१० मंसिर, काठमाडौं । अघिल्लो संविधानसभा निर्वाचनमा बाँके ३ मा कांग्रेस सभापति सुशील कोइरालालाई हराएका सर्वदेव ओझाको यसपालि जमानत जफत भयो । त्यतिबेला मधेसी जनअधिकार फोरमबाट १४ हजार ९ सय मत ल्याएर संविधानसभा सदस्य निर्वाचित ओझाले यो चुनावमा त्यही क्षेत्रबाट स्वतन्त्र उठ्दा जम्मा ७७ मत पाए ।
त्यस्तै स्थिति रह्यो, सुप्रभा घिमिरेको । अघिल्लोचोटी काठमाडौं ४ मा नेपाली कांग्रेसबाट चुनाव लड्दा झन्डै साढे तीनहजार मतअन्तरले एमाले नेतृ विद्या भण्डारीलाई हराएकी थिइन् उनले । यसपालि त्यही क्षेत्रमा कांग्रेस नेता गगन थापाविरुद्ध बागी उम्मेद्वारी दिँदा उनले पनि आफ्नो जमानत जोगाउन सकिनन् । उनले ल्याएको मत ९२ मात्र थियो ।
पार्टी छोडेर स्वतन्त्र उम्मेद्वार दिएकाले मात्र हैन, पुरानै पार्टीबाट दोहोर्याएर चुनाव लडेका केही पूर्वविजेताले पनि लज्जाजनक हार बेहोरेको नागरिक दैनिकमा खबर छ । चुनावमा प्रत्येक उम्मेद्वारले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्छ । कुल सदरमतको १० प्रतिशत पनि ल्याउन नसक्ने उम्मेद्वारको धरौटी जफत हुने व्यवस्था रहेको छ । १० प्रतिशतभन्दा कम मत ल्याएर विजयी भएकाहरुमा भने यो नियम लागू नहुने निर्वाचन आयोगले जनाएको छ।
त्यति मतसमेत ल्याउन नसक्दा प्रमुख पार्टीकै उम्मेद्वारहरुको धरौटी जफत भएको छ । एकीकृत माओवादीका केशव राइ त्यसैमध्येका एक हुन् । अघिल्लो चुनावमा ओखलढुंगा १ बाट ११ हजार ६ सय ३५ मत ल्याएर जितेका उनले धरौटीसमेत गुमाए । त्यही क्षेत्रबाट उठेका राईले २ हजार ९ सय ६३ मत पाएका छन् ।
पर्सा एकमा मधेसी जनअधिकार फोरमबाट उठेकी करिमा बेगमको पनि जमानत जफत भएको छ ।
प्रतिक्रिया 4