Comments Add Comment

संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

४ जेठ, काठमाडौं । सिराहाको लहान घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको सोमबार साँझ निधन भयो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि वैशाख २५ गतेदेखि उनी होम आइसोलेसनमा बसेका थिए । तर सोमबार साँझ एक्कासी सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उनको त्यहीँ मृत्यु भयो ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार डा. चौधरीको मृत्युपछि एन्टिजेन परीक्षण गरिएको थियो । रिपोर्ट भने नेगेटिभ आएको छ ।

यादवका अनुसार आफैं चिकित्सक भएका कारण उनले घरमै बसेर औषधि सेवन गरिरहेका थिए । तर उनले कोरोना परीक्षण गराएका थिएनन् । चीनमा एमबीबीएस पढेका डा. चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् ।

३५ वर्षीय चिकित्सक चौधरीले गण्डकी मेडिकल कलेज, कन्काई हस्पिटल प्रालि, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होममा काम गरिसकेका थिए । पछिल्लो समय उनले लहान पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टर सञ्चालन गरेका थिए ।

हाडजोर्नी विशेषज्ञ भएपनि उनी कोरोना महामारीको समयमा कोभिड-१९ का बिरामीको उपचारमा संलग्न थिए । एक चिकित्सकका अनुसार पछिल्लो समय उनले सरकारी र निजी अस्पतालमा खटिएर कोभिडका बिरामीहरुको उपचार गर्दै आइरहेका थिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले महामारीको समयमा अग्रमोर्चामा खटिने चिकित्सकको मृत्यु हुनु दुःखद् भएको बताए ।

‘अहिले देशभरका अस्पतालहरुमा बेडसहित अक्सिजन अभाव छ,’ उनले भने, ‘अभावै अभाव झेलेर चिकित्सकहरुले संक्रमितहरुको ज्यान बचाइरहेका छन् । त्यसैले सरकारले चिकित्सकहरुको स्वास्थ्य सुरक्षाको जिम्मा लिएर मनोवल उच्च बनाउन सक्नुपर्छ ।’

(नोट : केही समय अघि डा. चौधरीले सामाजिक सञ्जालमा लेखेका स्टाटस भुलवश राखिएको प्रति क्षमाप्रार्थी छौं । सम.) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment