Comments Add Comment

उपत्यकामा १२ सिट जित्ने एमाओवादीको दावी

१३ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले काठमाडौं उपत्यकामा १२ सिट जित्ने दावी गरेको छ । यससँगै देशभरमा कुल १ सय ३० सिट जित्ने उसले बताएको छ ।

ccm-meeting-maoistपार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा एक महिने चुनावी अभियानको रिपोर्टिङ गर्दै नेताहरुले काठमाडौंको क्षेत्र नम्बर ८ र भक्तपुरको क्षेत्र नम्बर २ मा गाह्रो भएको बताएका छन् । ‘काठमाडौंमा १२ सिट जितिन्छ भन्ने रिपोर्टिङ भएको छ’ नेवा रान्य समिति इन्चार्ज देवेन्द्र पौडेलले अनलाइनखबरसँग भन्नुभयो-‘काठमाडौंको १ मा अलिकति जोड दिनुपर्ने भन्ने छ । ८ नम्बरमा गाह्रो र भक्तपुरको २ नम्बर क्षेत्रमा गाह्रो भन्ने रिपोर्टिङ भएको छ ।’ ललितपुरको तीन वटै क्षेत्र जित्ने एमाओवादी नेताहरुको दावी छ ।

काठमाडौं क्षेत्र नम्बर ८ मा अघिल्लो संविधानसभा चुनावमा कांग्रेसका नविन्द्रराज जोशी निर्वाचित हुनु भएको थियो भने क्षेत्र नम्बर १ मा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह विजयी हुनु भएको थियो । यस्तै भक्तपुर २ मा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहिच विजयी हुनु भएको थियो । अघिल्लो चुनावमा माओवादीले काठमाडौंमा ७ सिट जितेको थियो ।

यस्तै चितवनको क्षेत्र नम्बर १ मा केही गाह्रो भएको तर, अन्य सबै क्षेत्र जित्ने माओवादी नेताहरुले दावी गरेका छन् । बिहीबारको बैठकमा नेवाः, ताम्सालिङ, किराँत र लिम्बुवान राज्य समितिको रिपोर्टिङ भएको छ । पार्टीको समग्र अवस्था उत्साहजनक रहेको र जनताले एमाओवादीलाई नै विश्वासिलो शक्तिको रुपमा लिएको भन्दै माओवादीले अधिकांश जिल्लामा पार्टीको विजय सुनिश्चित रहेको दावी गरेका छन् ।

पार्टी फुटको असर कहीँकतै पनि नपरेको देखिएको प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । “जनताको विश्वास अझै पनि एमाओवादी नै रहेको छ, जनताले परिवर्तनका एजेन्डालाई संस्थागत गर्न एमाओवादी नै विजयी हुनुपर्ने धारणा राखेका छन्, पार्टीले जनताको सोही धारणा र विश्वासलाई स्वागत गर्दै सोहीअनुरुप अगाडि बढ्ने विश्वास दिलाउँछ,” प्रवक्ता सापकोटाले भन्नुभयो ।

पार्टी फुटको कहीँकतै मनोवैज्ञानिक असर रहेको भएपनि पछिल्ला दिनमा एमाओवादीप्रति बढेको जनआर्कषण र प्रवेशले त्यसको क्षतिपूर्ति भएकोसमेत उहाँले जानकारी दिनुभयो ।

इतिहासकै लामो रिपोर्टिङ

एकीकृत नेकपा माओवादीले जारी केन्द्रीय समितिको बैठकमा देशका २ सय ४० वटै निर्वाचन क्षेत्रबाट आएका स्थलगत रिपोर्टिङलाई नेपाली राजनीतिक इतिहासको सबैभन्दा ठूलो र लामो रिपोर्टिङ भएको जनाएको छ । मंगलबारबाट सुरुभएको बैठकमा २ सय ४० जना केन्द्रीय सदस्य र सल्लाहकारहरुले देशका सबै निर्वाचन क्षेत्रहरुको स्थलगत रिपोर्ट प्रस्तुत गरेका थिए ।

तीन दिन लामो रिपोर्टिङ सकिएपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो, ‘जनवादको अभ्यास र देशको समग्र परिस्थिति बुझ्ने हिसावले रिपोर्टिङ बहुआयमिक महत्वको भएको छ ।’

रिपोर्टका आधारमा पार्टीले आगामी संविधान सभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने प्रबल सम्भावना देखिएको सापकोटाको दाबी छ । उहाँले रिपोर्टिङको समग्र संश्लेषण अध्यक्ष प्रचण्डबाट हुन बाँकी नै रहेको बताउनुभयो । अर्को बैठक गते शनिबार बस्ने सापकोटाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment