Comments Add Comment

टीकापुर घटनाको राजनीतिक समाधान

Krishna-Maharaकृष्ण महरा

टीकापुर घटनाको दुःखद् उठान :
जनताले संविधानसभाबाटै संविधान निर्माण गर्ने सदियाैँदेखिको सपना साकार हुनै लाग्दा कैलालीको टीकापुरमा भएको अनपेक्षित घटनाले स्तब्ध पारेको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक, दुई जना प्रहरी निरीक्षक र एकजना नाबालक सहित आठ जनाको बर्बरतापुर्ण तरिकाले ज्यान लिएको उक्त घटनाले सारा नेपालीलाई मर्माहत बनाएको छ ।

सयौं जना प्रहरीको टोलीलाई नेतृत्व गरिरहेका सेती अञ्चल प्रहरी प्रमुखले आन्दोलनकारीलाई सम्झाउने क्रममा कब्जामा लिई घरेलु हातहतियारले निर्ममतापुर्वक हत्या गरिँदा समेत नेपाल/सशस्त्र प्रहरीले अपनाएको संयमता र धैर्यता प्रशंसनीय छ, आफ्नो कमाण्डरमाथि आफ्नै अगाडी भाला रोपिदा यस्तो संयमता सायदै अपनाइन्छ, मृतकप्रति श्रदासुमन ।

सुदूरपश्चिमको वास्तविकता :
नेपालको सरदर गरिबी २१ प्रतिशत भईरहँदा सुदूरपश्चिममा भने ४६ प्रतिशत जनता गरिबीको चपेटामा छन् । मानव विकास सुचकाङ्कको हिसाबले सुदूरपश्चिम नेपालकै पुछारमा रहेको छ । अस्पतालमा जाँदा सुदूरपश्चिमका जनताले न सिटामोल पाउँछन् न पखाला लाग्दा जीवनजल । अत्याधुनिक इमर्जेन्सी सेवासहितको अस्पतालमा उपचार गर्न पाउनु त सुदूरपश्चिमबासीको कल्पनाबाहिरको कुरा हो ।

सरकारी कार्यालयमा कर्मचारी वर्षको एकचोटी हाजिर गरी तलबमात्रै बुझ्न आउँछन्, अरुबेला त्यहाँबाट हराउँछन् । राजनीतिक दलहरु त पाँच वा छ वर्षमा एकचोटी चुनावको बेलामात्रै हुन्, हाम्रो सुदूरपश्चिम पुग्ने, अरुबेला काठमाडौं वरिपरी घुम्नमै व्यस्त हुन्छन् । कहाँ सुदूरपश्चिमको रोग, भोक कहाँ राजधानीको आलिसान जीवन । राजनीतिक स्वार्थ र हित जोडिएको बेलामा मात्रै सुदूरपश्चिमलाई प्रयोग गरिँदैछ ।

कैलाली कञ्चनपुरले नभुलेको पीडा :
हिजो कैलाली र कञ्चनपुर लगायत सारा सुदुरपश्चिममा बाढी आउँदा पीडित जनतालाई राहत दिनुको सट्टा राहत दिने पूर्वराजा ज्ञानेन्द्रलाई समेत रोक लगाउदा कहाँ थिए कैलाली कञ्चनपुरमा हिंसा भड्काउने नेताहरु ? साधारण नागरिकसरह पूर्वराजाले बाढीको चपेटामा परेका कैलाली कञ्चनपुरका रानाथारुहरुलाई एकमुठी चामल र एक पोको नुन दिँदा निर्वाचन आचारसंहिता उलंघनका नाममा बन्देज लगाउने र अहिले आएर कैलाली/कञ्चनपुरका थारु समुदायलाई अन्याय भयो भन्ने अधिकार कम्तिमा बाबुरामलाई छैन । त्यतिबेला निर्वाचन आचारसंहिता उलंघन गरी राज्यकोषबाट करोडौं खर्चेर हेलिकप्टर चढ्न मिल्ने तर विपद्मा परेका जनतालाई एक साधारण नागरिकले सहयोग गर्दा रोक्ने दुष्टहरुको कुटील चाल जनताले बिर्सेका छैनन् ।

आफु सरकारमा हुँदा थारु समुदायको पीडा सम्बोधन किन गरिएन ?
जब जेठको टन्टलापुर धुपमा खेतमा काम गर्दा एउटा किसानलाई सर्पले टोक्छ, तब एन्टी स्नेक भ्याक्सिनसहित कुनचाँही नेता पुगेको छ कैलाली कञ्चनपुरका अस्पतालमा ? थारुहरुका गर्भवती/सुत्केरी आमाहरुले साउनको भेलमा रातभरी ट्वारट्वार कराउने भ्यागुताहरुसंगै आफ्ना नवजात शिशुहरु सुताएको यथार्थ जगजाहेर छ, भाग्यले बाँच्ने बाँचे नत्र मर्नुसिवाय ती नवोदित शिशुसंग अर्को विकल्प हुँदैन ।

कैलाली कञ्चनपुरमा थारु समुदाय शिक्षामा एकदमै पछाडि परेको छ । विगत तीनचार बर्षको लगातार बाढीले कैलाली कञ्चनपुरका कयौ विद्यालयहरु बाढीको निसानामा परे । अब भन्नुहोस्, ती थारु समुदायको शिशु मृत्युदर घटाउन, बाढीले नामेट पारेका विद्यालयहरु पुननिर्माण गर्न कुन चाँही नेता वा सरकारले पहल गरेको छ ? आफ्ना काठमाडौंको सुविधासम्पन्न शहरमा राख्ने, आफ्ना छोराछोरी विदेशका महंगा विद्यालयमा पढाउने अनि सदियौँदेखि मिलेर बसेका गरिब थारु/पहाडी समुदायमा हिंसा भड्काउने ? अचम्म र उदेगलाग्दो कुरा त के छ भने जबजब गौरीफन्टामा कुनै थारु युवा लुटिन्छ, गड्डाचौकीमा कुनै चौधरीलाई आफ्नै भूमिमा मृतकको शव सद्गद गर्न नदिई लखेटिन्छ, त्यतिबेला न कोही बाबुराम बोल्छन न अमरेश, राजेन्द्र र उपेन्द्रहरु । सरकारमा छँदा थारु समुदायका लागी माखो नमार्नेहरुलाई लाज लाग्नुपथ्र्यो ।

कैलाली कञ्चनपुर सुदूरपश्चिमकै विकास केन्द्र :
विगतदेखि अहिलेसम्मको अवस्था हेर्दा सुदूरपश्चिमको क्षेत्रिय सदरमुकाम डोटीको दिपायलमा रहेपनि मुख्य-मुख्य कार्यालयहरु धनगढी र महेन्द्रनगरमा नै अवस्थित छन् । वर्षौदेखि विश्वविद्यालय, मेडिकल तथा प्राविधिक शिक्षालय, पहाडी जिल्लामा सञ्चालित बैतडीको पञ्चेश्वर जलविद्युत परियोजना र दार्चुलाको चमेलिया जलविद्युत आयोजना तथा महाकाली नदी नियन्त्रण आयोजनाजस्ता थुप्रै विकाससँग सम्बन्धित सबै कामहरु नियमन गर्ने निकाय तराईका कैलाली र कञ्चनपुरमा नै अवस्थित भएकोले कैलाली कञ्चनपुरमाथि अन्याय भएको छैन, बरु हिमाली जिल्ला दार्चुला, बझांग र बाजुरामाथि अन्याय भएको छ ।

पूर्वको एउटै धनुषा जिल्लामा ४० वटा पुल बन्न लाग्दा कैलाली कञ्चनपुरमा कतिवटा बाँध बाँधिन लागेका छन् ? छ यसको उत्तर कसैसँग ? आर्थीक वर्ष २०७२/७३ मा पूर्वी तराईमा करोडौं बजेट खन्याई पश्चिम तराईमा बजेट वक्त्यव्यमा कुनै गतिलो कार्यक्रम र बजेट नछुट्याइँदा किन कसैले यहाँका समुदायमा अन्याय भएको देखेनन् ? सुदूरपश्चिममा कैलाली कञ्चनपुरको भन्दा बढी दयनीय अवस्था र वर्षेनी भोकमरीमा छट्पटिनुपर्ने ठाँउहरु छन् ।

सुदूरपश्चिममा एक केजी ढिके नुन किन्न तीन दिन र तीन हजार खर्च गर्नुपर्ने अत्यन्तै मार्मिक अन्य कयौं क्षेत्रमा कसैको ध्यान जान सकेको छैन । हवाई तथा सडक यातायातको सजिलो बाटोबाट कैलाली र कञ्चनपुरमा आई सामाजिक सद्भाव एवं जातिय/क्षेत्रीय हिंसा भड्काउनेहरुले एकचोटी बाजुराको विच्छ्या, बझांगको काँडा र दार्चुलाको गुल्जर गाविसमा गएर हेर्दा हुन्छ कि त्यहाँका जनताले कति उत्पिडनमा छन् । यहाँका जनताको उत्पिडनको उपचार कहाँ पाइन्छ, कि यहाँका जनताको पीडा उत्पिडनको परिभाषाभित्र पर्दैन ?

