+
+
Shares
फरेन्सिक डाक्टरले टिमुरेमा जे देखे :

‘बाल्टिनमा पानी बोकेर शव धुनुपर्‍यो’

कुहिएको शव परीक्षणका क्रममा पेटभित्रको भ्रुण बाहिर निस्किएको देखेपछि फरेन्सिक चिकित्सक सलमाली यादव भावुक भइन् । उनलाई त्यही दृश्यले अझै झस्काइरहन्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ भदौ २९ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि टिमुरे, स्याफ्रुबेँसी र धुन्चेमा फरेन्सिक टोलीले क्षतविक्षत शवको पहिचानका लागि स्थलमै सफा गरी डीएनए नमुना संकलन गरेको छ।
  • डा. सालमली यादव नेतृत्वको टोलीले अस्थिर जमिन, बाटो अभाव र सीमित स्रोतसाधनबीच शव खोज्ने, टिपोट गर्ने र परिवारसम्म पहिचान पुर्‍याउने काम गरेको छ।
  • सरकारी विवरणअनुसार रसुवा बाढीमा १ हजार ३८८ शव फेला परेका छन्, जसमध्ये सय हाराहारी पहिचान भएका छन् र ५ हजार १३० जना अझै बेपत्ता छन्।

२९ भदौ, काठमाडौं । फरेन्सिक डाक्टरका लागि शव नयाँ दृश्य होइन । अस्पतालको मर्चरीमा दैनिकजसो आउने शव, दुर्घटनामा ज्यान गुमाएका मानिस, हत्या वा शंकास्पद मृत्युका केस यी सबैसँग फरेन्सिक विशेषज्ञ अभ्यस्त हुन्छन् ।

तर रसुवाको बाढीमा परेका शवको दृश्य अस्पतालमा अरुबेला आउने भन्दा फरक थिए ।

जहाँ शब सग्लो थिएनन्, कतै शरीरका टुक्रा थिए । कसैको हात, कसैको खुट्टा, कतै हड्डीका टुक्रा । कतिपय शवका टाउको थिएनन् । शरीरमा लुगा भेटिन मुस्किल थियो । बाढीले मान्छेसँगै उनीहरूको पहिचानका धेरै आधार पनि बगाएर लगेको थियो ।

१० भदौको बाढीपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसी र आसपासका क्षेत्रमा मृत्यु भएका मानिसको पहिचान गर्न डा.सालमली यादवसहितको फरेन्सिक टोली खटिएको थियो ।

रसुवाको टिमुरे पुग्नुअघि पाटन अस्पतालमा कार्यरत फरेन्सिक चिकित्सक डा. सालमलीले सोचेकी थिइन– बाढीमा भेटिएका शव अस्पतालसम्म ल्याइन्छन्, त्यहीँ पहिचान गरिन्छ र आवश्यक प्रक्रिया पूरा गरिन्छ ।

तर धुन्चे पुगेपछि उनले थाहा पाइन्, शव अस्पतालसम्म ल्याउने अवस्था नै छैन । बाटो थिएन । बाढीको सबैभन्दा ठूलो क्षति भएको ठाउँ टिमुरे नै पुग्नुपर्ने भयो ।

१४ भदौ बिहान उनको टोली धुन्चे पुग्यो । केहीबेरमै हेलिकप्टरबाट टिमुरेतर्फ उड्यो । हेलिकप्टरबाट तल हेर्दा देखिएको दृश्यले उनलाई स्तब्ध बनायो ।

‘टिमुरे पुग्दा फिल्मको दृश्य देखेजस्तो लाग्यो,’ डा. यादव सम्झिन्छिन्, ‘मान्छे त परको कुरा, भवनसमेत केही बाँकी रहेनछ ।’

टिमुरेमा उत्रिएपछि उनीहरूका अगाडि अर्को चुनौती थियो– शव पहिचान गर्नु । अस्पतालको पोस्टमार्टम कक्षमा गर्ने काम अब बाढीले तहसनहस बनाएको त्यही भूमिमा गर्नुपर्ने थियो ।

फरेन्सिक चिकित्सक, प्रहरी, मुचुल्का तयार गर्ने टोली र डीएनए संकलन गर्ने जनशक्ति मिलेर काम सुरु भयो । तर जमिन अस्थिर थियो । कतिबेला भासिने हो, ठेगान थिएन । बाढीले बगाएर ल्याएको माटो, भग्नावशेष र जोखिमबीच सेना, प्रहरीले शव खोजिरहेका थिए ।

जब बाल्टिनमा पानी बोकेर शव धुनुपर्‍यो…

बाढीले जमिनको स्वरूप बदलिदिएको थियो । कतै घरका भग्नावशेष थिए । कतै सिसा र फलामका टुक्रा । कतै टेक्ने जमिन नै थिएन । त्यसमाथि भोटेकोशी नदी त्यहीँबाट बगिरहेको थियो । कुन बेला फेरि पानीको बहाव बढ्छ भन्ने त्रास छुट्टै थियो ।

अस्पतालको पोस्टमार्टम कक्षमा पानीको धारा हुन्छ । आवश्यक उपकरण हुन्छन् । शव राख्ने ठाउँ हुन्छ । सफा गर्ने, परीक्षण गर्ने र नमुना संकलन गर्ने सबै प्रक्रिया निश्चित ठाउँमा हुन्छ ।

टिमुरेमा त्यस्तो केही थिएन ।

शव भएको ठाउँसम्म बाल्टिनमा पानी बोकेर लैजानुपर्थ्यो । जहाँ शव भेटिन्थ्यो, त्यहीँ पानी लगेर शरीर सफा गर्नुपर्थ्यो ।

‘केही ठाउँमा पानीको धारा बचेको रहेछ । त्यहाँबाट बाल्टिन पानी ल्याएर शव धोयौँ,’ डा. यादव भन्छिन्, ‘ जसोतसो काम चलाउँदै भएका प्रमाण सुरक्षित गर्‍यौं ।’

शव सफा गर्नुको उद्देश्य सामान्य थिएन । अनुहारबाट पहिचान नहुने अवस्थामा शरीरमा भएका स–साना चिन्ह नै परिवारसम्म पुग्ने माध्यम बन्न सक्थे ।

ट्याटु कहाँ छ ? कस्तो छ ? शरीरमा कुनै दाग वा चोटको चिन्ह छ कि छैन ? कोठी छ कि छैन ? औँठी वा गहना छन् कि छैनन् ? लुगा केही बाँकी छ कि छैन?

यी सबै कुरा टिपोट गर्नुपर्‍थ्यो ।

बाढीले शवलाई धेरै टाढासम्म पुर्‍याएको थियो । शरीर कुहिन थालेको थियो । कतिपय शवको अनुहारबाट पहिचान सम्भव थिएन । जबकि लुगा, ट्याटु, दाग वा गहना नै कहिलेकाहीँ मृतकको पहिचान गर्ने महत्वपूर्ण आधार बन्थे ।

पहिलो दिन टोलीले सातवटा केसमा काम गर्‍यो । पहिचानका सम्भावित चिन्ह टिपोट गरे । डीएनएका लागि नमुना संकलन गरे ।

सीमित स्रोत साधनबीच यसरी फिल्डमै काम गर्नु अत्यन्त कठिन बन्यो । शवको पहिचानसँग सम्बन्धित कुनै सानो विवरण छुट्यो भने त्यसले पछि ठूलो समस्या निम्त्याउन सक्थ्यो ।

दोस्रो दिनको अवस्था झन् भयावह हुँदै गयो । थप शव भेटिँदै थिए । एक सय शवसम्म पुगेको खबर टोलीले पायो ।

शव खोज्ने क्रमसँगै उनीहरूको अर्को चुनौती थपियो – भासिएको जमिनमा हिँड्नु ।

भत्किएका घरका सिसा र अन्य सामग्रीमाथि टेक्दै उनीहरू शव भएको ठाउँसम्म पुग्थे ।

‘हिँड्दा जमिन नै भासिन्थ्यो । त्यस्तो अनुभव कहिल्यै गरेका थिएनौँ,’ यादव भन्छिन्, ‘कति ठाउँमा खुट्टा अड्कियो । धन्न आर्मी र पुलिस हुनुहुन्थ्यो, हामीलाई निकाल्नुभयो।’

उनीहरूको काम भने एउटै थियो – जहाँ शव भेटिन्छ, त्यहाँ पुग्ने; शवलाई सकेसम्म सुरक्षित तरिकाले हेर्ने; पहिचान हुन सक्ने हरेक चिन्ह टिपोट गर्ने र डीएनएका लागि नमुना संकलन गर्ने ।

उपकरण पनि सीमित थिए । प्रयोग गरेपछि फेरि सफा गरेर अर्को शवमा प्रयोग गर्नुपर्ने अवस्था थियो । त्यसबीच शवको अवस्था पनि सामान्य थिएन । बाढीमा लामो समय डुबेका कारण शरीरमा कुहिने प्रक्रिया तीव्र भइसकेको थियो । फरेन्सिक भाषामा जसलाई ‘डिकम्पोजिसन’ भनिन्छ, त्यो स्पष्ट देखिन्थ्यो ।

मृत्युको कारण खुलिसकेको थियो । तर भेटिएका अवशेष कसका हुन् भनेर पहिचान गर्न एकदमै गाह्रो थियो ।

‘पहिचान गर्नका लागि डीएनएको नमुना लिइयो,’ यादव भन्छिन्, ‘मुख्य उद्देश्य शव चिन्नु र परिवारलाई जिम्मा लगाउनु थियो । त्यसैले जति गार्‍हो भए पनि आफ्नो कर्म गरियो ।’

‘गर्भवतीको क्षतविक्षत शरीरबाट पाँच महिनाको भ्रुण बाहिर निस्किएको थियो’

सयौं शवको पहिचानका काम गरेकी सलमालीलाई टिमुरेमा देखेको एक दृश्यले बढी भावुक बनायो । शव परीक्षणमा खटिएकी उनले जब नजिकबाट हेरिन्, उनी केहीबेर त्यसले उनलाई भावुक पनि बनायो । त्यो एउटी गर्भवती महिलाको शव थियो । बाढीले उनको शरीर क्षतविक्षत बनाइसकेको थियो । शरीर कुहिँदै जाँदा गर्भमा (पाठेघर) रहेको करिब पाँच महिनाको भ्रूण बाहिर निस्किएको थियो ।

‘त्यो दृश्य देख्दा मन भारी भयो,’ सलमालीले भावुक हुँदै भनिन्, ‘अहिले पनि त्यही दृश्यले झझल्को आइरहन्छ र बेला बेलामा विक्षिप्त बनाउँछ ।’

‘स्याफ्रुबेंसीमा पुग्दा ज्यान जोगाउने चिन्ता भयो’

यादवको टोली टिमुरेमा मात्रै सीमित रहेन । टिमुरे हुँदै स्याफ्रुबेंसी पनि पुग्यो।

स्याफ्रुबेंसी पुग्ने क्रममा उनीहरूले अर्को जोखिम भोगे, जसका लागि उनीहरू मानसिक रूपमा तयार थिएनन् ।

त्यहाँको जमिन दलदलजस्तो थियो । हेलिकप्टरबाट उत्रिने ठाउँसमेत सुरक्षित थिएन । जमिनमा टेक्नेबित्तिकै उनीहरू भित्रसम्म भासिए ।

‘हेलिबाट जमिनमा जम्प गर्दा पुरै भित्रैसम्म भासिँयौं,’ यादव सम्झिन्छिन्, ‘ त्यसबेला काम गर्दा ज्यान नै कसरी जोगाउने भन्ने तनाव भयो ।’

स्याफ्रुबेंसीमा घर थिएनन् । मानिस थिएनन् । आफ्ना आफन्त खोज्दै आएका परिवार थिएनन् । चारैतिर भग्नावशेष, माटो, पानी र बाढीले छाडेका अवशेष मात्रै थिए ।

‘मान्छे भन्ने नै कोही थिएन,’ उनी भन्छिन्, ‘त्यो वातावरणले काम गर्न नै एकदम गाह्रो बनाएको थियो।’

शवको पहिचान हुनसक्ने अवस्थाका थिएनन् । त्यसपछिको अन्तिम विकल्प नै डीएनए परीक्षण थियो । तर शव भने घटनास्थलमै कुहिँदै थियो ।

त्यस ठाँउमा शवलाई चिस्यानमा राख्ने ठूलो कोल्ड स्टोर थिएन । शव व्यवस्थापन गर्ने स्थायी संरचना थिएन । कतिपय ठाउँमा जमिन खन्दा फेरि पानी आएर बगाउने जोखिम भयो । कतै ढुंगैढुंगा थियो ।

जसका कारण शवलाई त्यहिँ गाडेर राख्न समेत असम्भव थियो ।

त्यसैले फरेन्सिक टोलीले शवलाई सुरक्षित राख्नुपर्ने विषय उठायो ।

अन्ततः स्थानीय सरकार, सेना र सुरक्षाकर्मीको समन्वयमा टिमुरे, स्याफ्रुबेँसी र धुन्चेमा पहिचानका लागि संकलन गरिएका शवलाई काठमाडौं पठाउने व्यवस्था गरियो ।

तर घटनास्थलबाट फर्किएपछि पनि डा. यादवको मन त्यहीँ अड्किएको छ ।

उनीसँग प्रश्न छ – संकलन गरेका विवरणले ती मान्छेको शवलाई परिवारसम्म पुर्‍याउला त ?

फरेन्सिक टोलीको काम प्रमाण संकलन गर्नु हो । तर विपत्तिमा त्यो कामको पछाडि एउटा मानवीय जिम्मेवारी पनि जोडिएको हुन्छ– कुनै परिवारलाई वर्षौंसम्म ‘मेरो मान्छे कहाँ छ?’ भनेर भौतारिन नदिनु ।

रसुवाको बाढीमा उनले आफ्नो जिम्मेवारी पूरा गरिन् । त्यस क्रममा उनले अर्को कुरा पनि सिकिन्– सामान्य अवस्थामा अस्पतालभित्र पर्याप्त उपकरण र स्रोतसाधनबीच गरिने काम र विपत्तिको अग्रपंक्तिमा पुगेर गरिने फरेन्सिक कामबीच आकाश–जमिनको फरक हुँदो रहेछ ।

‘हामीले सजिलो ठाउँमा काम गर्ने बानी परेको हुन्छ,’ डा. यादव भन्छिन्, ‘एकैचोटी यस्तो ठाउँमा गएर सीमित स्रोतसाधनमा काम गर्नुपर्दा धेरै गार्‍हो हुँदो रहेछ ।’

रसुवाबाट फर्किँपछि डा. यादवको मनमा दुई कुरा छन् ।

पहिलो— त्यहाँबाट आफू कसरी बाँचेर फर्किएँ ?

दोस्रो— संकलन गरेका प्रमाणले ती बेनामे शरीरलाई फेरि एउटा नाम दिनेछन् कि छैनन् ?

अहिले रसुवा बाढीमा परेका १ हजार ३८८ जनाको शव फेला परेको छ । जसमध्ये सय हाराहारीमा शव पहिचान भएको छ । बाँकी शवलाई गाडेर शव पहिचानका लागि डीएनएको नमुना संकलनको काम भइरहेको छ । अझै पनि ५ हजार १३० बेपत्ता छन् ।

सलमाली जस्ता अन्य फरेन्सिक विशेषज्ञको प्रयास छ– कम्तीमा ती शवको पहिचान नहराओस् र कुनै परिवारले जीवनभर ‘मेरो मान्छे कहाँ गयो ?’ भन्ने प्रश्न बोकेर नबस्नुपरोस् ।

तस्वीर/भिडियो : चन्द्र बहादुर आले

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?