+
+

‘विस्फोटक पदार्थको जोखिम ५० वर्षसम्म रहन सक्छ’

सुरक्षाकर्मीका विस्फोटक पदार्थ शान्ति प्रक्रियापछि म्यापिङ गरेर झिकियो । तर विद्रोहीसँग त्यसको रेकर्ड नै भएन । जसले राखेका थिए, कोही मारिए, कोही बेपत्ता पारिए । बाँचेकाले पनि राखेको ठाउँ बिर्सिए । त्यसैले अहिले यो क्षति भइरहेको छ ।

यम ढकाल, नेपाली सेनाका पूर्व उपरथी यम ढकाल, नेपाली सेनाका पूर्व उपरथी
२०८१ भदौ २८ गते १५:१०

द्वन्द्वकालीन समयमा जुन मानवीय क्षति भयो, शान्ति प्रक्रियापछि त्यो रोकिन्छ भन्ने अपेक्षा सबैलाई थियो । तर द्वन्द्व सकिएको १८ वर्ष भइसक्दा पनि यसको जोखिम उस्तै देखियो । बेलाबखत भेटिने, द्वन्द्वकालका विस्फोटक पदार्थबाट आम नागरिक र सर्वसाधारणको ज्यान जान रोकिएन ।

द्वन्द्वका बेला विद्रोही र राज्य पक्षबाट विस्फोटक पदार्थ प्रयोग भए । जब युद्ध सकिएर शान्ति छायो, त्यसबेला द्वन्द्वका बेला प्रयोग भएका विस्फोटकहरू दुवै पक्षबाट निष्क्रिय पार्ने भनियो । शान्ति सम्झौता अनुसार नेपाली सेना र प्रहरीले त्यस बखत बिछ्याएका बारुदी सुरुङ तथा विस्फोटक पदार्थहरू निकाले, निष्क्रिय पार्ने काम गरे ।

सेना र प्रहरीसँग विस्फोटक पदार्थको रेकर्ड भएकाले म्यापिङ गरेर ती सबै झिकियो । सबैजसो विस्फोटकहरू त्यहीबेला झिकियो । राज्य पक्षसँगै विद्रोही पक्षसँग पनि उत्तिकै विस्फोटक पदार्थहरू थिए । उनीहरूसँग भने त्यसको रेकर्ड थिएन । हतियार व्यवस्थापन भनेर केही हातहतियार त बुझाइए तर सबै विस्फोटकहरू निष्क्रिय पार्ने काम भएन ।

किनभने उनीहरूले त्यो बेला त्यस्ता सामग्री जंगल, खोला, ओडार र घरमा लुकाएका थिए । त्यसको सबै रेकर्ड उनीहरूसँग नै भएन । जसले ती विस्फोटकहरू राखेका थिए, ती कति मारिए, कति बेपत्ता पारिए । बाँचेकाले पनि आफूले राखेको ठाउँ बिर्सिए । कतिले घरमा समेत राखे ।

त्यसैले पनि उनीहरूको विस्फोटक कस्तो ठाउँमा राखिएको छ ? कस्तो अवस्थामा छ ? भन्ने धेरै जानकारी छैन । त्यसको पुष्टि द्वन्द्वकालपछि ठूलो परिणाममा भेटिइरहेका विस्फोटक पदार्थहरूबाट हुन्छ । अहिले पनि ठूलो मात्रामा विस्फोटक पदार्थहरू भेटिने र विस्फोट हुने गर्छन् ।

अहिले भेटिने विस्फोटक पदार्थहरू तत्कालीन द्वन्द्वकालको बेला विद्रोही पक्षले प्रयोग गरेका हुन् । खासगरी घरेलु सकेट बम र ह्याण्ड ग्रिनेडहरू बढी छन् । विद्रोही माओवादीले त्यतिबेला ‘इप्रोभाइस एक्सक्लोसिप डिभाइस’ प्रयोग गरेर सकेट बम, पाइप बम, प्रेसर कुकर बमहरू बनाएका थिए । यसको प्रयोग गरेर जेमा राखेर पनि बम बनाउन सकिन्छ । यो एकदमै साधारण तरिकाले बनाइएको हुन्छ ।

कति हुन्छ बमको आयु ?

विस्फोटक पदार्थको जोखिम कहिलेसम्म हुन्छ भन्ने नै हुँदैन । कस्तो अवस्थामा राखिएको छ, त्यो कुराले अर्थ राख्छ । सुरक्षित छ भने बमहरू वर्षाैं वर्ष पछिसम्म पनि पड्कन सक्ने जोखिम रहन्छ । हामीले सुनिरहेका हुन्छौं नि, दोस्रो विश्वयुद्धका बमहरू अहिले पनि पड्किरहेका घटनाहरू ।

विस्फोटक पदार्थको आयु यति नै भन्ने हुँदैन । बरु त्यसलाई पड्काउने ‘डेटोनेटर’ कस्तो अवस्थामा छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसको फायरिङ मोकानिजम कति सुरक्षित छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

हावा, पानी, घामले भेट्ने ठाउँमा राखिएको छ, खिया लागेको छ भनेर विस्फोटक पदार्थ चाँडै बिग्रन्छ, र आफैं निष्क्रिय हुन्छ । त्यस्ता विस्फोटक पदार्थहरू हत्तपत्त विस्फोटक हुने जोखिम कम हुन्छ । तर सुरक्षित ठाउँमा राखिएको छ, घाम–पानीले नभेट्ने ठाउँमा छ, खिया लागेको छैन भने त्यसको ‘फायरिङ मेकानिजम’ सुरक्षित हुन्छ ।

त्यस्ता बमहरू वर्षौ वर्षसम्म पनि रहन सक्छन् । ती बम÷विस्फोटक पदार्थहरूको जोखिम १०, २०, ५० वर्षसम्म रहिरहन सक्छ । पछिल्लो समय भेटिएका, विस्फोटक भएका पदार्थको प्रकृति हेर्दा घरभित्र वा सुरक्षित ठाउँमा राखिएका देखिन्छन् । घर, गोठ, ओडार, गुफामा सुरक्षित ढंगले राखिएका विस्फोटकहरू बालबालिकाले भेट्टएर खेलाउँदा पड्किएका घटना छन् ।

अझ भनौं बालबालिकाले भेट्ने ठाउँमा राख्दा विस्फोटका घटनाहरू भइरहेका छन् । खासगरी बालबालिका यसको जोखिममा हुन्छन् । किनभने उनीहरूलाई यस्ता विस्फोटक पदार्थबारे थाहा नै हुँदैन । अञ्जानमा खेलाउन पुग्दा विस्फोट हुन जान्छ ।

त्यसमा पनि बम यतिकै पड्कने सम्भावना कम हुन्छ । त्यसलाई घनले हिर्काइयो, जोडले पछारियो, आगोले बालियो वा कुनै कारणले ‘फायरिङ मेकानिजम’मा आगो लगाइयो भने पड्किन पुग्छ ।

तत्कालीन विद्रोही पक्षले यस्ता बम, विस्फोटक पदार्थहरू कहाँ राखे भन्ने यकिन नभएकाले, यी जहाँ पनि हुन सक्छन् । उनीहरूले यसको रेकर्ड नराख्दा आज पनि यसको डर उत्तिकै छ । जबसम्म यी विस्फोटक पदार्थहरू भेटिन्नन् तबसम्म यसको जोखिम रहिरहन्छ ।

कतै रेकर्ड पनि नभएकाले यस्ता पदार्थहरूबारे जनचेतना फैलाउनु नै सबैभन्दा उत्तम हुन्छ । यस्ता विस्फोटक पदार्थ तपाइँ हाम्रो घर, बारी, खेत, जंगल जहाँ कतै पनि हुनसक्छन् । त्यसैले यस्ता विस्फोटक पदार्थबारे धेरै भन्दा धेरै नागरिकलाई बुझाउन जरूरी छ ।

अझ खासगरी दुर्गम, जहाँ द्वन्द्वको प्रभाव धेरै थियो, ती ठाउँहरू धेरै बुझाइनुपर्छ । अनि विशेष गरी बालबालिकालाई, उनीहरू सबैभन्दा जोखिममा भएकाले विद्यालयस्तरमा पुगेर भए पनि यसबारे जनचेतना फैलाउन एकदमै जरूरी छ । त्यस्तो शंकास्पद वस्तु फेला परेमा नजिकको सुरक्षा निकायलाई खबर गर्नुपर्छ भनेर सबैलाई थाहा हुन जरूरी छ । तब मात्र यसको जोखिम कम गर्न सकिन्छ ।

(नेपाली सेनाका अवकाशप्राप्त उपरथी ढकालसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?