यसरी ढाल बनाइदैँछ थारु समुदायलाई
कैलालीका थारु समुदाय पक्कैपनि पछाडि परेको वर्ग हो तर, त्यसका लागि हिमाल र पहाडबाट आएका जनताभन्दा राज्य बढी जिम्मेवार छ । अहिले सुदूरपश्चिममा आर्थिक, शैक्षिक हिसाबले पछाडि परेको थारु समुदायका नाममा जसरी अहिले सम्पुर्ण सुदूरपश्चिमेलीहरुमा एकता, सद्भाव एवं भाईचाराको भावनामा टकराव ल्याइदैछ त्यो सबै नेपालीका लागि अत्यन्तै प्रत्युत्पादक हुने निश्चित छ । अहिले कसैलाई पनि पहिचान वा राज्य होइन विकास, समृद्धी दिइनुपथ्र्यो तर, यो वा त्यो वाहनामा नेपाललाई असफल राष्ट्र बनाउने खेल रचिँदैछ ।

त्यसैले पंक्तिकार सम्पुर्ण सुदूरपश्चिमबासी आम दाजुभाइ, दिदीबहिनी, प्रबुद्ध नागरिक समाज तथा सचेत युवा वर्गलाई संयमित भई धर्यधारण गर्न यसै आलेख मार्फत अपिल गर्न चाहन्छु । आज हामी भाइभाइलाई भिडाएर आफ्नो निहित स्वार्थ पुर्ती गर्नेहरु सडक र सदनमा छन् । दोस्रो संविधानसभाबाट जमानत जफत हुनेगरी नेपाली जनताबाट बहिष्कृतहरुले जनताले विश्वास गर्न छाडेपछि ५० लाखको उधारो भ्रम छरेका छन । यो हर्कत भाइ मारेर रगतको होली खेल्ने सुनियोजित चालबाट सबैले संयमता अपनाउनु जरुरी छ । थारु समुदायलाई ढाल बनाएर धमिलो पानीमा माछा मार्न बल्छी समातेर चोकचोकमा छन दुष्ट माझीहरु ।

सबैभन्दा घिनलाग्दो कुरा त के छ भने तराईलाई एउटा छुट्टै प्रदेश दिइँदा भनियो, जानकी मन्दिरको भेटीले यो प्रदेश चल्दैन, चीनसँग जोड, अब चीनसँगै जोडेर प्रदेश बनाइदा भनियो, यो थारु समुदायको भूमि हो किन पहाडसँग जोडेको ? कथित नेताहरुको यहि नालायक हर्कतबाट यिनीहरुले के चाहेका हुन् भन्ने कुरा जगजाहेर छ । यो तथ्य नै काफी छ की कसरी थारु समुदायलाई ढाल बनाई देशलाई सोमालिया र रुवाण्डाको बाटोतर्फ धकेलिँदै छ भन्ने कुरा ।

कसरी जन्मियो अखण्डको नारा :
अहिले अखण्डको नारा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टहरुको ल्याइएको हो भनिँदैछ । मानिलिउ अखण्डको नारा यी तीन नेताले ल्याए तर नेपाल खण्ड-खण्ड पार्ने संघियताको नारा कसले र कुन नेपालीलाई सोधेर ल्याइएको हो ? यो भ्रमबारे सबैले प्रष्ट हुन जरुरी छ । अखण्डको नारा कुनै शेरबहादुर, भीम रावल, लेखराज भट्ट वा रमेश लेखकले जन्माएको नभई जनतालाई दुई बर्षमा संविधान दिन्छौं भन्दै गरिब, किसान, मजदुर, भरियाको भर्याङ बनाई चार-चार बर्षसम्म सत्ता र भत्ताको आलीशान महलमा निदाउनेहरुले जन्माएको हो । पहिलो संविधानसभाको चुनाव २०६४ चैत्र २८ गते सम्पन्न भई पहिलो बैठक बसेको मिति २०६५ जेष्ठ १५ बसेको थियो ।

नेपालको अन्तरिम संबिधानको धारा ६४ बमोजिम नया संबिधान जारी गरिसक्नुपर्ने म्याद २ बर्ष । संविधानसभाको वैठक बसेको मितिले २०६७ जेष्ठ १५ नेपाली जनताले नेपालको संविधान पाइसक्नुपथ्र्यो । सत्तास्वादको उन्मादमा रमाएपछि संविधान बनाउने वाचा सबैले विर्सिए । सबैलाई जातअनुसार राज्य दिन खोजियो जसको कारण आज संघियता नै धरापमा परामा परेको छ । अखण्ड सुदुरपश्चिको आन्दोलन नेताहरुले संविधान जारी गरीसक्नुपर्ने मितिको २ वर्ष पछि अर्थात २०६९ बैसाख १३ बाट हो । २०६७ जेष्ठ १५ मै संबिधान जारी गरिदिएको भए जनताले विशुद्ध जातीय राज्य बाहेक जस्तोसुकै सिमांकनपनि स्वीकार्न तयार थिए । अनि कहाँ बाट जन्मिन्थ्यो अखण्ड र खण्डको नारा ?

निर्वाचन नै लोकतन्त्रको जननी हो । लोकतान्त्रिक मुलुकमा जुनसुकै निर्णयपनि जनताको मतद्धारा नै निक्र्यौल गरिन्छ । हिजो सुदुरपश्चिमको मौजुदा संरचना कायम राखिनुपर्छ भन्ने दलहरुलाई जनताले दुईतिहाई बहुमत दिएपछि मौजुदा संरचना खण्डित पारीनुपर्छ भन्नेहरु त्यतिबेलै अत्तालिएका थिए । निर्वाचनमा वहिष्कृत भएकै कारण उनीहरु उत्तेजक भाषण तथा पैसाको सहारा लिन बाध्य भएका हुन् ।

सुदुरपश्चिमको अन्तिम राजनीतिक निकास
त्यसैले प्रदेश नं. ७ को पहिलो मुख्यमन्त्री थारु समुदायबाट बनाइनुपर्छ र यो समुदायलाई यस प्रदेशमा राजनीतिक तथा अन्य क्षेत्रमा विषेश आरक्षणको व्यवस्था गरिनुपर्छ । यसमा चित्त नबुझे जनमतसंग्रहको विकल्पपनि खुला राखिनुपर्दछ ।

काठमाडौंको वातानुकुलित भव्य कोठामा बसेर सिंगो सुदुरपश्चिम तथा कैलाली कञ्चनपुरको निर्णय गर्ने अधिकार अब कसैलाई छैन । दोस्रो संविधानसभाको जनादेश (मौजुदा संरचना कायम राखिनुपर्छ भन्ने पक्षधर ८५ प्रतिशत), सदियाैँ देखिको दोहोरो बसाई, गरिबी, विकास बिहीनता तथा झण्डै आधा जनसंख्याको दैनिक आम्दानी १.२५ प्रतिशत पनि नभएको सुदुरपश्चिमलाई एउटा छुट्टै प्रदेश बनाउँदा उपयुक्त हुन्छ भन्ने सुदूरपश्चिममा ठुलो जनमत छ ।

दोस्रो संविधानसभाको निर्वाचन मत परिणामलाई आधार मान्दा थारु समुदायको चित्त दुख्छ भने कैलाली र कञ्चनपुरमा मौजुदा ९ जिल्लाकै संरचना कायम राख्ने वा तराईका दुई जिल्ला बाहेकको प्रदेश बनाउने भन्ने विषयमा जनमतसंग्रह गरेर टुंगो लगाइनुपर्छ । फेरि चार दलका चार नेताले कैलाली कञ्चनपुरबारे कुनै निर्णय गरेभने त्यो अर्को पक्षलाई मान्य नहुने संकेत सोमबारको घटनाले देखाइसकेको छ किनकी कैलाली कञ्चनपुरको फैसला गर्ने व्यक्ति न चार दल हुन न सद्भाव विथोल्ने बहिष्कृतहरु नै ।

अन्तमा,
सभासद अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले वर्षौदेखि मिलेर बसेका थारु पहाडी समुदायको सामाजिक सद्भाव भड्काउन टीकापुरमै भाला, तरवार लिएर भिड्न निर्देशन गरको १० औ दिनमा एसएसपी लक्ष्मण न्यौपाने मारिए, स्मरणीय रहोस् सो भाषणपश्चात कैलालीका जनताले यी तीन नेतालाई लखेट्ने भएपछि उनै लक्ष्मण न्यौपानेले सुरक्षित रुपमा टीकापुरबाट पास गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment