Comments Add Comment

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको चरम अभाव

फाइल तस्वीर

३ जेठ, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अक्सिजनको हाहाकार भएको छ । यसअघि सुनसरीको दुहबीबाट ल्याइरहेको अक्सिजन त्यहाँको डिपोले दिन नमानेपछि समस्या भएको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए ।

‘गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनका ११० वटा सिलिण्डर छन् । तीमध्ये खाली भएका २४ वटा सिलिण्डर आज बिहानै दुहबीस्थित डिपोमा पठाएका छौं,’ उनले भने, ‘तर त्यहाँको डिपोले भर्न इन्कार गरेको छ ।’

यस विषयमा प्रमुख जिल्ला अधिकारीले डिपोमा फोन गरिसकेको तर पनि अक्सिजन भर्न नमानेको डा. झाले बताए । डिपोले तीन दिनपछि मात्रै अक्सिजन उपलब्ध गराउने जानकारी दिएको उनले बताए ।

तत्कालै अक्सिजन उपलब्ध नभए अस्पतालमा उपचार गराइरहेका बिरामीको अवस्था नाजुक हुन सक्ने उनले बताए । ‘दिंदै आएको डिपोले एक्कासी तीन दिनपछि अक्सिजन दिने बताउँदा दिमागले काम गर्न छोडेको छ,’ उनले भने, ‘अहिलेसम्म भर्ना भएका सबै कोरोना संक्रमित अक्सिजनकै भरमा छन् । नआए उनीहरुलाई धेरै समस्या हुन सक्छ ।’

अहिले अस्पतालको एचडीयू कक्षमा २५ जना, आकस्मिक कक्षमा २० र साईकृष्णा मेडिकल कलेज भवनमा रहेको कोरोना अस्पतालमा १६ जना गरी ४७ जना उपचार गराइरहेकोमा ४७ जना अक्सिजनकै सपोर्टमा छन् ।

डा. झाले यी सबैलाई मंगलबार बिहानसम्म अक्सिजन उपलब्ध गराउन सकिएपनि त्यसपछि हात उठाउन सक्ने अवस्था आएको बताए । अक्सिजनको चरम अभावतर्फ ध्यान दिन र उपलब्ध गराइदिन उनले सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment