Comments Add Comment

नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म, सतर्कता अपनाउन आग्रह

३ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने उनले बताए ।

अर्यालले अनलाइनखबरसँग भने, ‘भोलिबाट यसको प्रभाव राम्रै पर्छ । पर्सिबाट जब चक्रवातको सिस्टम हाम्रोमा रहेको पश्चिमी वायुसँग मर्ज हुन्छ तब अझै बढी प्रभाव पर्छ ।’

 

बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रिमनसुन अवधिमा विकसित चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले शुक्रबारसम्म पर्वतारोहण नगर्न/नगराउन भनेको छ ।

चक्रवातका कारण छिमेकी मुलुक भारतका महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक, गुजरात लगायत क्षेत्रको जनजीवन आइतबारदेखि नै प्रभावित भएको छ । भारतका मिडियाहरुले चक्रवातका कारण १२ जनाको मृत्यु भएको जनाएका छन् ।

चक्रवात प्रभावित क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियान रोकिएको र कयौंलाई सुरक्षित स्थानमा सारिएको समाचार छ । यो चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ ।

यो पनि पढ्नुहोस अरब सागरमा चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment