+
+
Shares

बैंक-वित्तीय संस्थाले प्राविधिक र जलवायु परिवर्तन जोखिम पनि सम्बोधन गर्नुपर्ने 

केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ मा जलवायु परिवर्तन र प्राविधक जोखिमको पनि पहिचान र व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको हो ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ मार्फत बैंक तथा वित्तीय संस्थालाई जलवायु परिवर्तन र प्राविधिक जोखिम पहिचान तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
  • मार्गदर्शनले कर्जा, तरलता, सञ्चालन, बजार र ब्याजदर जोखिमसँगै साइबर आक्रमण, डाटा चुहावट र विपत पुनरुत्थान व्यवस्थापनका उपाय तोकेको छ ।
  • मार्गदर्शनले सञ्चालक समिति, उच्च व्यवस्थापन, स्वतन्त्र मुख्य जोखिम अधिकृत र प्रभावकारी व्यवस्थापन सूचना प्रणालीमार्फत जोखिम व्यवस्थापन गर्न सुझाव दिएको छ ।

३० भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सम्बोधन गर्नुपर्ने दुई क्षेत्रका जोखिम थप भएका छन् ।

केन्द्रीय बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ मा जलवायु परिवर्तन र प्राविधक जोखिमको पनि पहिचान र व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले जोखिम व्यवस्थापन मार्गदर्शन २०१८ नियमित गर्दै नयाँ जोखिमका क्षेत्र समेटेको हो । सामान्यतया बैंकिङ क्षेत्रमा कर्जा, तरलता, सञ्चालन, बजार र ब्याजदर जोखिम पहिचान तथा त्यसको व्यवस्थापन हुँदै आएको छ ।

अब भने प्रविधिको बढ्दो प्रयोग र जलवायु परिवर्तनले पनि वित्तीय क्षेत्रमा जोखिम ल्याउने भन्दै त्यसको पहिचान ,न्यूनीकरण तथा व्यवस्थापन गर्नुपर्ने भन्दै केन्द्रीय बैंकले मार्गदर्शनमा समेटेको हो ।

मार्गदर्शन अनुसार कर्जा जोखिममा ऋणीले आफ्नो दायित्व पूरा नगर्दा हुन सक्ने नोक्सानीसँग यो सम्बन्धित छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले स्पष्ट कर्जा नीति, कर्जा प्रवाह प्रक्रिया, कर्जा मूल्यांकन, जोखिमका आधारमा सीमा निर्धारण, निरन्तर अनुगमन र पर्याप्त नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी तरलता तथा कोष जोखिमलाई पनि विशेष महत्त्वसाथ पहिचान र व्यवस्थापन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । दैनिक वित्तीय दायित्व र आकस्मिक कोषको आवश्यकता समयमै पूरा गर्न नसक्ने जोखिम आउन नदिन बैंक तथा वित्तीय संस्थाले तरलता सीमा निर्धारण, प्रारम्भिक चेतावनी सूचक, निक्षेपको विविधीकरण, अनुगमन र आकस्मिक कोष योजना गर्नुपर्ने व्यवस्था मागर्दशनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थामा धेरै मात्रामा पहिचान हुने सञ्चालन जोखिम हो । यस्तो जोखिम पहिचान तथा न्यूनीकरण गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आन्तरिक नियन्त्रण प्रणाली विकास गरेर काम गर्न भनेको छ ।

सोही अनुसार बैंक तथा वित्तीय संस्थाले आन्तरिक प्रणाली, जनशक्ति, प्रक्रियागत असफलता वा वाह्य घटनाबाट सिर्जित हुने नोक्सानीलाई यस्तो जोखिममा वर्गीकरण गर्छन् ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणाली, अधिकारको स्पष्ट विभाजन, सम्पत्ति शुद्धीकरण नियन्त्रण र व्यवसाय निरन्तरता योजना बनाइ काम गर्नुपर्ने मार्गदर्शनले तोकेको छ ।

त्यस्तै विदेशी विनिमय दर, सेयर मूल्यमा हुने उतारचढावले संस्थाको पोर्टफोलियोमा प्रतिकूल असर पार्न सक्छ । यसलाई बजार जोखिम पनि भनिन्छ । यसको व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले बजार जोखिमको सीमा निर्धारण, नियमित मापन, अनुगमन र पोर्टफोलियो नियन्त्रण ढाँचा बनाइ लागु गर्नुपर्ने मागर्दशनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदरमा हुने परिवर्तनका कारण पनि आम्दानी वा पूँजीको मूल्यमा पर्न सक्ने असर पहिचान तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले ब्याजदर संवेदनशीलता मापन, सीमा निर्धारण र नियमित अनुगमन तथा प्रतिवेदन बनाइ काम गर्नुपर्ने मार्गदर्शनले सुझाएको छ ।

त्यसैगरी बैंकिङ क्षेत्रमा बढ्दो प्रविधि प्रयोगले अर्को जोखिम थपेको मार्गदर्शनमा उल्लेख छ । मार्गदर्शन अनुसार सूचना प्रविधि प्रणालीको असफलता, साइबर आक्रमण, डाटा सुरक्षामा आउने चुहावटबाट हुने जोखिम पहिचान तथा व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसका लागि बैंकले सबल साइबर सुरक्षा, प्रविधि जोखिम मूल्यांकन, डाटा गोपनीयता र विपत पुनरुत्थान व्यवस्था गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

त्यसैगरी केन्द्रीय बैंकले सन् २०२६ मा थप गरेको अर्को जलवायु जोखिम हो । जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कार्बन उत्सर्जनले सिर्जना गर्न सक्ने जोखिम पहिचान गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाले जलवायु जोखिम पहिचान, रणनीतिक योजनामा जलवायु जोखिम समायोजन र आकस्मिक योजना जस्ता व्यवस्थापनका उपाय अवलम्बन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

मार्गदर्शनले जोखिम व्यवस्थापनका मुख्य आधारमा तीन पंक्ति मोडेल सुझाएको छ । त्यसमा सञ्चालन एकाइ, जोखिम तथा अनुपालन विभाग र आन्तरिक लेखा परीक्षण छन् ।

बैंक तथा वित्तीय संस्थाले सञ्चालक समिति र उच्च व्यवस्थापनको प्रत्यक्ष निगरानी, स्वतन्त्र मुख्य जोखिम अधिकृत र प्रभावकारी व्यवस्थापन सूचना प्रणाली विकास गरी काम गर्न मागदर्शनले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?