विश्व व्यापार सङ्गठन (डब्लूटीओ)ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुनसक्ने चेतावनी दिएको छ ।
डब्लूटीओको मङ्गलबार सार्वजनिक ‘विश्व व्यापार प्रतिवेदन २०२६ : विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा विगत ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको छ ।
‘बहुपक्षीय व्यापार प्रणालीले विगत ८० वर्षमा ठूलो लाभ प्रदान गरेको छ र अझ एकीकृत तथा लचिलो विश्व अर्थतन्त्र निर्माण गर्न सहयोग गरेको छ,’ डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले भने ।
उनका अनुसार विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत हिस्सा अझै पनि डब्लूटीओको ‘मोस्ट–फेभर्ड–नेसन’ (सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र) व्यवस्थाअन्तर्गत हुने गरेको छ ।
‘विश्वव्यापी व्यापारको परिदृश्यमा उल्लेखनीय परिवर्तन आएको छ, तर यस प्रणाली स्थापनाको मूल मर्म–एकपक्षीय रूपमा काम गर्नुभन्दा सहकार्य गर्दा सबै अर्थतन्त्रलाई फाइदा हुन्छ भन्ने मान्यता–आज पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भने ।
डब्लूटीओ सदस्य राष्ट्रहरूले सुधारका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको र वर्तमान अवस्था यथावत् राख्नु विकल्प नभएको बुझेको पनि उनले बताए ।
प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका तीन सम्भावित परिदृश्य प्रस्तुत गरेको छ । बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् २०५० सम्म विश्वको जीडीपी दुई दशमलव नौ प्रतिशत र निर्यात १७ दशमलव नौ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू–राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी पाँच दशमलव एक प्रतिशत र निर्यात १८ दशमलव छ प्रतिशतले घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।्
बहुपक्षीय सहकार्यलाई स्वतन्त्र व्यापार सम्झौताको सञ्जालले प्रतिस्थापन गरेको अवस्थामा भने विश्वको जीडीपी छ दशमलव नौ प्रतिशत र निर्यात २६ दशमलव नौ प्रतिशतले घट्नसक्ने अनुमान गरिएको छ ।
डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार बलियो बहुपक्षीय सहकार्य र व्यापार प्रणाली कमजोर हुने अवस्थाबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्नसक्छ ।
प्रतिवेदनका अनुसार आठ दशकभन्दा लामो अवधिमा बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोध घटाउन, विश्व व्यापारलाई झन्डै ५० गुणाले विस्तार गर्न तथा थप एकीकृत र नियममा आधारित विश्व अर्थतन्त्र निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ । –रासस
प्रतिक्रिया 4