५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले दुई फाइनलमा भोगेको नमिठो हारलाई बिर्सँदै नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेको छ ।
अघिल्ला दुई संस्करणमा शानदार प्रदर्शन गर्दै फाइनलमा पुगेपनि सुदूरपश्चिम उपाधिबाट वञ्चित रहँदै आएको थियो । यसपटक अघिल्लो संस्करणको फाइनल र जारी संस्करणको लिग चरण र पहिलो क्वालिफायर खेलमा भोगेको हारको बदला लिँदै सुदूरपश्चिमले शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।
टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा ओपनर ब्याटर जर्ज मन्से नायक रहे । उनले ५४ बलमा १२५ रनको विशाल पारी खेले । जसमा ८ चौका र १२ छक्का सामेल छन् ।
उनलाई अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन बनाएर साथ दिएका थिए ।

सुदूरपश्चिमले यो जितसँगै उपाधिमाथि कब्जा जमाएको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा आयोजित विशेष समारोहकाबीच नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई एनपीएलको ट्रफी हस्तान्तरण गरे ।
ट्रफी उचालेसँगै सुदूरपश्चिमका खेलाडी, प्रशिक्षक तथा सपोर्टिङ स्टाफ र व्यवस्थापकीय पक्षले मैदानमै खुसीयाली मनाएका छन् ।















तस्वीरहरू : कमल प्रसाईँ र विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4