेका छन् तथापि कतिपय वैज्ञानिकले भने एउटै खाले भ्याक्सिनको प्रयोग सम्भव नहुने तर्क गर्छन् ।

न्युयोर्कस्थित मेमोरियल स्लोआन केटेरिङ क्यान्सर सेन्टरका क्यान्सर विशेषज्ञ गुएन्थर कोहनले पछिल्लो ३ वर्षमा झण्डै पन्ध्र जना रक्तक्यान्सरका रोगीको यही खोप पद्धतिबाट उपचार गरिरहेका छन् । सामान्य खाले केमोथेरापी उपचारबाट ज्यान जोगिने सम्भावना नरहेका ती क्यान्सर रोगीमध्ये आधाजसो अहिले पनि जिवितै छन् ।
उनी भन्छन्, ‘मलाई दृढ विश्वास छ की यो गेम चेन्जर हो । मैले यो उपचार सुरु गर्नुअघि विरामीहरुलाई सबै कुरा बताएको थिएँ र उनीहरुले आफुहरुसँग कुनै विकल्प बाँकी नरहेको भन्दै उक्त पद्धतिबाट उपचारको प्रयास गर्न अनुरोध गरेका थिए । उनीहरुको आयु निकै छोटो थियो । तर, एक वर्षपछि उनीहरुले मलाई बोलाउँछन्  र आफुहरुले उक्त उपचारका लागि थप भेटिरहन चाहेको बताउँछन् । साँच्ची यो भैरहेको छ ?’
उक्त उपचार पद्धतिमा दाताको बोन म्यारोको केही भाग निकाल्ने र त्यसलाई स्टेम कोष र टी सेलमा विभाजन गरिन्छ । विरामीलाई स्टेम कोष सिधै दिइन्छ भने टी सेललाई क्यान्सर कोषिकाको प्रोटिन डब्लुटीवानसँग प्रयोगशालामा सेन्सेटाइज गराइन्छ र क्रमशः केही महिना लगाएर क्यान्सर रोगीमा प्रत्यारोपण गरिन्छ ।

त्यस्तै बेलायतको युनिभर्सिटी कलेज लण्डन तथा रोयल फ्री हस्पिटलकी  रक्त रोग विशेषज्ञ डाक्टर इम्मा मोरिसले रक्तक्यान्सर ग्रस्त २० जना विरामीको शरीरबाट टी सेलहरु निकालिन्, त्यसमा डब्लुटिवान पहिचान गर्ने डिएनए प्रत्यारोपण गरिन् र पुनः विरामीको शरीरमा हालिदिइन् ।

अहिलेसम्म एकजना मात्र विरामीको शरिरमा त्यस्तो जेनेटिक इन्जिनियरिङ गरिएको टि सेल प्रत्यारोपण गरिसकिएको छ । अन्यमा त्यो प्रत्यारोपण गर्ने चरणमा उनी छिन् ।
यसरी प्रत्यारोपित टी सेलले क्यान्सर रोगीको शरीरमा क्यान्सर कोषिकालाई पहिचान गरी नष्ट गर्ने र क्यान्सर रोगीको रोग निर्मूल हुने अपेक्षा उनको छ, तर नतिजा भने हेर्न बाँकी छ ।

उनका अनुसार यो पद्धति रक्तक्यान्सर सँगै स्तन, अण्डासय, आन्द्रा तथा प्रोस्टेट क्यान्सरका रोगीको उपचारमा प्रयोग गर्न सकिन्छ ।
-डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment