
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको माग बढेको छ।
- गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरूले विशेष महाधिवेशन आह्वान गर्न र हस्ताक्षर अभियान चलाउन सहमति जनाएका छन्।
- नेताहरूले वर्तमान नेतृत्वमा चुनाव जान नचाहने र नयाँ नेतृत्वसहित चुनाव लड्नुपर्ने चेतावनी दिएका छन्।
७ असोज, पोखरा । भदौ २३ र २४ गतेको पछिल्लो जेनजी पुस्ताको आन्दोलनले ७४ जनाको मृत्यु, सयौं संरचना ध्वस्त र सत्ता नै उलटफेरमात्रै भएन, पुराना राजनीतिक दलका नेता–कार्यकर्तामा रुपान्तरण र नेतृत्व हस्तान्तरणको मुद्धा पनि पेचिलो बनाइदियो ।
जेनजी आन्दोलनले दल र नेताहरुलाई सच्चिन सन्देश दिएको र नेतृत्व हस्तान्तण पनि तत्काल हुनुपर्ने आवाज उठाउने अग्रपंक्तिका नेता हुन्, पुरानो दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।
रुपान्तरण र नेतृत्व हस्तान्तरणको स्पष्ट सन्देश दिएको जेनजी आन्दोलनपछि पनि नेकपा एमाले, माओवादी र कांग्रेसभित्र पनि नेतृत्वले यथास्थितिबाट टहमस नहुने संकेत गरिरहेका छन् । तर, कांग्रेसमा महान्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिले विशेष महाधिवेशनको माग गरिरहेका छन् र अहिले कांग्रेसभित्र विशेष महाधिवेशनको विषयले तरंग ल्याइरहेको छ ।
केन्द्रीय नेताहरु यसको पक्षविपक्षमा उभिइरहेका छन् भने प्रदेश र जिल्लामा पनि तत्काल विशेष महाधिवेशन माग गर्नुपर्ने आवाज बुलन्द बन्दै गइरहेको देखिएको छ ।
सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरमा सकिँदै छ ।
पार्टीको विधानले नियमित अधिवेशन मंसिरभित्र गर्नुपर्ने भए पनि केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष म्याद थप गर्न सक्ने प्रावधान छ । तर, तत्काल महाधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश र जिल्लामा पनि नेताहरुले भेला र बैठक गर्न थालेका छन् ।
गण्डकी प्रदेशमा कांग्रेसका क्षेत्रीय सभापतिहरुले पनि सोमबार भेला गर्दै अहिलेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नुको विकल्प नभएको निश्कर्ष निकालेका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा सोमबार जिल्ला पार्टी कार्यालयमा भएको भेलाले विशेष महाधिवेशनको माग गरेका हुन् ।
गण्डकी प्रदेशमा संघीय निर्वाचन क्षेत्र १८ वटा रहे पनि १३ जना क्षेत्रीय सभापतिहरु छन् । प्रतिनिधि सभा क्षेत्र एउटामात्र रहेको जिल्लामा जिल्लाकै नेतृत्वले हेर्छन् भने २ जना प्रदेश सभा क्षेत्रका सभापति रहन्छन् । लामिछानेकाअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रका २ जना क्षेत्रीय सभापतिबाहेक ११ जनाले विशेष महाधिवन गर्न माग गर्ने निर्णय गर्न सहमति जनाएका छन् ।
क्षेत्रीय सभापतिहरुको भेलाले तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गर्दै आवश्यक परे त्यसका निम्ति हस्ताक्षर अभियान चलाउने तर यथास्थितिमै आउँदो फागुन २१ गतेको चुनावमा जान नसक्ने निश्कर्ष निकालेका छन् ।
विशेष महाधिवेशन गर्ने महामन्त्री द्वय थापा र शर्माको प्रस्तावमा केन्द्रीय नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साह, निमा गिरीलगायतले हस्ताक्षर अभियान चलाइरहेका बेला गण्डककीमा भेला भएका क्षेत्रीय सभापतिहरुले पनि तल्लो तहसम्मै हस्ताक्षर अभियान पुर्याएर पनि दबाब दिने बताएका छन्।
अहिलेकै नेतृत्वका साथ चुनावमा गए कांग्रेसले ठूलो क्षति बेहोर्ने लामिछानेले बताए । ‘अहिले देशमा विषम परिस्थिति निर्माण भएकाले यही नेतृत्व चुनावमा जाँदा र जनताको बीचमा जाँदा धेरै नोक्सान हुने हामीले देख्यौं,’ भेलाको अध्यक्षता गरेका लामिछानेले भने ।
कांग्रेसको अहिले गिरेको शाखबाट माथि उठाउनका लागि विशेष महाधिवेशन गरेर फागुन २१ मा नयाँ नेतृत्वका साथ जाँदा जनताको विश्वास जित्न सकिने निश्ष्र्क उनीहरुले निकालेका हुन् ।
कास्की क्षेत्र नम्बर ३ का सभापति मनोजकुमार गुरुङ भने भेलाकै विपक्षमा देखिए भने उनले सभापतिहरुको भेलाबाट हुने कुनै पनि निर्णयमा आफू संलग्न र सहमत नहुने बताएका थिए ।
स्याङ्जा क्षेत्र नम्बर २ का सभापति तथा वालिङ नगरपालिकाका पूर्वमेयर दिलिपप्रताप खाँड पनि अहिलेको परिस्थितिमा हतारमा निर्णय गर्न नहुने पक्षमा उभिएका हुन् । अन्य क्षेत्रीय सभापति र प्रदेशतर्फका क्षेत्रीय सभापतिहरुसमेत विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
पोखरामा सोमबार राखिएको भेलामा नवलपुरका २ जना क्षेत्रीय सभापति पहिरोले सडक अवरुद्ध हुँदा सहभागी हुन नपाएको र गोरखाका क्षेत्रीय सभापतिले भेलामा उपस्थित हुन नसके पनि विशेष महाधिवेशन माग गर्ने निर्णय गर्न आग्रह गरेको लामिछानेले बताए ।
कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्तावमा अधिकांश नेता असहमत हुनु, पूर्वपदाधिकारी ६ नेताहरुको चाक्सीबारीमा भएको छलफलले यथास्थितिमै जान खोज्नु भनेको अहिलेको माग र कांग्रेसको उज्ज्वल भविष्यको विपक्षमा भएको उनीहरुको निश्कर्ष छ ।
अहिले विकल्प नै छैन भन्ने कांग्रेस नेताहरुलाई लामिछानेले सुरुवाती इतिहास हेर्न समेत आग्रह गरे । ‘२०१२ सालमा छैठौं महाधिवेशन भयो । सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो । २०१४ सालमा चुनावको तयारी भयो र विपि कोइरलाले नेतृत्व गरेर विशेष महाधिवेशनमा गयो । विशेष महाधिवेशनको सभापति विपि कोइरला हुनुभयो र २०१५ सालमा दुई तिहाई लिएर आयो । १०९ क्षेत्रमा ७४ सिट ल्यायो,’ लामिछानेले भने, ‘अहिले पनि यही नेतृत्वले पहिलो पार्टी, ठूलो पार्टी हुन सक्दैन ।’
अहिले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वका साथ चुनावमा जानु नै कांग्रेसका लागि उपयुक्त हुने तनहुँ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चुडामणि खनालले बताए । तनहुँ क्षेत्र नम्बर १ का श्यामकुमार मौरतीले पनि पछिल्लो जेनजी पुस्ताको आन्दोलनपछिको परिस्थिति र भुइँतहका कार्यकर्ताको माग पनि विशेष महाधिवेशन भएको जिकीर गरे ।
बागलुङ क्षेत्र नम्बर २ का सभापति जोकलाल बुढाले तल्लो तहसम्मै पार्टी रुपान्तरण र तत्काल नेतृत्व हस्तान्तरणका निम्ति विशेष महाधिवेशन डाक्न आवाज उठाउनुपर्ने बताए । ‘चुनाव लड्ने मान्छे लोकप्रिय चाहिन्छ, पार्टीमा योगदान गरेको मानिसलाई नियुक्ति गर्ने हो । आफ्नो गुटको, नजिकको मान्छेलाई टिकट दिने परिपाठी गलत छ । गाउँमा इमान्ँदार कार्यकर्ताले पार्टी बचाउने तर समानुपातिकमा चाहिँ पैसा भएका, नजिकका गुटका मानिसलाई हाल्ने प्रवृति अन्त्य हुनुपर्छ,’ बुढाले भने, ‘त्यसका लागि पनि विशेष महाधिवेशन आवश्यक छ ।’
एउटै व्यक्ति पार्टी सभापति, प्रधानमन्त्री पटक पटक हुने, एउटै नेता पटक पटक सांसद र मन्त्री हुने तर औचित्य पुष्टि नहुने कुराले पनि ठूला पार्टीसँग निराशा बढेको उनको भनाइ थियो । ‘वडा सदस्य जित्ने हैसियत छैन तर केन्द्रका नेताले टपक्क टिपेर सांसद बनाइदिने परिपाठी अन्त्य हुनुपर्छ,’ बुढाले भने, ‘पछि ढिला हुन सक्छ विशेष महाधिवेशन गरेर पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरण गर्ने यो नै उपयुक्त मौका हो।’
पैसा दिएर टिकट ल्याउने, जनतासँग को कति भिजेको छ नहेर्ने, एकले अर्कालाई दोष दिने र पार्टीको अभियानमा भन्दा ज्यादा गुटबन्दीमा रमाउने परिपाठीले पार्टी कमजोर भएको उनले बताए।
अहिलेकै अवस्थामा चुनावमा जाने हो भने आफूहरुले राजीनामा दिने उनीहरुको संयुक्त चेतावनी छ । ‘यही नेतृत्वले चुनावमा जाने हो भने मैले नै राजीनामा दिन्छु । नर्वाचनमा चुनावी कमाण्ड नै क्षेत्रीय सभापतिको नेतृत्वमा हुन्छ, मेरो नेतृत्वमा त्यो सम्भावना पनि छैन, गर्दा पनि गर्दिनँ,’ लामिछानेले भने, ‘त्यसैले अहिलेकै नेतृत्वमा चुनावमा जान पनि सकिँदैन, रिजल्ट पनि ल्याउँदैन।’
आफूहरुकै नेतृत्वमा चुनावी अभियान चल्ने भएकाले गण्डकीका क्षेत्रीय सभापतिहरु जुटेर अधिकांश एकमतका साथ विषेश अधिवेशन माग गरिएको लामिछानेले बताए । यही नेतृत्व रहने हो भने तुरुन्त राजीनामा दिनेबाहेक अर्को विकल्प नभएको चेतावनी क्षेत्रीय सभापतिहरुले दिएका छन् । परिस्थिति आयो भने हस्ताक्षर अभियान चलाएर भए पनि पार्टीलाई विशेष महाधिवेशनमा लैजानुपर्ने उनीहरुको भनाइ छ ।
कास्की–२ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोशीले कास्कीका कांग्रेस नेताहरुलाई कारबाही गर्दा सभापति शेरबहादुर देउवालाई भेटेर गलत गरिएको र यसरी नै जाने हो भने आफूहरुले राजीनामा दिएको बताएको स्मरण गरे ।
उनले पार्टीमा पैसा, गुट र शक्ति हुनेहरुमात्रै उम्मेदवार हुने, नेतृत्वमाति सधैं बदनामित हुने अवस्थाको अन्त्य गर्न र जेनजी पुस्ताको मागलाई सम्वोधन गर्न पनि यो सबैभन्दा उपयुक्त बेला भएको बताएका छन् ।
कास्कीमा ३, नवलपुरमा २, स्याङ्जा, तनहुँ, गोरखा, बागलुङमा २÷२ जना क्षेत्रीय सभापति छन् । लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र पर्वतमा भने एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले असोज ५ गते बैठक बसेर विशेष महाधिवेशनको माग गर्ने निर्णय गरिसकेको छ । सभापति किशोरदत्त बराल देशबाहिर रहेकाले कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा बसेको बैठकले पछिल्लो उत्पन्न परिस्थितिमा विशेष महाधिवेशन गर्न माग गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
यथाशीघ्र क्रियाशील सदस्यता नवीकरण गरी यही मंसीरभित्र नै विशेष महाधिवेशन गर्नेपर्ने निश्कर्ष १४ औं महाधिवेशनका प्रतिनिधिहरुले निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया 4