News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन्।
- ह्यारिसले ट्रम्पलाई 'अत्याचारी' भनेकी छन् र उनले ट्रम्पको अधिनायकवादी प्रवृत्तिबारे चेतावनी दिएकी थिइन्।
- ह्यारिसले आफ्नो पराजयलाई 'त्रासद र पीडादायी अनुभव' भनेकी छन् र हाल '१०७ डेज' नामक पुस्तक प्रचारमा छिन्।
८ कात्तिक, काठमाडौं । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पुन: राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन् ।
सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् ।
पराजयपछि पहिलोपटक बीबीसीलाई दिएको अन्तर्वार्तामा ह्यारिसले भनिन्, ‘मेरो समय अझै सकिएको छैन । म सम्भवत: फेरि एकदिन राष्ट्रपति बन्न सक्छु ।’
६१ वर्षकी ह्यारिसले एकदिन आफू अमेरिकाको महिला राष्ट्रपति बन्न सक्ने विश्वास व्यक्त गरिन् ।
उनले भनेकी छन्, ‘मेरो नातिनीहरूले आफ्नै जीवनकालमा अमेरिकामा पहिलो महिला राष्ट्रपति देख्नेछिन् ।’
उनले थप भनिन्, ‘मेरो समय अझै सकिएको छैन । मैले जीवनभर सेवा गरेको छु, र त्यो मेरो रगतमै बसिसकेको क्ुरा हो ।’
अन्तर्वार्तामा ह्यारिसले राष्ट्रपति ट्रम्पमाथि समेत निसाना साँधेकी छन् ।
उनले ट्रम्पलाई ‘अत्याचारी’ को संज्ञा दिँदै भनिन्, ‘मैले चुनाव अभियानका क्रममा ट्रम्पको अधिनायकवादी प्रवृत्तिबारे चेतावनी दिएकी थिएँ, र ती सबै कुरा अहिले आएर सत्य सावित भएका छन् ।’
राष्ट्रपति ट्रम्पले अमेरिकी न्याय मन्त्रालयलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरेको उनको आरोप छ ।
हास्य कलाकार जिमी किमेलमाथि गरिएको कारबाहीलाई उदाहरण दिँदै ह्यारिसले भनिन्, ‘उनी (ट्रम्प) यति पातलो छालाका छन् कि एउटा जोक पनि सहन सक्दैनन् । व्यंग्य कार्यक्रम रोक्नका लागि उनले सम्पूर्ण मिडियामाथि दबाब दिएका छन् ।’
अमेरिकी उद्योगपतिहरू र ठूला संस्थाहरू समेत सत्तासँग नजिक हुन वा अनुसन्धानबाट जोगिन ट्रम्पका मागहरू पूरा गर्न झुकेको उनको आरोप छ ।
ह्यारिस डेमोर्क्याटिक पार्टीबाट सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । डेमोर्क्याटिक पार्टीभित्र उनको पराजयबारे आत्ममन्थन भइरहेको छ ।
धेरैले पूर्व राष्ट्रपति जो बाइडेनले ढिलो गरी उम्मेदवारी छोडेको आरोप लगाएका छन् । सन् २०२४ मा तत्कालीन राष्ट्रपति बाइडेनले नै दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकोमा उनको स्वास्थ्य र उमेरबारे प्रश्न उठेपछि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि डेमोक्र्याटले ह्यारिसलाई रिपब्लिकनका ट्रम्पविरुद्ध राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।
ह्यारिसले छोटो समयका कारण आफू जनतासँग गहिरो सम्पर्क गर्न र अर्थतन्त्रजस्ता मुख्य विषयमा बलियो सन्देश दिन असफल रहेको बताउँछिन् ।
उनले भनिन्, ‘मलाई पर्याप्त समय नदिइएकाले म आफ्ना नीति र दृष्टिकोण जनतासमक्ष विस्तारमा राख्न सकिन ।’
ह्यारिसले जनमत सर्वेक्षणहरूलाई बेवास्ता गर्ने बताइन् ।
‘यदि मैले सर्वेक्षण सुनेकी भए, म कहिल्यै पहिलो वा दोस्रो पटक उम्मेदवार हुने थिइनँ — र निश्चित रूपमा म अहिले यहाँ हुने थिइनँ,’ उनले भनिन् ।
ह्यारिसले हालै ‘१०७ डेज’ नामक पुस्तक प्रकाशित गरेकी छन् ।
जसमा बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १०७ दिनमा उनले चलाएको राष्ट्रपति अभियानको उतारचढावबारे लेखिएको छ ।
आफ्नो पराजयलाई उनले ‘त्रासद र पीडादायी अनुभव’ भन्दै स्मरण गरेकी छिन् । उनले भनिन्, ‘जब नतिजा आयो, म बारम्बार भन्दै थिएँ — हे भगवान्, हाम्रो देशको के हुने हो ?’
निर्वाचनको लोकप्रिय मतमा ट्रम्प र ह्यारिसको मतान्तर जम्मा २ प्रतिशतभन्दा कम थियो । तर ट्रम्पले निर्णायक रूपमा इलेक्टोरल कलेजमा जित हासिल गरेका थिए ।
हाल ह्यारिस आफ्नो पुस्तक यात्रामा युरोप भ्रमणमा छिन् । हालसम्म ह्यारिसले आधिकारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छैनन् । तर बीबीसीसँगको अन्तर्वार्तामा खुलेकी ह्यारिसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने संकेत भने गरेकी छन् ।
प्रतिक्रिया 4