Comments Add Comment

पाँचवटा छोटी भन्सार अझै पुनः स्थापना हुन सकेनन्

१७ भदौ, इलाम । सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका इलाम र पाँचथरका पाँचवटा छोटी भन्सार कार्यालय अझै पुनः स्थापना हुन सकेका छैनन् ।

द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनः स्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनः स्थापना नहुँदा खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।

पाँचथरको मेमेङ, च्याङथापु, इलामको छिरुवा, हिले र बन्दुके छोटी भन्सार कार्यालय अहिलेसम्म पुनः स्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले छब्बिसे, मानेभञ्ज्याङ र तुम्लिङ पुनः स्थापित भएको पशुपतिनगर भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश पोखरेलले बताउनुभयो । छब्बिसे यसै चालु आवदेखि सञ्चालनमा ल्याइएको हो ।

स्रोतसाधन, कर्मचारी र बजेट अभावका कारण विस्थापित छोटी भन्सार कार्यालय पुनः स्थापित हुन नसकेको भन्सार अधिकृत पोखरेलको भनाइ छ । पुनः स्थापित भएका तीनवटा भन्सार कार्यालयमा समेत कर्मचारी अभावमा दुई/दुईजना खटाइएको छ । कतिपय छोटी भन्सार कार्यालय मुख्य पशुपतिनगर भन्सार कार्यालय नजिकै भएकाले समेत पुनः स्थापित नभएको बताइएको छ ।

पशुपतिनगर भन्सार कार्यालयका अनुसार दुईवटा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा एक करोड एक लाख रूपैयाँमात्र राजस्व संकलन भएको थियो । सीमा क्षेत्रमा भएका दर्जनौँ अवैध नाकाबाट व्यापारीले लुकाइछिपाई सामान भित्र्याउने गरेकाले राजस्व सङ्कलन अपेक्षाकृत हुन नसकेको भन्सार अधिकृत पोखरेल बताउँछन ।

‘व्यापारिक सामान मात्र भन्सार तिरेर ल्याउनुपर्ने र अन्य सामान चाहिँ भन्सार नतिर्दासमेत हुन्छ भन्ने सोचका कारणसमेत राजस्व असुली कम हुन गएको हो’ पोखरेलले भने- ‘तर सीमा नाकामा हुने अवैध चोरी निकासी नियन्त्रणका लागि प्रहरीसँगको सहकार्य बढाएर नियन्त्रण गर्ने प्रयासमा छौँ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment