यो देश बाहेक म होइन केही
मेरो यही पूर्ण जवाफदेही
– युग कवि सिद्धिचरण श्रेष्ठ
सिद्धिचरणका जेल संस्मरण नामक यो पुस्तक २०८२ जेठ महिनामा प्रकाशित भएको हो । पुस्तक प्रकाशित भएदेखि नै मलाई पढ्ने हुटहुटी भित्रैदेखि जागेको थियो ।
खासमा, म त्यतिबेला राणाको जेलमा सबैभन्दा लामो समय भुक्तान गरेर सकुशल निस्किएका खडगमान सिंहको ‘जेलमा २० वर्ष’, राणा जेल जीवन व्यतित गरेका जीवराज शर्माको ‘नेपालको राजनीतिक हलचल’ र दमनराज तुलाधरको ‘दमनराज तुलाधर’ समानान्तर शैलीमा पढ्दै थिएँ ।
सोही कालखण्डमा एउटै जेलमा परेका मानिसहरूको टिपोट, डायरी, संस्मरण र आत्मकथाको तुलनात्मक अध्ययन गर्ने रुचिका कारण मलाई यो पुस्तक पढ्न मन लागेको थियो । त्योभन्दा ज्यादा, मातृकाप्रसाद कोइरालाको अप्रकाशित चिठीपत्र कागजातहरूको संकलनको सम्पादनका क्रममा राणाकालको आखिरतिर जागरणमा लागेका युवकहरूलाई जेलभित्र र बाहिर गरिएको दमनका बारेमा नजिकबाट पढ्न इच्छुक थिएँ । (मातृकाप्रसाद कोइरालाको उक्त सङ्कलन ‘बीपी, मातृका, दरबार र दिल्ली’ शीर्षकमा शिखा बुक्सबाट प्रकाशित भएको छ )।
दशैँमा मैले सिद्धिचरणको उक्त पुस्तक केही पुस्तक पसलमा खोजेँ तर भेटिन । यसका प्रकाशक बुक हिलका मालिक मित्र भूपेन्द्रलाई गुहार गर्दा समेत उनले मलाई यो पुस्तक टक्राउन सकेनन् । उनले मलाई सुशीला कार्कीको न्याय र सीमा आभासको महायुग उपहार स्वरूप दिएका थिए ।
मेरो मनपर्ने पुस्तक पसल मण्डला बुक्समा हिरने नाम गरेका स्टाफ छन् । उनी मेरो रुचिको किताब हतपत सुझाउन माहिर छन् र मैले खोजेका किताब जसरी हुन्छ टकारी हाल्छन् । दशैँमा फेला नपरेको किताब तिहार अगाडि फेला पर्यो, त्यो पनि लक्ष्मी पूजाको दिनमा । काठमाडौँमा रहँदा मैले लक्ष्मी पूजाको दिन सधैँ पुस्तक पसल पुगेको हुन्छु, कुनै नयाँ किताब खरिद गर्न । यसरी मैले यमापञ्चकका दिनहरूमा ‘सिद्धिचरणका जेल संस्मरण’ दुई बसाइमा पढी सिध्याएँ ।
म त सुरुमा झुक्किएको थिएँ । यस पुस्तकलाई मैले सिद्धिचरणको जेल डायरी भन्ठानेको थिएँ । बीपी कोइरालाका जेल डायरीहरू पढ्दा र सम्पादन गर्दा मैले पक्कै पनि सिद्धिचरण जेल पर्दाका डायरी होलान् भन्ठानेर एकतमासले भ्रमित भएको हुँदो हुँ । खासमा यी संस्मरण रहेछन् । यस पुस्तकका सम्पादक सरुभक्तले पुस्तकको भूमिकामा संस्मरण, डायरी र आत्मकथाका अन्तरका बारेमा अत्यन्त मिहिन शैलीबाट प्राज्ञिक तहमै उल्लेख गरेका छन् । यसको केही बान्की यहाँ उद्धरण गर्न चाहन्छु:
“संस्मरण छरिएको आत्मकथा हो । कुनै घटना, व्यक्ति वा स्थानसित प्रत्यक्ष सम्बन्धित भई अथवा अप्रत्यक्ष सम्बन्ध अनुभव गर्दै निजानुभूति अभिव्यक्त गरिने आत्मनिष्ठ रचना नै संस्मरण हो । यो वर्तमानमा उभिएर, भविष्यतिर फर्किएर लेखिन्छ । त्यसैले यो अतितको सामान्य रूपरेखा होइन । संस्मरण बुढेसकालको गफ होइन ।
वैयक्तिकता र आत्मपरकता अन्तर्निहित रचना विशेष मानिने संस्मरण रचना गर्दा संस्मरणकारहरू अवयक्तिक र अनात्मपरक निरपेक्षताको शैली पनि विकसित गर्न सक्छन् । वस्तुतः सर्जकको सिर्जनात्मक अहमचेतनाले नै रचनागत वैयक्तिकता र कलात्मकताको स्वरूप निर्धारण गर्दछ । आत्मकथाकार र संस्मरणकारहरू सबभन्दा बढी स्वतन्त्र हुन्छन् त्यसैले सबभन्दा बढी जोखिममा पर्दछन् । सीमाहीन स्वतन्त्रतामा अन्त्यहीन खतरा हुन्छ ।”
‘सापेक्ष’ शीर्षकको सरुभक्तको सम्पादकीय भनूँ या भूमिका बेजोड छ ।
सम्वत् १९९७ साल कार्तिक २ गते अर्थात् कोजाग्रत पूर्णिमाको भोलिपल्ट पहिलेदेखि नै नजरबन्दमा पर्नुभएका पिता र नौ महिनाकी गर्भवती दुलहीका सामुन्नेबाट घरमा खानतलासी भएर उनका र पिताजीको लेखोटका एक होइन अनेक बोरासहित कवि सिद्धिचरण श्रेष्ठ पक्राउ गरिएका थिए । कविता लेखेकै भरमा १८ वर्ष जेल सजाय पाएका कवि सिद्धिचरण श्रेष्ठ पाँच वर्षपछि सम्वत् २००२ मा कालकोठरीबाट मुक्त भए । यो पुस्तक त्यही पाँच वर्ष अवधिको संस्मरण हो ।
यो पुस्तक पढ्दा ममा विभिन्न खाले भावनाहरू बौछार भएर आए । सिद्धिचरणका कविता सङ्ग्रहहरू मेरो सङ्कलनमा भए पनि मैले उनका कविताहरूलाई त्यति गम्भीरतापूर्वक पढेको थिइनँ । उनले महात्मा गान्धीको बारेमा लेखेको कविता भने मैले धेरै ठाउँमा उद्धरण पनि गरेको छु । ‘मेरो प्रतिबिम्ब’ कविता सङ्ग्रहमा उक्त कविता छ । ‘मेरो प्यारो ओखलढुंगा’ भने मलाई कण्ठस्थ छ । नारायणगोपालको जादुई स्वरसँग एकाकार हुन पुगेर ठाउँ विशेषको गाथा, आफ्नो जन्मभूमिप्रति नोस्टाल्जिक हुने जो कोहीलाई त्यो एउटा अप्रतिम कविता छ ।
वि.सं. १९९० को दशकमा कस्ता पृष्ठभूमिका नवयुवकहरू राणाशाहीको अन्त्यका लागि लागेका थिए, सङ्गठित भएका थिए र एक्सनमा गएका थिए । त्यो एक्सनका लागि उनीहरूले के के गरे र प्रतिफल स्वरूप के के भुक्तान गर्नुपर्यो- जेलनेल र प्राणको बाजी समेत लाउनुपर्यो । त्यो सबै कुरा यो संस्मरणमा सिनेमाको रिल घुमे जस्तै घुमेका छन् ।
मलाई यो संस्मरणका तीन कुराले विशेष प्रभाव पारे:
पहिलो, उनलाई घरमा पक्राउ गर्न आउँदाको दृश्यको वर्णन हो । एउटा सिद्ध हस्त कविको संवेदनशील हृदय यो संस्मरणमा यत्रतत्र सर्वत्र पोखिएको छ । शक्तिशाली लेखाइको तागतले पहिलो पृष्ठबाटै पाठकलाई आकृष्ट गर्दछ ।
दोस्रो, गङ्गालाल श्रेष्ठको बारेमा लेखिएको लामो लेख पढ्दा मैले हालै मात्र शिल्पी थिएटरमा हेरेको गङ्गालाल सम्बन्धी नाटक सम्झाइदियो । त्यो गङ्गालाल सम्बन्धी नाटकमा त्यस नाटकका मुख्य पात्रले बडो दमदार अभिनय गरेका थिए ।
तेस्रो, राममाया च्यामिनीको कथा पढ्दा मैले आँखाबाट आँसु नियन्त्रण गर्न सकिनँ ।
विशेष गरी चार सहिदमध्ये काठमाडौँमा आफ्ना नजिकका आफन्त नभएका दशरथ चन्दले राममायासँग गरेका संवाद-
“यहाँ मेरा साथीहरूको घर त छ तर मेरो घर पुग्नलाई महिना लाग्छ । मेरो लागि रुने कोही छैन । राममाया, तिमी दाइ दशरथ चन्द भनेर एकछिन भए पनि रोइदिनु है ।”
यो कुरा सुनेर आँसु थाम्न नै सकिनँ । म रोएको देखेर दशरथ चन्दले भनेका थिए- “राममाया नरोऊ,… ले देख्यो भने तिमीलाई पनि मलाई जस्तै मार्न लगाउने छ ।”
त्यसो त गणेशमानको परोपकारी व्यक्तित्व, विशेषगरी बिरामी र असक्त साथीभाइको स्याहारसुसार गर्ने उनको आनीबानीको मिहिन चित्रण पनि यो पुस्तकमा छ । उनी जेलबाट भाग्न सफल भएको कथा त भन्नु परेन ।
बीपीको आत्मवृतान्तमा र जेल जर्नलमा पनि गणेशमान सिंहको रोचक आदतहरू- अक्सफोर्ड डिक्सनरी कण्ठ पार्न गरेको कोसिस, जेलभित्रका साथीभाइहरूले जानेका शब्दहरूको सङ्कलनजस्ता अनेक कुराहरू छन् । कति लगनले उनले यस्ता कुराहरू गर्थे । उनको स्मरण शक्ति त्यसै अद्भुत भएको रहेनछ । गोपी च्यामे, जसको बारेमा ‘गोपीचा’ नाम गरेको उपन्यास समेत लेखिएको छ । धर्मरत्न एमीको चित्रण पनि रोचकै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने पहिलो नेपाली चुडा प्रसाद उपाध्यायबारेको संस्मरण पनि विशेष छ । अग्रज शिक्षा सेवी चिनियालाल सिंह र सुप्रसिद्ध नेवारी कवि चित्तधर हृदयका बारेमा उनले मुटु निचोरेर लेखेको प्रतीत हुन्छ ।
३२ जना राजबन्दीहरू पक्राउ परेपछि सुन्धारामा भएको भद्रगोल जेल अर्थात् गोलघरमा कालकोठरीको भवन नयाँ बनाएको र त्यति नै बेला कम्पाउन्डिङ गरेको, जेल वरिपरि पर्खाल लगाएको , त्यस्ता अनेक प्रसङ्ग पनि छन् । त्यस मानेमा जेल निर्माण र विस्तारको कथा पनि यो पुस्तकमा छ ।
भर्खरै नेपालमा जेनजी पुस्ताले अर्थात् यो युगका नवयुवकहरूले विद्रोह गरेका छन् । झन्डै सत्ताप्लटको माहोल छ । ती नवयुवाहरूले सरकारमा आफ्नो हजुरआमा पुस्तालाई र बुवा पुस्तालाई सिफारिस गरे । अन्तरिम सरकारले चुनावको लागि आह्वान गरेको छ । तर उनीहरूसँग त्यसमा भाग लिने एजेन्सी छैन, दल छैन । व्यवस्थित जरो र घोषित नेता नभएको आन्दोलन, डिजिटल युगको आन्दोलन, २००७ को आदिम क्रान्तिमा भाग लिने युवाहरूको मनोदशा तुलना गरेर म सोचमग्न भएको छु ।
सात सालको क्रान्तिलगत्तै प्रजापरिषद् सरकारमा सहभागी हुन पाएको थिएन । प्रजापरिषद्को उत्पादन गणेशमान सिंह नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी थिए । प्रजापरिषद्का नेता टंक प्रसाद आचार्य पछि नेपालको प्रधानमन्त्री समेत बने ।
प्रदर्शन वा आन्दोलनमा लाग्ने बित्तिकै मन्त्री वा प्रधानमन्त्री हुनैपर्छ बन्नैपर्छ भन्ने छैन । तर समय क्रममा लगन र मेहनतले सत्ताको सिँढीमा नवयुवकहरूलाई आवश्यकता अनुसार उकाल्छ भन्ने कुरा इतिहासबाट पाठ सिक्न सकिन्छ ।
सम्झौताहीन क्रान्तिको लागि प्रण गरेका युवकहरूले सत्ताको लागि छिनाझम्टी गरेको सुहाउँदो रहेनछ । ती गङ्गालाल, ती धर्मभक्त, ती सुकराज र ती दशरथ उनीहरू सहिद बन्नुअगावै आन्दोलनको तहतमा काठमाडौँका घरघर गल्लीमा चर्चित भइसकेका थिए । उनीहरूको शहादतले उनीहरू अहिले पनि चार सहिदका रूपमा नेपाली इतिहासमा प्रतिष्ठित छन् ।
राणाकालमा आठ दशक अगाडिका स्वतन्त्रताको लागि, न्यायको लागि, सुशासनको लागि, लेख्ने र बोल्ने अधिकारको लागि लडेका ती नवयुवकहरू कसरी विद्यालय स्थापनाका नाममा, पुस्तकालय स्थापनाका बहानामा, पुराणवाचनका बहानामा वा शारीरिक व्यायामका बहानामा भेट हुन्थे र एकअर्कामा सञ्चार गर्थे? हाम्रा पूर्वजले कस्तो समयमा कुन प्रकारको कदम हाम्रो आजका लागि चालेका थिए!
आज गणतन्त्रको युगमा सामाजिक सञ्जाल, त्यसमाथि डिस्कर्डको जमानामा सङ्गठित भएका युवकहरूले उनीहरूको सहिष्णुताबाट, उनीहरूमा सञ्चारित भएको ‘घृणा पापलाई गर, पापीलाई होइन’ (हेट द सिन, नट द सिनर) को दर्शनबाट ढिलै भए पनि केही पाठ सिक्न सक्छन् कि?
फेसबुकका संस्थापक मार्क जुकरबर्ग जति भद्र लाग्छन्, त्यति नै एक्सका मालिक एलन मस्क उति नै उताउला लाग्छन् । सञ्चार प्रविधिसँग काम गर्ने मानिसहरू किन अलग-अलग प्रवृत्तिका हुन्छन्, बडो विचित्र छ ।
भाद्र २२/२३ का दिन सार्वजनिक हुँदै आइरहेका भिडियोहरूमा सेलिब्रिटीहरू कति नग्न भएर राज्य र सरकारप्रति रोष प्रकट गर्दै थिए? कसरी त्यो तहको आक्रोश र हिंसा र लुटपाटको समर्थन गर्न सके, नैतिक मूल्य र मान्यताबाट नेपाली समाज कसरी च्युत भयो- त्यो एउटा आजको व्यथा भन्न पुगेको छ ।
जेनजी पुस्ताले सिद्धिचरण श्रेष्ठले लिपिबद्ध गरेको राणाकालीन जेलको बारेमा पढ्यो भने के सोच्दो हो! के यति धेरै आजादी, यति धेरै स्वतन्त्रता अराजकताको लागि उच्शृङ्खलताका लागि प्राप्त भर्याङ हो र! जहाँ चढेर समाजमा लुटपाट, आतंक र हिंसा मच्चाउन पाइयोस्!
यो पुस्तक पुस्तकाकारमा पहिलोपटक २०५१ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको रहेछ । यो क्लासिकलाई पुनः प्रकाशित गरेर बुक हिल प्रकाशन धन्यवादको भागी भएको छ ।
सिद्धिचरणले संस्मरण मार्फत त्यो युगलाई हाम्रा सामु जसरी पेश गरेका छन्, त्यसका लागि हामी युग कविप्रति अनुग्रहित हुनै पर्दछ ।
अन्त्यमा सिद्धिचरणका कविताका हरफ उल्लेख गर्न चाहन्छु:
“यो देशमा जागृति भाँतिभाँती उठाउँदैछन् शिर माथिमाथि पिँढी युवाको अब चुप छैन
चाँजो र पाँजो नमिली हुँदैन ।”
त्यो चाँजो र पाँजो भने नवयुवकहरूले देखाउने समझदारीमा भर पर्नेछ ।
प्रतिक्रिया 4