Comments Add Comment
राष्ट्रियसभा निर्वाचन :

पार्टी उम्मेदवारलाई मतदान नगरे क्षम्य हुँदैनः प्रधानमन्त्री ओली

५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।

बादल एमालेको उम्मेदवार भएकाले पार्टी निर्णय बिपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् । पार्टी उम्मेदवारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।

‘…पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, ओलीले उल्लेख गरेका छन् ।

एमालेभित्र देखिएको विवाद हल गर्ने प्रक्रियासँग समेत ओलीले बादलको उम्मेदवारीलाई जोडेका छन् । कार्यदल बनेर काम सुरु भइसकेको अवस्थामा बादलको उम्मेदवारीलाई चासोका साथ हेरिएको उनको भनाइ छ । ‘अहिले पार्टीभित्र देखापरेका समस्याको समधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो’, ओलीले लेखेका छन् ।

नेकपाको बिरासत पनि बादलको उम्मेदवारीले बोक्ने उल्लेख गरिएको छ । ‘कतिपय नेताका अवसरवादी एवम् विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ’, अपिलमा लेखिएको छ ।

पुनर्स्थापित एमालेका निम्ति यो उपनिर्वाचनको विशेष महत्व रहेको पनि अपिलमा उल्लेख छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले बादललाई मतदान गर्न मंगलवार नै आह्वान गरेका थिए । तर फेरि अध्यक्ष ओलीले पनि वक्तव्य जारी गरेका छन् ।

बागमती प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रियसभा निर्वाचनमा बादलको प्रतिस्पर्धी एमालेकै खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ पनि उम्मेदवार छन् । देवकोटा माधव नेपाल निकट हुन् । एमालेभित्रको विवाद नमिल्दै देवकोटा विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment