२३ असार, काठमाडौं । सभासदहरुले निर्वाचन क्षेत्रमा ५ करोड बजेट, भन्सार छुटमा गाडी र आवास मागिरहेका बेला मन्त्रीहरुले भने नयाँ गाडी मागेका छन् । पूराना गाडीले बाटैमा धोखा दिएको भन्दै मन्त्रीहरुले नयाँ गाडी मागेका हुन् ।
यो माग पछि सरकारले मन्त्रीहरुका लागि नयाँ गाडी खरिद गर्ने भएको छ । मन्त्रीहरुले चढ्दै आएका गाडी थोत्रा र कामै नलाग्ने भएपछि नयाँ गाडी खरिद गर्ने प्रक्रिया अघि बढेको हो । मन्त्रिपरिषदको पछिल्लो बैठकमा केही मन्त्रीहरुले गाडी बाटैमा बिगि्रएर दुःख पाइएको भन्दै गुनासो गरेपछि नयाँ गाडी खरिदका लागि सम्बद्ध निकायसँग समन्वय गर्ने निर्णय भएको छ ।
गृहमन्त्रालयले सबै मन्त्रालयमा कालो रंगको कार र चालक मन्त्रीका लागि उपलब्ध गराउदै आएको छ । धेरै स्रोत साधन र परियोजना हुने मन्त्रालयमा मन्त्रीले सबैभन्दा गतिलो गाडी तानेर चढ्ने गरेका छन् । तर, कुनै परियोजना नभएका तथा गाडी किन्ने हैसियत समेत नभएका मन्त्रालयका मन्त्रीहरु पूरानै गाडी चढ्न बाध्य छन् ।
मन्त्रीहरुलले चढ्ने गरेका गाडी धेरै पूराना भएकाले बाटैमा बिग्रने गरेको गुनासो बढेपछि गाडी खरिदका लागि छलफल भएको उद्योग मन्त्री कर्णवहादुर थापाले जानकारी दिए । ‘दुई तीन जना मन्त्रीज्यूको गाडी बाटैमा बिगि्रएर अलपत्र परेको भन्ने कुरा पनि बैठकमा उठ्यो’ मन्त्री थापाले अनलाइनखबरसँग भने ‘पूराना गाडी बिस्थापित गरेर नयाँ किन्ने कुरा भएको हो ।’
स्रोतका अनुसार मन्त्रिपरिषदबाट नयाँ गाडी किन्ने निर्णय सहित आवश्यक कार्यन्वयनका लागि गृहमन्त्रालयमा पठाइ सकिएको छ । गृहमन्त्रालय बजेटका निकासका लागि अर्थमा पठाएको छ । अर्थले बजेट स्वीकृत गरेपछि नयाँ मन्त्रीहरुका लागि नयाँ गाडी खरिद हुनेछन् । किया, टोयोा र मित्सुबिसी कार मन्त्रीका लागि प्रयोग हुदै आएका छन् ।
तीन मन्त्रीको गुनासो
यसबीचमा चारजना मन्त्रीका गाडी गुड्दा गुड्दै बीच बाटोमै बिगि्रएका छन् । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलवहादुर थापा, राज्यमन्त्री गिरिवहादुर केसी, शिक्षामन्त्री चित्रलेखा यादव र महिला तथा वालवालिका मन्त्री निलम केसीले चढेका गाडी बाटोमै बिगि्रएको गुनासो मन्त्रिपरिषद बैठकमा पुगेको थियो ।
निलम केसीको गाडी त गुड्दा गुड्दै सडकमै टायर उछिट्टिएको थियो । ‘चालकहरुले पत्रु गाडी चलाउदैनौं भनेपछि नयाँ गाडीको खोजी भएको हो’ मन्त्रालयका एक अधिकारीले भने ।
प्रतिक्रिया 4