+
+
Shares

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीले रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि यातायात ठप्प भई खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको अभाव बढेको छ ।
  • रसुवागढी आसपासका व्यापारी र किसानले ढुवानी खर्च बढ्दा तथा बजार नपुग्दा आर्थिक क्षति व्यहोरेका छन्, बन्दाकोपी बारीमै कुहिएको छ ।
  • सडक नहुँदा जटिल बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था बनेको छ, र प्रशासनले सडक खुलाउने काम भइरहेको जनाएको छ ।

१० असोज, रसुवा । भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन् ।

बाढी गएको एक महिना बितिसक्दा यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीहरू प्रभावित भएको रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङ बताउनुहुन्छ । उहाँका  अनुसार बाढी आउनु अगाडि सहज रूपमा सामान ढुवानी हुने गरेको र बजार मूल्य सस्तो थियो ।

‘सडक नहुँदा सामान ल्याउनै सकिँदैन, पाइहाले ढुवानी खर्च मात्रै प्रतिपटक रु ५० हजारभन्दा बढी लाग्ने गरेको छ । अहिलेको अवस्थामा सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाललाई तत्काल जोडिदिए हामी  व्यापारी र आम उपभोक्ता दुवैलाई सहज हुने थियो’, उनले भने ।

अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठको अनुभव उस्तै छ । पहिले मागअनुसार सहजै सामान भित्रिने र ढुवानी खर्च सस्तो पर्ने गरेकामा अहिले अवस्था पूर्णरूपमा बदलिएको उहाँ बताउनुहुन्छ । भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा लगाएको बन्दाकोपी (काउली) सडक अवरुद्ध भएकै कारण बजारसम्म पुर्‍याउन सकिएको छैन । रसुवाको गतलाङमा फलेको लाखौँ मूल्य बराबरका बन्दाकोपी बारीमै कुहिएको छ ।

गत्लाङका स्थानीय फुर्पु सिङ्गी तामाङले दु:ख व्यक्त गर्दै भने, ‘बाढी गएको एक महिना बित्यो । राहतले केही महिना पुग्ला तर सधैँ पुग्दैन । कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो । त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ ।’

सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ । जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सडक नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गरिब तथा विपन्न नागरिकका लागि हेलिकप्टरको खर्च धान्न असम्भव प्राय: छ । तामाङले भने, ‘जटिल बिरामी पर्दा पैसा हुने हेलिकप्टरमार्फत काठमाडौँ जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन ।’

दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुन: जोड्नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर (डोजर) ल्याएर सडक खुलाउने काम निरन्तर भइरहेको छ । प्रजिअ पाण्डेले भने, ‘सडक खुलाउने काम भइरहेको छ । डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ । निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय तथा सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?