Comments Add Comment

प्रचण्डसँग एकता गर्ने वैद्य माओवादीको निर्णय

२२ माघ, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले एमाओवादीसँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गर्दै यसको जिम्मा स्थायी समितिलाई दिएको छ ।

फाइल फोटो
फाइल फोटो

एमाओवादीलाई संविधानसभा छाडेर सडकमा आउनसमेत वैद्य माओवादीले आग्रह गरेको छ ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न बिहीबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष वैद्यले एमाओवादीलाई संविधानसभा छाडेर आउन आग्रह गरे । उनले भने-‘संविधानसभा भित्रैबाट संविधान बनाउनेतिर जानुभयो भने उहाँहरु पनि पश्चगामी यथास्थितिवादी धारामा जानुहुन्छ र जनताको समस्या यथावत रहन्छ ।’

एकताको जिम्मा स्थायी कमिटीलाई

तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले एमाओवादीसहितका दलहरुसँग पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको वैद्यले जानकारी दिए ।

जनयुद्धमा संलग्न र अन्य सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकै ठाउँमा ल्याएर ‘नयाँ माओवादी कम्युनिष्ट केन्द्र’ बनाउने बैद्यले बताए ।

तत्काल कार्यगत एकता गरी संघर्ष अघि बढाउने बैद्य माओवादीको निर्णय गरेको छ । पार्टी एकताको कार्ययोजना स्थायी कमिटीले बनाउने बताइएको छ ।

संविधानसभा छाड्न आग्रह

अहिलेको संविधानसभाबाट संविधान बने पनि जनताको संविधान नबन्ने दाबी गर्दै वैद्यले एमाओवादी नेताहरुलाई भने-‘तपाईहरु सडकमा आउनुस्, सडक संघर्षबाट मात्रै जनताको संविधान बन्छ भनेर हामीले वारम्बार भन्दै आएका छौं ।’

एमाओवादी संविधानभा सडकमा आए सहकार्य गर्ने भन्दै वैद्यले नभए जनताले साथ नदिने बताए । उनले भने-‘उहाँहरु आउनुभयो भने राम्रो, संघर्ष अघि बढ्छ । उहाँहरु आउनुभएन भने उहाँहरुको पक्षमा जनतामा जाँदैनन् ।’

आफूहरुलाई सुरुबाटै अलग गरेको सत्तारुढ कांग्रेस र एमालेले एमाओवादीसहितका शक्तिलाई संविधासभाबाट पाखा लगाउने काम गरेको वैद्यले बताए । उनले अब कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने र संघर्षको बीचबाटै जनताको संविधान बनाउनुपर्ने बताए ।

आफूहरुले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको भन्दै उनले प्रचण्ड मोर्चासँग साझा नारा बनाएर आन्दोलनमा जान प्रयास गर्ने बताए । ‘उहाँहरु सडकमा आउनुभयो भने साझा नारा बनाउने प्रयास गर्छौं’ माओवादी अध्यक्ष बैद्यले भने-‘नभए ताममेल मिलाउँछौं ।’ 

पार्टी एकता गर्ने भनिए पनि संविधानसभा विघटनको नाराका कारण तत्काल बैद्य माओवादी र एमाओवादी आन्दोलनको एउटै मोर्चामा छैनन् ।

बैद्य माओवादीले एमाओवादीलाई संविधानसभा छाडेर आउन भने पनि उसले यस्तो औपचारिक निर्णय गरेको छैन ।

प्रचण्ड नेतृत्वको एमाओवादी र बैद्य माओवादीबीच तत्कालीन कार्यनीतिमा संविधानसभालाई हेर्ने दृष्टिकोण र रणनीतिक कार्यनीतिमा संसदवादको विकल्पमा नयाँ जनवादबारे फरक मत देखिँदै आएको छ ।

पोलिटब्यूरो र स्थायी समितिमा बढुवा

बैद्य माओवादीको केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्यूरोमा नेताहरुको बढुवा गरेको छ । पदाधिकारी टीम भने पुरानै कायम छ ।

वैठकले १० सदस्य स्थायी समिति र १९ सदस्य पोलिटब्युरो सदस्य पनि चयन गरेको छ ।यसअघिका पोलिटब्युरो सदस्यलाई स्थायी समितिमा र पुराना केन्द्रीय सदस्य सवैलाई पोलिटब्युरोमा बढुवा गरेको हो । केन्द्रीय सल्लाहकारबाट ६ जनालाई पनि केन्द्रीय सदस्यमा ल्याएको माओवादीले जनाएको छ ।

माओवादीले स्थायी समितिमा पार्टी प्रवक्ता पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, नारायण शर्मा र कुलप्रसाद केसीलाई बढुवा गरेको छ । यसअघि उनीहरु पोलिटब्युरो सदस्य थिए ।

त्यस्तै केही केन्द्रीय सदस्यलाई पोलिटब्युरोमा बढुवा गरिएको छ । पोलिटब्युरोमा बढुवा हुनेमा नेवाः राज्य इन्चार्ज दिनेश शर्मा, केन्द्रीय कार्यालयका सेक्रेटरी श्रीराम ढकाल, सूर्यप्रकाश सुवेदी, श्रीनाथ अधिकारी, चन्द्रहरि सुवेदी, सुरेश आलेमगर, पूर्ण घर्ती, महेश्वर दाहाल, सावित्री काफ्ले, अमृता थापा, यशोदा सुवेदी, पवनमान श्रेष्ठ, मायाप्रसाद शर्मा, दिलिप प्रजापति, रामप्रसाद आचार्य र लक्ष्मण पन्त छन् ।

विप्लवसहितका नेताहरु पार्टीबाट अलग भई गएपछि रिक्त रहेका केन्द्रीय सदस्यमध्ये ३७ केन्द्रीय सदस्य थप गरिएको छ । अब बैद्य माओवादीको केन्द्रीय समिति १२५ सदस्यीय भएको छ ।

‘भ्रष्ट’लाई कारबाही गर्ने

बैद्य माओवादीको केन्द्रीय समिति बैठकले फागुन १ देखि चैत २४ गतेसम्मको संगठन सुदृढीकरण तथा संघर्षका कार्यक्रम पारित गरेको छ ।

बैठकले ‘भ्रष्ट फटाहा’ लाई कारवाही गर्ने जनाएको छ । फागुन १ गतेदेखि चैत्र २४ गतेसम्म मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत भ्रष्ट र फटाहाहरुलाई कारवाही गर्ने बैठकले निर्णय गरेको महासचिव रामबहादुर थापा बादलले बताए ।

अभियानका लागि ‘संविधानसभा-२ विघटन र सर्वपक्षीय राजनीतिक सभाको गठन, संघर्षद्वारा जनसंविधान निर्माण र संगठन सुदृढीकरण तथा विस्तारका लागि अभियान’ भन्ने मुल नारा तय गरिएको माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment