Comments Add Comment
कोभिड- १९ :

‘महामारी उत्कर्षमा पुग्यो भन्न हतार हुन्छ’

२ जेठ, काठमाडौं । मंगलबार ९ हजार ४८३ पुगेको हरेक दिन थपिने नयाँ संक्रमितको संख्या आइतबार ७ हजार ३६८ मा झरेको छ । मृतकको संख्या पनि २२५ बाट घटेर १४५ मा आइपुगेको छ । २८ वैशाख यता हरेक दिन पहिचान हुने नयाँ संक्रमित र मृतकको संख्या क्रमशः घटेको देखिएको छ ।

पोजेटिभिटी रेसियो पनि घटेको छ । वैशाख २७ गते अहिलेसम्मकै बढी ५०.४४ प्रतिशत हो । त्यो दिन देशभरमा १८ हजार ४०१ जनामा परीक्षण गर्दा नौ हजार २८१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसता क्रमशः घटेको छ ।  वैशाख २८ गते ४४. ४९,  २९ मा ४४.७७, ३० मा ४४.२६, ३१ मा ३९.६७ र जेठ १ गते ४४.३८ प्रतिशत रहेको संक्रमण दर आइतबार ३७.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

यससँगै कोरोना संक्रमणको दोस्रो तहल उत्कृषमा पुगेर आरालो लाग्ने थालेको हो कि भन्ने आश पलाएको छ । तर विज्ञहरुले भने पछिल्लो साताको तथ्यांकले केही आशा जगाएपनि महामारी उत्कर्षमा पुगिसक्यो भन्न हतार हुने बताएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार नेपालमा कोरोना संक्रमण परीक्षण संख्या स्थिर रहेको र लक्षण देखिएकाहरु पनि परीक्षण नगरी बस्ने गरेकाले महामारीको भविष्यवाणि गर्न कठिन छ । निषेधाज्ञाका कारण मानिसहरु लक्षण नदेखिएसम्म परीक्षण गर्न नगएकाले पनि ठूलो सङख्यामा संक्रमित समुदायमा नै रहेका हुनसक्ने र उनीहरुबाट संक्रमण विस्तार हुने सम्भावना छ ।

आइतबार मन्त्रालयको प्रेस ब्रिफिङमा डा. विराज कर्माचार्यले पछिल्लो साता देशभर संक्रमितको सङख्यामा १४ प्रतिशत वृद्धि भएको तथ्यांक प्रस्तुत गरे ।

यो बृद्धिदर अघिल्ला केही साताको तुलनामा निकै कम हो । तर प्रदेशगत अवस्था फरक छ । पछिल्ला केही साता संक्रमितको संख्या निकै बढेको लुम्बिनी प्रदेशमा बृद्धिदर माइनसमा झरेको छ भने बाग्मतीमा ४ प्रतिशत मात्र छ ।

तर कर्णालीमा संक्रमितको संख्या १३४ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशत र प्रदेश २ मा ८१ प्रतिशतले बढेको छ । प्रदेश १ मा २८ र गण्डकीमा २१ प्रतिशत बढेको छ ।

यो तथ्यांकबाट कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा संक्रमण तीव्र गतिमा फैलिएको देखाउँछ ।

जिवाणु वैज्ञानिक सुदीप खड्का अहिले नै नेपालमा महामारीको स्थितिबारे भविष्यवाणि गर्नु हतारो हुने बताउँछन् । उनका अनुसार सात दिनयता संक्रमणदर घटे पनि मृत्युदर अझै बढ्न सक्छ । ‘५० प्रतिशत संक्रमणदर पुगेर घट्न थालेको एकसातामै महामारीको भविष्यवाणी गर्नु हतारो हुन्छ किनकि,  त्यसअघिको संक्रमणले गर्ने क्षति २ सातापछि मात्र देखिन थाल्छ’ उनी भन्छन् ।

नेपालमा संक्रमण र मृत्युको तथ्यांकले पनि डा. खड्काको भनाइ पुष्टि गर्छ ।

नेपालमा सबैभन्दा धेरै मृत्यु भएको वैशाख २८ गतेको दुई साताअघि अर्थात वैशाख ११ गतेदेखि संक्रमण दर उच्च दरमा बढेको थियो । वैशाख पहिलो हप्ता १४ प्रतिशत रहेको संक्रमण दर त्यसपछिको हप्ता ३०.२१ प्रतिशतले बढेको थियो । त्यसपछिको हप्तामा संक्रमणदर ३५.९८ प्रतिशत पुगेको थियो ।

अहिले संक्रमण दर विस्तारै घटेको आधारमा मृत्युदर घट्न अझै दुई साता लाग्ने डा. खड्काको भनाइ छ ।

जनस्वास्थ्यविद डा. शरद वन्त नेपालमा उपलब्ध तथ्यांकभन्दा महामारीको अवस्था भयावह हुनसक्ने बताउँछन् । उनका अनुसार तथ्याकंमा नअटाएका संक्रमित गाउँमा छन् र यसबाट झन् ठूलो क्षति हुनसक्छ । त्यसैगरी होम आइसोलेसनमा बढेको चापले पनि महामारी उत्कर्षमा पुगेको भन्न नमिल्ने उनको तर्क छ ।

आइतबारसम्म देशभर होम आइसोलेसनमा बस्नेको संख्या एक लाख २ हजार ४५५ पुगेको छ । यति धेरै संक्रमित होम आइसोलेसनमा हुनु डरलाग्दो भएको डा. वन्त बताउँछन् ।

होम आइसोलेसनमा बस्नेहरुले अन्य व्यक्तिलाई संक्रमण सार्ने सम्भावना बढी हुन्छ । ‘होम आइसोलेसनमा बस्नेको संख्या बढिरहँदासम्म हामी जोखिममुक्त हुदैनौं’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको मत पनि जनस्वास्थ्य विज्ञहरु मिल्दो छ । अबका दुई साता कठिन हुने भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘अहिले आइरहेको तथ्यांक हेरेर मात्र केही भन्न सकिने अवस्था छैन ।’

भारतमा भन्दा डरलाग्दो अवस्था

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिले नेपालको संक्रमण दर र मृत्यु दर भारतमा भन्दाबढी छ । भारतमा प्रति १० लाख जनसफ््यामा २ दशमलव ५ जनाको मृत्यु भएको छ भने नेपालमा प्रति १० लाखमा ६ जनासम्मको मृत्यु भएको छ ।

संक्रमण दर पनि नेपालमा दुई गुणा बढी छ । भारतमा संक्रमण दर २०  दशमलव २ प्रतिशत छ भने नेपालमा ४६ दशमलव ७ प्रतिशतसम्म पुगेको छ । ‘तथ्यांक विश्लेषण गर्दा अझै केही समय कुनै भविष्यवाणी गर्न कठिन हुन्छ’ धुलिखेल अस्पतालका डा. कर्मचार्यले स्वास्थ्य मन्त्रालयको प्रेस बि्रफिङमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment