Comments Add Comment

नाफाखोर निगमः घाटा देखाएर महामारीमा इन्धनको मूल्यवृद्धि

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २‍-२ रुपैयाँ मूल्य बढायो । महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’ वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण अहिले निगमको बिक्री सामान्य अवस्थाको जस्तो छैन । महामारीमा पनि माग थोरै मात्र घटेकोले एलपीजी ग्यासमा भने १५ दिनमा करिब ५४ करोड घाटा हुने देखिन्छ ।

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर ८.५६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४.४६ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा छ । तर, महामारी नियन्त्रण गर्न जिल्लाहरुमा जारी निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थ (तेल)को माग खुम्चिएको छ । निगमले पुरानै माग र आपूर्तिको आधारमा हिसाब गरेर धेरै घाटा हुने देखाएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार अहिले डिजेलेको बिक्री ५० प्रतिशत घटेको छ । निषेधाज्ञाअघि दैनिक ७ हजार किलोलिटरभन्दा बढी बिक्री हुने डिजेल अहिले ४ हजारदेखि ४२ सय किलोलिटरसम्म झरेको उनले बताए ।

त्यसैगरी पेट्रोलको बिक्री पनि ५० देखि ६० प्रतिशत कम भएको छ । सामान्य अवस्थामा २५ सय किलोमिटरसम्म बिक्री हुने पेट्रोल अहिले १०० देखि १२ सय किलोलिटर बिक्री भइरहेको छ । १६ वैशाखमा निषेधाज्ञा लागू भएपछि निगमले १९ गते विज्ञप्ति निकालेर ‘१०० करोड घाटा लाग्ने अवस्था रहेपनि नागरिक हितका लागि मूल्य समायोजन नगर्ने’ भनेको थियो । निगमका अनुसार, त्यसबेला पेट्रोलमा प्रतिलिटर ८.७६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा थियो । जबकि, डिजेल र पेट्रोलको माग घटिसकेकाले त्यसबेला पनि निगमलाई १५ दिनमा १०० करोड घाटा हुने अवस्था थिएन ।

निषेधाज्ञा सुरु हुनुअघि भाउ बढाउँदा जारी गरेको विज्ञप्तिले पनि निगमको ‘डाटा मेनुपुलेसन’लाई पुष्टि गर्छ । वैशाख २ गते निगमले मूल्य बढाउँदै पाक्षिक घाटा ७० करोड ६६ लाख रहेको बताएको थियो । त्यतिबेला निगमले पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ०.४४ र ग्यासमा प्रतिसिलिन्डर ४१८.१३ रुपैयाँ घाटा रहेको बताएको थियो ।

त्यसबेला निगमले सामान्य बिक्रीको अवस्थामा भयावह घाटा हुने भन्दै मूल्य बढाएको थियो । निगमका प्रवक्ता उपाध्याय भन्छन्, ‘सामान्य अवस्थामा ११० करोड घाटा हुन्छ भनेका हौं, अहिले तेल बिक्री घटे अनुसारै प्रक्षेपित घाटाको मात्रा पनि घट्छ ।’ निषेधाज्ञा कहिलेबाट खुल्छ भनेर अनुमान लगाउन नसकिने भएकाले सामान्य अवस्थाको बिक्रीकै हिसाब गरेर घाटा प्रक्षेपण गरेको उनले बताए ।

निगमले पेट्रोलियम पदार्थमा भएको घाटा पूर्ति भने मूल्य स्थिरीकरण कोषबाट गर्दै आएको छ । यो कोषमा उपभोक्ताबाट असुलिएको शुल्क नै जम्मा हुन्छ ।

लकडाउनमा निगमलाई चाँदी कटाई

निगमले यसपटक निषेधाज्ञामा पेट्रोलियम पदार्थको भाउ बढायो । गत वर्षको लकडाउनमा भने नियमित मूल्य समायोजन समेत गरेन । कारण थियो– विश्वबजारमा तेलको मूल्य हालसम्मकै कम बिन्दुमा झर्नु । विश्वबजारमा तेलको भाउ धेरै घट्दा पनि नेपाल नघटेपछि आयल निगमको ‘बनियागिरी’माथि प्रश्न उठेको थियो ।

२०७७ वैशाख अन्तिम साता अनलाइनखबरसँगको अन्तर्वार्तामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘लकडाउनमा मूल्य घटाउँदा जनताले फाइदा पाउँदैनन्, यस्तो अवस्थामा कसका लागि मूल्य घटाउनु ?’

लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो । निगमले त्यही समयमा करिब ३ अर्ब नाफा कमाएको थियो । विश्व बजारमा लगातार मूल्य घटिरहँदा पनि निगमले नेपालमा खपत कम भएको कुतर्क गर्दै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको थिएन । निगमले मूल्य समायोजन हुनपर्ने मागलाई पूरै बेवास्ता गरेको थियो ।

विश्व बजारमा तेलको भाउ बढ्दै गएपछि निगमले त्यहीअनुसार मूल्य बढाउँदै लग्यो । त्यसकै आधारमा निगमले गत वर्ष १२ अर्ब ९१ करोड ४८ लाख खुद नाफा कमायो । कर्मचारीका लागि १७ करोड ४२ लाख बोनस पनि छुट्यायो । अहिले निगमको खातामा करिब ३ अर्ब ४७ करोड ३२ लाख रुपैयाँ बोनस रकम थुप्रिएर बसेको छ ।

निगमले चालु आर्थिक वर्षको ११ महिनामा १४ पटक मुल्य समायोजन गरेकोमा १२ पटक भाउ बढ्यो भने तीन पटक स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment