Comments Add Comment

नयाँ संविधानले बिर्सायो भूकम्पको पीडा

earthquake (16)

३ असोज, भक्तपुर । भूकम्पले घर भत्काएर टहराको बास भए पनि देशले संविधान पाउने भएपछि भूकम्पको पीडालाई बिर्सिएर रमाएका छन् भक्तपुरका भूकम्पपीडित ।

संविधान पाउने भएपछि देशमा शान्ति स्थापना हुने र विकासले फड्को मार्ने विश्वासमा यहाँका भूकम्पपीडित खुसीले रमाएका हुन् । ‘आज संविधान जारी हुने दिन, भूकम्पको पीडालाई बिर्सिएर रमाएका छौँ हामी’, भक्तपुर नगरपालिकाका रामशरण लाखाले भने,  ‘संविधान पाएसँगै अब देशमा शान्ति, स्थायित्व र विकास हुन्छ भनेर खुसी भएका हौँ ।’

भक्तपुरका आफ्ना साथीहरु मिलेर आज दीपावली मनाउने तयारीमा जुटेको बताउँदै उनले भने, ‘यतिखेर संविधानको रौनकले भूकम्पलाई बिर्सियौँ ।’

गुण्डुका रवीन्द्र सापकोटालाई आज भ्याइनभ्याई छ । संविधान जारी हुने भएपछि साँझ जिल्लाको सूर्यविनायकस्थित पाण्डु बजारमा मानवीय आस्था नेपालले दीपावली गर्ने तयारी गरेपछि उनलाई भ्याइनभ्याई भएको हो ।

भूकम्पले विनाश गरेलगत्तै भूकम्पपीडितको सेवामा जुट्न स्थापना भएको मानवीय आस्था नेपालका महासचिवसमेत रहेका सापकोटाले सूर्यविनायकदेखि पाण्डुबजारसम्म आज साँझ दीपावली गरिने बताए ।

सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले पनि नयाँ संविधानलाई स्वागत गर्दै विभिन्न सामाजिक संस्थाले आज दीपावली गर्न लागेको बताए । ‘गाउँमा आज संविधान आउन लागेकामा खुसियाली छ, बिहानैदेखि दसैँ आएजस्तै भएको छ,’ उनले भने ।

भूकम्पले घर भत्काएपछि त्रिपालको बास भएको महेश्वरी खेल मैदानमा भेटिएका भूकम्पपीडित रामप्रसाद श्रेष्ठ पनि संविधान आउने भएपछि खुसी भएको बताउँछन् ।

‘भूकम्पको पीडा त चार महिना पुरानो भइसक्यो, कहिल्यै निको नहुने भूकम्पको घाउलाई अहिले नयाँ आउन लागेको संविधानले छोपिदिएको छ, अब त सरकारले भूकम्पपीडितको सही व्यवस्थापन गर्ला भन्ने आशा पलाएको छ,’ उनले भने ।

ताथली सौडोलकी भूकम्पपीडित सारदा खड्का संविधान आएपछि देशमै धेरैले रोजगारी पाउनेमा विश्वस्त छिन् । उनी भ्रन्छिन्, ‘अब त देशमा शान्ति हुन्छ, स्वदेशी तथा विदेशीले लगानी पनि बढाउलान्, हामीजस्ता महिलाले पनि रोजगारी पाउँछौँ होला, संविधान आउने भएपछि म त निकै खुसी छु ।’

अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका भाइकृष्ण श्रेष्ठ संविधानले सबैमा खुसी ल्याएको बताउँछन् । संविधानलाई स्वागत गर्न आज गुप्तेश्वर मन्दिर परिषरबाट भक्तपुरको सिरुटार, बालकोट र ललितपुरको चाँगाथलीसम्म दीपावली गर्ने उनले बताए ।

संविधान जारी हुने भएपछि भक्तपुरमा चौतर्फी रुपमा खुसियाली मनाउन थालिएको छ । कोही भित्तामा नयाँ संविधानलाई स्वागत गर्ने पेन्टिङमा व्यस्त छन् भने कोही दीपावलीको तयारीमा व्यस्त रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment