Comments Add Comment

छोराबुहारीलाई कोराेना संक्रमण, आमाको अन्त्येष्टिमा अवरोध

शव व्यवस्थापनलाई लिएर दुई गाउँबीच दिनभर तनाव

५ जेठ, पोखरा । छोराबुहारीमा कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट ९३ वर्षीया आमाको मृत्यु भयो । दुई वर्षदेखि दीर्घ रोगले थलिएकी आमाको मृत्युपछि अन्त्येष्टिमा आफन्तहरु बेलैमा आएनन् । केही मनकारी छिमेकीले घाटमा शव जलाउने तयारी गर्दा अर्को गाउँका स्थानीयले अवरोध गरे । दिनभर तनाव भयो र अन्ततः आफ्नै घर अगाडि खाल्डो खनेर पुर्नुपर्ने स्थिति सिर्जना भयो ।

यो घटना हो, स्याङ्जा आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबास पोखराचौरकोे । सोमबार गाउँका तीन जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित हुनेमा एक परिवारका श्रीमान् श्रीमती र अर्का एक थिए ।

संक्रमित श्रीमान् श्रीमतीकी ९३ वर्षीया आमाको मंगलबार निधन भयो, जो दीर्घरोगी थिइन् । आफूहरुमा संक्रमण देखिएकै कारण आमाको शव व्यवस्थापनमै अवरोध सिर्जना भएपछि मातृ शोकमा परेका छोराबुहारी विक्षिप्त बनेका छन् ।

पोखराचौरदेखि सधैं शव जलाउने घाट आँधीखोला किनारमा लैजाने तयारी हुँदै थियो । छिमेकीले ट्याक्टरमा दाउरा हालेर घाटतर्फ लैजाँदै थिए, वडा नम्बर ५ सेपत गाउँका बासिन्दा आए र कोरोना सर्नसक्ने भन्दै जलाउन नदिने अड्डी कसे ।

‘आमा तीन वर्षदेखि रोगले थलिनुभएको थियो । हामीलाई कोरोना देखिएको भोलिपल्ट बित्नुभयो । छिमेकीले शव जलाउन आँधीखोला किनारमै जैलान लाग्दा सेपत गाउँकाले जलाउन दिएनन्’ सासूआमाको किरिया बसिरहेकी बुहारी चन्द्रकलाले भनिन्, ‘कोरोना संक्रमणबाट मृत्यु भएको हुनसक्छ । हावाबाट कोरोना सर्नसक्छ, जलाउन दिन्नम् भनेर रोकेछन् ।’

आफूहरु संक्रमित भएकै कारण मृतक आमाको अन्त्येष्टिमा भएको अवरोधले मनै विक्षिप्त भएको सुनाइन् । ‘पीडामाथि पीडा थपियो । गाउँमा रमिता भयो र टुलुटुलु हेर्न बाध्य भयौं’ बुहारी चन्द्रकलाले अनलाइनखबरसँग भनिन् ।

घाटमा जलाउन नदिने बताएपछि खोला किनारमै पुर्न खाल्डो खन्न खोजे । त्यसमा पनि अवरोध भयो । ‘जलाउन दिन्नम् भनेपछि शव गाड्न खनेको खाल्डो पनि पुर्न बाध्य पारे’ एक छिमेकी भन्छन्, ‘साह्रै अमानवीय व्यवहार देखियो । केही सीप नलागेपछि घरदेखि केही तल ल्याएर गाड्नुपर्‍यो ।’

गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य चौकीका कर्मचारीले पीपीई लगाएर शव व्यवस्थापन गरे ।

छोराबुहारीमा कोरोना संक्रमण देखिएकाले मृतकलाई पनि संक्रमण भएको हुनसक्ने स्थानीयवासीमा आशंका थियो । त्यही कारण गाउँलेले बाटो छेक्ने, अन्त्येष्टि गर्न नदिने र गाड्न समेत रोकेको वडाका जनप्रतिनिधि बताउँछन् । ‘शव जलाउने घाट देखाउन म आफैं पनि गएको थिएँ । आँधीखोलामा माछा मार्न पुगेका केटाकेटीले हल्लाखल्ला गरेपछि गाउँलेको ठूलो भीड जम्मा भयो । प्रहरीले आग्रह गर्दा ट्याक्टरै जलाउने बताए’ वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘जलाउन नदिए पुरौं भनेर खाल्टो खनियो, तर त्यहाँ पनि गाड्न सकिने अवस्था बनेन ।’

बिहान ७ बजेदेखि शव व्यवस्थापनमा जुटेका गाउँलले बेलुका ७ बजेमात्रै गाउँलेकै पाखोमा शव गाडेका छन् । वडाध्यक्ष पौडेलले पीडा र दुःखमा अमानवीय र घृणित व्यवहार भएको बताए । प्रहरी प्रशासनको प्रयोग गरेर शव व्यवस्थापन गर्न पनि आफ्नै गाउँ भएकाले नसकिएको उनको भनाइ थियो ।

शव व्यवस्थापनमा अवरोध गर्ने गाउँ वडा नम्बर ४ मा पर्छ, जहाँका वडाध्यक्ष चिन्तामणि पौडेल पनि बुधबारको घटनाले गलत सन्देश गएको बताए । ‘म आफैं मुटुको समस्या भएकाले जान पाइनँ । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको र शंकास्पद रुपमा धेरैको मृत्यु पनि भएकाले धेरै जना डराएकाले घटना घटेछ’ वडाध्यक्ष पौडेलले भने, ‘जे भयो, त्यो राम्रो भएन ।’

विरोध गर्ने गाउँमा अर्को घटना

शव जलाउन र गाड्न समेत नदिएको गाउँ सेपतमा ५ दिनअघि एक व्यक्तिको मृत्यु भएको थियो । उनको पीसीआर नगरे पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको गाउँले बताउँछन् । उनको पर्वत मोदीवेणी घाटमा धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । २१ जना मलामी गएका थिए । उनीहरुमध्ये केहीमा कोरोना संक्रमण देखिएपछि गाउँले त्रसित बनेका थिए ।

त्यही त्रासका कारण सेपतवासीले आँधीखोलामा शव व्यवस्थापन गर्न अवरोध गरेपछि पाेखराचौरवासीले गाउँकै पाखोमा शव व्यवस्थापन गरे ।

त्यही साँझ सेपतकी एक महिलाको मृत्यु भयो । स्थानीयले खाल्डो खनेर शव पुरेका छन् । ‘दिउँसो विरोध गरे । बेलुका त्यही गाउँमा मृत्यु भएकी महिलामा पनि कोरोनाको शंका भयो र खाल्डो खनेर पुर्ने काम भएछ’ सोही वडाका वडाध्यक्ष चिन्तामणिले भने, ‘अहिले गाउँ नै त्रसित अवस्थामा छ ।’

गाउँमा भएको बुधबारको घटनाले नराम्रो सन्देश गएको स्थानीय देवेन्द्र ढकालले बताए । संकटको बेला पनि कोरोनाको नाममा राजनीति भएको उनको भनाइ छ । ‘अहिले संक्रमणबाट जोगिन सबै सतर्क भएर बसौं, बाँचिएछ भने राजनीति गर्दै गरौंला नि ! हाम्रो जस्तो अत्यन्तै शिक्षित र नेपालमै सकारात्मक दृष्टिकोणले प्रख्यात समाज राजनीतिक कुराले यति ठूलो चिरा परेको होला भन्ने कल्पनासम्म थिएन, के मानवीयता हराएकै हो त ?’ ढकालले भने, ‘सामाजिक सम्बन्धभन्दा ठूलो राजनीति हो र ? एकपटक सबैले सोचौं त । यस्तो विपत्मा एकले अर्कालाई सहयोग गरौं ।’

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले कोरोना परीक्षण नभएको र सुरक्षित रुपमा शव व्यवस्थापन गर्न खोज्दा तनाव भएको बताए । ‘पालिकाले समन्वय गर्दा गर्दै अवरोध गर्नुपर्ने कारण थिएन’, उनले भने ।

गाउँपालिका अध्यक्ष भन्छन् : डर र बढ्दो संक्रमणको उपज

गाउँपालिका अध्यक्ष सुधिर पौडेलका अनुसार पछिल्लो समय पालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । प्रत्येक दिनजसो संक्रमित थपिएका छन् । कोरोना परीक्षण नभएका, तर मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिको मृत्यु हुने क्रम बढिरहेका बेला बुधबारको घटना घटेको पौडेलले बताए ।

‘कोरोना परीक्षण गरेर पोजेटिभ आएको व्यक्तिको मृत्यु भए नेपाली सेनाले शव व्यवस्थापन गर्थ्यो । परीक्षण नभएको व्यक्तिको मृत्यु भएको सुरक्षा मापदण्ड अपनाएर शव व्यवस्थापन गर्नुपर्ने भयो’ पालिका अध्यक्ष पौडेलले भने, ‘कोरोनाको डर र बढिरहेको संक्रमणको दरले तनाव उत्पन्न गराएको हो ।’

पालिकाको समन्वयमा विवाद मिलाउनेदेखि शव व्यवस्थापनसम्म गरेको अध्यक्ष पौडेलले बताए । ‘गाउँपालिकाकै स्वास्थ्यकर्मीले पीपीई लगाएर घर नजिकै शव पुरेको हो । जुन गाउँका मान्छेले विरोध गरे, साँझ त्यही गाउँमा पनि दुःखद घटना भएछ’ अध्यक्ष पौडेलले भने, ‘गाउँमा भएको विवादमा बल प्रयोग गर्न पनि मिलेन र विकल्प खोज्दै समस्या समाधान गरियो ।’

उनका अनुसार पोखराचौर र सेपतका ५० जनाभन्दा बढीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । अहिले आँधीखोला गाउँपालिकामा मात्र ७० जना कोरोना संक्रमित रहेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment