+
+
Shares

‘टिमुरेमा बिउमात्र बाँकी छौं’

‘बाढी गोलीभन्दा बेगको थियो । संयोगले बाँचेको हुँ । सपना जस्तो लाग्छ,’ तामाङ भदौ १० लाई बिर्सन चाहन्छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ असोज ४ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको टिमुरेमा ५ वर्ष लगाएर होटल बनाएका कामी नुर्पु तामाङको होटल र घर १० गतेको बाढीले क्षणभरमै ध्वस्त बनाएको छ ।
  • तामाङका अनुसार बाढीले टिमुरेका करिब ३०० घर, ११७ पर्यटक र करिब ६०० लेबरसहित धेरै मानिस बेपत्ता वा प्रभावित भएका छन् ।
  • टिमुरेवासीले पुनर्वाससँगै नाका पुनः सञ्चालन गर्न र खैदीमा एकीकृत बस्ती बसाउन सरकारसँग माग गरेका छन् ।

४ असोज, काठमाडौं । कामी नुर्पु तामाङले रसुवा टिमुरेमा ५ वर्ष लगाएर होटल बनाएका थिए । तर १० गतेको विनाशकारी बाढीले एक सेकेन्डमै शून्यमा पुर्‍यायो । उनको होटल र घर मात्र ढलेन, बुवा गमाए, आफन्त गुमाए, छिमेकी गुमाए ।

पर्यटक, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी उनको आँखै अगाडि बाढीले लग्यो । ‘बाढी गोलीभन्दा बेगको थियो । संयोगले बाँचेको हुँ । सपना जस्तो लाग्छ,’ तामाङ भदौ १० लाई बिर्सन चाहन्छन् ।

बाढीबाट टिमुरेका स्थानीयको बीउ मात्र बाँचेको उनी बताउँछन् । ‘बाढीले उठिबास बनाएको छ । सीमित मात्र जोगिएका छौँ । हामीलाई बीउको रूपमा राखिदिएको छ । त्यहाँबाट भागेर बाँचेका थोरै छौँ,’ उनले भने । अहिले टिमुरेका २५० जना स्वयम्भूको मुस्ताङ गुम्बामा आश्रय लिएर बसेका छन् ।

टिमुरेमा स्थानीयको साना–ठूला गरी करिब ३०० घरहरू थिए । ‘स्थानीयको जनसंख्या लगभग ३०० भन्दा माथि थियो । तर त्यो दिन बाढीबाट जोगिएर आएकाको संख्या ८० जना जति हो,’ तामाङले भने, ‘अरू सम्पर्कमा हुनुहुन्न । अहिले गुम्बामा रहेका २५० जनामा कोही बाटोमा हुनुहुन्थ्यो । कति यतै काठमाडौंमा बस्नेहरू जोडेर हो ।’

कतिपय बुबा-आमा टिमुरेमा बस्ने । छोराछोरी काठमाडौंमा बसेर पढ्ने थिए । तर कतिले बुबा आमा गुमाएका छन् । ‘पढ्ने बच्चाहरू काठमाडौंमा थिए । अहिले आमा–बुवा गुमाएका छन् । टुहुराहरू मात्र छन्,’ तामाङले भने, ‘सबै जोडेर २५० जना भएको हो ।’

टिमुरे व्यापारिक केन्द्र थियो । कैलाश जानेको बस्ने ठाउँ थियो । ‘टिमुरे पवित्र भूमि हो । तर अहिले भग्नावशेषमा रूपान्तरण भएको छ । अब त इतिहास बन्यो,’ उनले भने ।

१० गते उनको होटलमा मात्र ११७ जना पर्यटक थिए । ‘कैलाश जाने धार्मिक पर्यटक थिए,’ उनले भने, ‘ब्रेकफास्ट लिएर निस्कनुभएको थियो । उहाँहरू घट्टेखोलसम्म पुग्नुभयो होला । बाढी आइहाल्यो । नाकादेखि टिमुरेसम्म ९–१० वटा ठूला होल थिए । सबै भरिभराउ थिए । उहाँहरूले नाका कट्न पाउनु भएन ।’

दुई देशको नाका भएकाले सरकारी संरचना थियो । भन्सार कार्यालय थियो । ७७ जिल्लाकै मानिस व्यापार व्यवसायका लागि आउने गरेका थिए ।

‘भन्सारको लगभग ८४ वटा मेस थिए । डिब्बाहरूका ड्राइभरहरू थिए । ईभी गाडी थिए । डिब्बाका ड्राइभरहरू कहाँ पुगे होलान् । लेबर काम गर्नेको ६० वटा ग्रुप थियो । एउटा ग्रुपमा १० जना हुन्छ । ६०० लेबर त्यहीं थिए,’ तामाङले भने, ‘निजामती कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यमा काम गर्नेहरू, सात–आठ वटा बैंकमा कार्यरत कर्मचारीहरू थिए ।’

कति क्षति भयो संख्या यकिन छैन । तर त्यहाँ कार्यरत थोरै संख्यामा मात्र जोगिएको उनको अनुमान छ । ‘सबै गुमाएका छौँ । अब फर्किने सम्भावना छैन । बाँचेकाहरूलाई बचाउनु पर्नेछ,’ उनले भने, ‘अब पुनर्वास होस् । भोलि फर्केर जान पाइयोस् । त्यही ठाउँमा हिजोको सपनालाई साकार पार्नको निम्ति सिंगो खम्बा भएर लाग्ने छौँ ।’

फेरि नाका सञ्चालन गर्न टिमुरेवासीको माग छ । ‘पुनर्वास मात्र भएर हुँदैन । त्यो नाका ओपन हुनुपर्छ,’ उनले भने, ‘नाका खुलेन भने देशलाई नै घाटा हुन्छ । दिनको ३०–४० करोड दैनिक राजस्व उठ्ने त्यो भन्सार कार्यालय हो । सरकारले कूटनीतिक हिसाबले चीनसँग वार्ता गर्नुपर्छ ।’

शून्यबाट फेरि उठ्ने संकल्प टिमुरेवासीको छ । ‘सीमारक्षकको रूपमा हामी स्थापित छौँ । अब फेरि सयौँ वर्षका लागि थाम्ने हिसाबले बस्ती बनाउनुपर्‍यो । आज बनाएर भोलि भत्किने होइन,’ तामाङले भने, ‘टिमुरेभन्दा माथि खैदी सुरक्षित ठाउँ छ । पुर्जा भएकै जग्गा छ । त्यहाँ एकीकृत बस्ती बसाउन सकिन्छ ।’

तर, अहिले बुद्धिष्ट धर्मअनुसार घेवा गर्ने खर्चसमेत उनीहरूसँग छैन । ‘हाम्रो बुद्धिष्ट धर्मअनुसार ४९ दिनसम्म काजक्रिया सबै सकाउनुपर्छ । तर सरकारले काजकिरिया खर्च दिने हो भने यो भन्दा अगाडि चाहिन्छ । त्योभन्दा पछाडि दिएको अर्थ छैन । हामीले लिन पनि मिल्दैन । यो वैध होइन, हाम्रो धर्मले त्यो बोलेको छ,’ उनले भने, ‘बैंकमा भएको पैसासमेत झिक्न पाएको छैन । हामीलाई पीडा छ । छिटोभन्दा छिटो यी सामान्य कुराहरू सरकारले पूरा गरोस् ।’

टिमुरेवासी आफ्नै थातथलोमा फर्किएर धर्म, संस्कृतिको जगेर्नाका साथै बाँचेका बिउबाट नयाँ जीवनको सुरुवात गर्न चाहन्छन् । ‘अहिले त्यो ठाउँको बिउको रूपमा छौं । त्यो बिउलाई अब फैलाउन चाहन्छौं,’ उनले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?