Comments Add Comment

मधेसी मोर्चा चुनावमा जान तयार, संशोधन परिर्माजन गर्न कार्यदल गठन

८ बैशाख, काठमाडौं । संविधान संशोधन विधेयक परिर्माजन गर्दै माग सम्बोधन गर्ने सत्तारुढ दलहरुको प्रतिवद्धतापछि मधेसी मोर्चा चुनावमा जान तयार भएको छ । कुनै अनिष्ट नभए भोलि सहमति पत्रमा हस्ताक्षर हुनेछ ।

मधेसी मोर्चामा आवद्ध ६ दलले पार्टी एकता गरेकै भोलिपल्ट नयाँ समझदारी जुटेको हो । दुई चरणमा भएको वार्तामा सत्तारुढ दलहरुले संविधान संशोधन विधेयकमा मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने बचन दिएका छन् ।

पहिलो बैठकमा मोर्चाका नेताहरुले संशोधन विधेयकमा आफूहरुको चित्त बनुझेको भन्दै परिर्माजनको माग गरे । मधेसी मोर्चा एवं जनता पार्टीका नेता लक्षण लाल कर्णका अनुसार मोर्चाले धारा ७, २७४ र आयोग गठनमा परिर्माजनको माग गरेको थियो ।

दिउँसो सत्तारुढ दलहरु बैठक बसेर मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने सहमति जुटाएको छ ।

मोर्चाका नेता केशव झाका अनुसार धारा ७ को धारामा पहिलो संशोधनलाई निरन्तरता दिइनेछ । केन्द्रमा बहुभाषित नीति हुनु पर्ने अडानमा मधेसी मोर्चा लचिलो भएको छ ।

धारा २७४ को संशोधनमा सीमांकन हेरफेरका लागि सम्वन्धिक सबै प्रदेश भन्ने को सबै हटाउने सहमति जुटेको छ । साथै सीमांकन हेरफेरका लागि गठन गरिने संघीय आयोगलाई समानुपातिक समावेशी बनाउन सत्तारुढ दल सहमत भएका छन् ।

साथै स्थानीय तहको संख्या बढाउने र मन्त्रिपरिषद्बाट बाँकी माग पुरा गर्न सत्तारुढ दल सहमत भएका छन् ।

‘हामीले पहिला पनि संविधान संशोधन होस्, चुनावमा आउँछौं भनेका थियौं । अहिले पनि त्यही भनेका छौं’ नेता झाले भने, ‘सरकार संशोधन गछुृ भनेको छ, हामी चुनावमा जान तयार छौं ।’

नेताहरुका अनुसार सत्तारुढ दलहरुले स्थानीय तहको चुनाव अघि नै फास्ट ट्राकबाट परिर्माजनसहित संविधान संशोधन विधेयक पास गर्ने बचन दिएका छन् ।

मस्यौदाका लागि बन्यो कार्यदल

नेताहरुका अनुसार शुक्रबार नै सहमति गर्ने प्रयास थियो । तर, राष्ट्रपचि विद्या भण्डारी भारतबाट फर्किने भएकाले स्वागतका लागि प्रधानमन्त्री तथा मन्त्रीहरु एयरपोर्ट जानु पर्ने भएपछि सहमति शनिबारका लागि सरेको नेताहरुले बताएका छन् ।

संविधान संशोधन विधेयक परिर्माजन गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा सत्तारुढ दलहरुबाट कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् ।

कार्यदलले भोलि शनिबार विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ । ‘सरकारले गर्छु भनेको छ, त्यस अनुसार भयो भने सकारात्मक वातावरण बन्छ, मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले भने, ‘भोलि टुंगो लाग्छ ।’

चुनाव दुई चरणमा

मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर सबै दल निर्वाचनमा सहभागी हुने निर्णय लिइएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

यो सहमतिले औपचारिकता पाए चुनाव दुई चरणमा हुनेछ । किनकी स्थानीय तहको संख्या बढाउने सहमति भएको छ । यो सहमति अनुसार प्रदेश नम्बर २ का साथै ५ र १ का केही जिल्लाको स्थानीय तह हेरफेर हुनेछ ।

स्थानीय तहको संख्या र सीमा हेरफेर भएका स्थानहरुमा दोस्रो चरणमा चुनाव हुनेछ । जेठभित्रै चुनाव हुन्छ, मोर्चाका एक नेताले भनेका छन् ।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचनमा जाने वातावरण बनाउने सरकारबाट प्रतिवद्धता आएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment