Comments Add Comment

खाद्यान्नको कोटा बढाउन माग

१२ चैत, जाजरकोट । बर्सेनि खाद्यान्न संकट हुने जिल्लाको बारेकोट क्षेत्रका स्थानीयले घाट डिपोमा चामलको कोटा बढाउन माग गरेका छन् ।

सक्ला, रोकायगाउँ, रामीडाँडा र नायकवाडा गाविसका स्थानीयवासीले घाटमा रहेको खाद्य डिपोमा चामलको कोटा बढाउन नेपाल खाद्य संस्थान शाखा प्रमुख धर्मबहादुर बस्नेतलाई आग्रह गरेका हुन् ।

संस्थानका प्रमुख खाद्य संकट रहेको बारेकोट क्षेत्र पुगेको अवसरमा यहाँका स्थानीयले यस्तो माग गरेका हुन् । खाद्य प्रमुख यहाँका दूरदराजमा रहेको खाद्य डिपोमा २५ वर्षपछि पुगेको स्थानीयले बताएका छन् ।

यस डिपोमा वितरण हुँदै आएको वार्षिक आठसय क्विन्टल चामल अपर्याप्त भएको भन्दै जनसङ्ख्याअनुसारको थप खाद्यान्न आपूर्ति हुनुपर्ने माग गरेका हुन् ।

यहाँका स्थानीयले उत्पादन गरेको अन्नले चार महिना पनि खाना नपुग्ने भएका कारण बारेकोटका जनसाधारणले खाद्यान्नको कोटा बढाउन माग गरेका छन् ।

जुम्ला, डोल्पाको सिमानासँग जोडिएको बारेकोट क्षेत्रमा पर्याप्त सिँचाइको सुविधा नहुनु, भीरालो जमिन, अत्याधिक चिसो हुने भएका कारण यहाँका किसानहरूले आयात गरिएको खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ ।

बजारमा पाइने चामल कम गुणस्तरको हुनुका साथै तोकिएको तौल नहुनुले निकै समस्या रहेको नायकवाडका पूर्व गाविस अध्यक्ष नीमबहादुर सिंहले जानकारी दिए ।

सडक सञ्जालले नछोएको यस बारेकोट क्षेत्रमा सदरमुकाम जान र आउन मात्र चार दिनभन्दा बढी लाग्ने गरेको रामीडाडाँका हरिबहादुर थापाले बताए ।

मानिस र खच्चडले बारेकोट क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी हुने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment