Comments Add Comment

गौर भन्सार चौथो दिन पनि ठप्प, औषधिसमेत अभाव

 gaur-vansar-naka-jaam

गौतम श्रेष्ठ

१० असोज, रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको संयुक्त नेतृत्वमा आइतबार चौथो दिन पनि गौर भन्सार नाका ठप्प भएको छ । नेपाल-भारत सीमामा रहेको पुलमा बसेर मोर्चाका नेता-कार्यकर्ताहरुले नाकाबन्द गरेपछि कारोबार ठप्प छ ।

नेपाल सदभावना पार्टीका अध्यक्ष तथा पूर्वउद्योगमन्त्री अनिल झा, सभासद डिम्पल झा, पूर्वसभासद रम्भा देवीलगायत संयुक्त लोकतान्त्रिक मोर्चाका नेता-कार्यकर्ताले पुलमै बसेर विरोध प्रदर्शन गरेका छन् । सीमावर्ती बैरगनिया (भारतीय बजार)बाट नेपाली बजार गौरसम्म कुनै पनि सवारी साधन चलेका छैनन् ।

यस नाकाबाट प्रायः तरकारी, खाद्यान्न, आलु, कपडा तथा उद्योगका लागि चाहिने कोइला कच्चापदार्थहरु व्यापारीहरुले भित्राउने गर्दछन् ।

छोटी भन्सार नाका पनि बन्द

यसैगरी मोर्चाकै संयोजनमा औरैयामा रहेको छोटी भन्सार नाका पनि बन्द भएको छ । सो क्षेत्रमा रहेको मनमोहनद्वार अगाडि पनि मोर्चाका नेता कार्यकर्ता विगत ३ दिनदेखि रिले अनशनमा बसेका छन् ।

मोर्चाले गरेका अनिश्चितकालीन मधेस बन्दको आज ४४ औं दिनसम्म आइपुग्दा रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बन्दका कारण पेट्रोलीयम पदार्थ ढुवानी हुन नसक्दा रौतहटका सम्पूर्ण पेट्रोलपम्पहरु बन्द भइसकेका छन् । खाना पकाउने ग्यास पनि अभाव भएको छ । बन्दका कारण औषधि समेत अभाव भएको छ । हरियो तरकारी र खाद्यान्नको मूल्य आकासिएपछि स्थानियको भान्सा समेत प्रभावित बनेको छ ।

मोर्चाले शुरु गरेको आन्दोलनका कारण रौतहटको गरुडाभन्दा दक्षिणका सबै बजार झण्डै ७ सातादेखि बन्द हुँदा स्थानीयको दैनिकी पूर्णरुपले प्रभावित भएको छ । आन्दोलनका कारण यातायात, सरकारी कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था तथा व्यापार व्यवसाय समेत पूर्णरुपमा बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment