+
+
Shares

बाढीबाट घर र अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयमै होस्टेल

रसुवा बाढीबाट विस्थापित भएका विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन सुरु भएको छ । रसुवा, नुवाकोट र धादिङमा विद्यार्थीलाई होस्टेलमा राखेर पढाउन सुरु गरिएको हो ।

दिनेश गौतम दिनेश गौतम
२०८३ असोज ८ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा, नुवाकोट र धादिङमा बाढीले विद्यालय क्षति पुर्‍याएपछि विद्यार्थीलाई होस्टेल र नजिकका विद्यालयमा राखेर पढाइ सुरु गरिएको छ।
  • रसुवामा २८५ विद्यार्थी र १७ शिक्षक सम्पर्कविहीन छन् भने नुवाकोटमा २२४ विद्यार्थी र ११ शिक्षक सम्पर्कविहीन छन्।
  • सरकारले बाढीबाट प्रभावित ९ हजारभन्दा बढी विद्यार्थीको मनोसामाजिक अवस्था बुझेर नियमित पढाइ निरन्तर राख्न भनेको छ।

८ असोज, काठमाडौं । रसुवा बाढीमा जसले अभिभावक र घर गुमाए, ती विद्यार्थीलाई विद्यालयमै राखेर पढाइने भएको छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बालकालिकालाई विद्यालयमै राखेर सिकाइलाइ निरन्तरता दिन थालिएको छ ।

‘होस्टेलमा राखेर पढाउन सुरु भएको छ । रसुवामै रहेकाहरूलाई नीलकण्ठ माविमा व्यवस्था गरिएको छ,’ शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दुर्गा सिलवालले भने ।

रसुवाका कतिपय विद्यार्थी काठमाडौं र नुवाकोटको बटार आइपुगेका छन् । ‘काठमाडौं पुगेका र बटारमा रहेका विद्यार्थीले त्यतैको विद्यालयमा पढ्न सुरु गरेका छन् । रसुवामा भएका विद्यार्थी विद्यालय जान थालेका छन्,’ उनले भने ।

नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछानेका अनुसार अहिले होस्टेलमा ८० जना विद्यार्थी छन् । ‘पारिका विद्यार्थी पनि ल्याएका छौँ । पुल र घर छैन । वारिपारि गर्न सम्भव नभएका विद्यार्थीलाई पनि होस्टेलमा राखेका छौँ,’ सिलवालले भने ।

बटारको होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई बाटो नभएका कारण ल्याउन नसकिएको प्रधानाध्यापक लामिछानले बताए । ‘विद्यालय शिक्षाबाट कोही पनि वञ्चित नहुन् भन्ने हो । तर बटारमा रहेकालाई बाटो नभएकाले ल्याउन सकिएको छैन,’ उनले भने ।

शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका अनुसार बाढीमा जिल्लाका २८५ विद्यार्थी सम्पर्कमा छैनन् । १७ जना शिक्षक बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ । आमाबुवा दुवै सम्पर्कविहीन भएका विद्यार्थीको संख्या ३९ छ ।

रसुवामा ४ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् । पूर्ण क्षति भएका विद्यालयका बालबालिकालाई होस्टेलमा राखेर पढाउन लागिएको हो ।

नुवाकोटमा पनि आवसीय विद्यालय सञ्चालन गरिएको छ । ‘२९ जना विद्यार्थी अन्नपूर्ण पञ्चकन्या विद्यालयमा राखिएको छ । विद्यालयलाई आवसीय बनाएर पढाउन थालिएको हो,’ नुवाकोटका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सूर्यबहादुर खत्रीले भने ।

पूर्ण रूपमा क्षति भएको त्रिभुवन त्रिशूली मावि पनि सञ्चालनमा आइसकेको छ । ‘८० प्रतिशत विद्यार्थी विद्यालय फर्किएका छन्,’ उनले भने, ‘विदुर–१० मा तीन वटा विद्यालय पूर्ण क्षति भएका छन् । त्यहाँका विद्यार्थी नजिकको अर्को विद्यालयमा गएर पढिरहेका छन्,’ उनले भने ।

बाढीग्रस्त जिल्ला नुवाकोटमा २२४ विद्यार्थी र ११ शिक्षक सम्पर्कविहीन छन् । एकाइ प्रमुख खत्रीका अनुसार १० वटा विद्यालयमा क्षति पुगेको छ । जसमा दुई वटा संस्थागत विद्यालय छन् ।

नुवाकोटमा त्रिभुवन त्रिशूली मावि, रामचन्द्र आवि, चेतना आवि, गणेशमान सिंह आवि, त्रिशूली बोर्डिङ र उत्तरगया बोर्डिङ पूर्ण रूपमा क्षति भएका छन् । चण्डेश्वरी मावि र क्षेत्रपाल आविमा आंशिक क्षति पुगेको छ ।

धादिङमा पनि एउटा विद्यालय आवसीय रूपमा सञ्चालनमा छ । ‘दुई वटा विद्यालय पूर्ण रूपमा क्षति भएका थिए । वैकल्पिक ठाउँ खोजेर पठनपाठन सुरु भएको छ,’ धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठले भने ।

बाढीपछि रसुवा, नुवाकोट, चितवनबाट समेत विद्यार्थी आइरहेको उनले बताए । ‘अहिले ३७ जना जति विद्यार्थी छन् । थपिने क्रम जारी छ । तथ्यांक संलकन भइरहेको छ,’ उनले भने ।

धादिङमा ३ जना शिक्षक सम्पर्कविहीन छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार एक जना शिक्षकको शव फेला परेको छ । त्यसैगरी, ४ जना पूर्वशिक्षकको पनि शव फेला परेको र २ जना सम्पर्कविहीन छन् ।

एकाइ प्रमुख श्रेष्ठका अनुसार विद्यार्थी कहाँ छन् भन्ने तथ्यांक संकलनको काम भइरहेको छ । धादिङमा १० वटा विद्यालयमा क्षति पुगेको छ । विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मात्र कक्षा सञ्चालन गरिरहेको विद्यालयहरूले जनाएका छन् ।

बाढीबाट पूर्ण रूपमा क्षति भएका कतिपय विद्यालय सञ्चालन भएका छैनन् । ती विद्यालयका विद्यार्थीलाई नजिकैको अन्य विद्यालयमा पढाउने व्यवस्था मिलाइएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखहरूले बताएका छन् ।

तर, कति विद्यार्थी कुन विद्यालयमा पुगेका छन् भन्ने यकिन तथ्यांक छैन । तथ्यांक संकलनको काम भइरहेको उनीहरूले बताएका छन् ।

सरकारले विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित मनोसामाजिक अवस्था बुझ्न भनेको छ । बाढीबाट ९ हजार बढी विद्यार्थी प्रभावित भएका छन् ।

रष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार बाढीबाट ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?