Comments Add Comment

सस्ता कलाकारः युटुबमा लाखौ भ्यूज, हलमा शुन्य दर्शक

‘फ्रि’मा हेर्न पाएपछि ‘फि’ कसले तिर्छ ?

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’लाई रिलिज पूर्व निकै प्रतिक्षित रुपमा हेरिएको थियो । तर, यो चलचित्रले ‘इनिशियल’ व्यापार सोचे जस्तो गर्न सकेन । अनमोलको क्रेज रिलिजकोको पहिलो दिन अर्थात शुक्रबार देखिएन ।

शुक्रबार दर्शक हलमा नदेखिनुको कारण को हो त ? यसको जवाफ हरेक मानिसले भिन्न भिन्न तरिकाले दिन सक्लान् । तर, यसको एउटा कारण छ, चलचित्र रिलिजको अन्तिम समयमा अनमोल केसी सस्तो हुनु । अनमोलले चलचित्र रिलिजको समयमा युटुबमा चलचित्रको संवाददेखि नायिकासँग प्रेम गरे ।

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको केमेष्ट्री युटुबमै हेरेर दर्शक अघाइसकेका थिए । यसैले पनि उनीहरु हलसम्म पुग्न खासै रुची देखाएनन् । अनमोल मात्र होइनन्, धेरै कलाकारहरु चलचित्रको रिलिजको समयमा जती धेरै इन्टरभ्यू दिन सक्यो उती नै फाइदा चलचित्रको व्यापारमा हुन्छ भन्ने सोच्छन् । तर, गहकिला कुरा भन्दा पनि सस्ता कुरामा कलाकार अल्झिदा त्यसले दर्शकलाई हलसम्म तान्न सकेको छैन । रिलिजको समयमा कलाकारले आफ्नो चलचित्रको प्रचार गर्नु सामान्य कुरा हो । उनीहरु आफ्नो चलचित्रको धेरै प्रचार होस्, धेरै दर्शकले चलचित्रको बारेमा बुझ्ने मौका पाउन भन्ने चाहन्छन् । यो लोभ स्वभाविक पनि हो ।

तर, कुराकानीमा के बोल्ने के नबोल्ने, के गर्ने के नगर्ने भन्ने छुट्याउन नसक्दा कलाकार चलचित्र रिलिज अगाडि नै सस्ता भैदिन्छन् । चलचित्र प्रचारका लागि युटुब एउटा राम्रो माध्यम हो । तर, दर्शकसम्म चलचित्रको बिषयमा जानकारी मात्र पुगेको छ कि, यस्तो प्रचारले दर्शकलाई हलसम्म आउनका लागि उत्प्रेरित गरेको छ भन्ने पनि वुझ्न आवश्यक छ । होइन भने, युटुबको भ्यूज र ट्रेन्डिङमा रमायो, हलमा दर्शक नआउँदा टाउको समाएर बस्नुको विकल्प नै छैन ।

अहिले कलाकार युटुबमुखी भएका छन् । धेरै भन्दा धेरै क्यामेरा आफ्नो अगाडि देख्दा उनीहरु दंग पर्छन् र आफू सुपरस्टार भएको भ्रममा रमाउन थाल्छन् । क्यामेराको अगाडि बसेर बुममा आवाज दियो भने त चलचित्रको पूर्ण प्रचार भएको ठान्छन् उनीहरु । तर, उनीहरुलाई के थाहा, आफूले बोलेको कुरा बांगिएर वा टुक्रिएर गलत आशयमा प्रकाशित हुन्छ ।

कलाकारले त्यो समय पश्चताप गर्नुको कुनै विकल्प नै रहँदैन । उजुरी गर्न जाउँ, कहाँ जाऊ ? जब की त्यो गलत गर्ने युट्युब च्यानल कतै दर्ता भएर संचालन भएको पनि हुन्न । त्यो समय कलाकारहरुले मिडियालाई गाली गर्न थाल्छन् । उनीहरु नै बडो फुर्ती देखाएर फेसबुकमा स्टाटस लेख्छन् ।

कलाकारहरु मिडियासँग समानन्तर र सन्तुलित सम्बन्ध पनि स्थापित गर्न नसकेको पाइन्छ । त्यसको नतिजा के भने, उनीहरुले बोल्न नचाहेका, खोल्न नचाहेका कुरा पनि छ्यापछ्याप्ती ‘भाइरल’ भएका छन् । एउटा प्रसंगमा बोलेको कुरालाई अर्कै आशयले पेश गरिन्छ । अहिले युट्युबमा हेर्ने हो भने, त्यस्ता हजारौ सामाग्री भेटिन्छ जहाँ गलत तरिकाले सेलिब्रेटीलाई पेश गरिएको छ । यसको प्रत्यक्ष प्रभाव भने उनीहरुको करिअरमा परिरहेको हुन्छ ।

युट्युबमा आएको गलत तरिकाको हेडलाइन र आशय नै मर्ने गरी बोलेको कुरा काटेर प्रकाशित भएको भिडियोले कलाकारको ‘इमेज’ खराब बन्न थालेको छ । यो बारेमा कलाकार अझै पनि सजग छैनन् । दिनहुँ जस्तो आएका युटुब अन्तर्वार्ता, टिकटक भिडियो, इन्स्टाग्राम स्टोरी लगायताका कुराबाट दर्शक कलाकारको सम्पूर्ण कुराहरुमा जानकार हुन्छन् । क्यामेरा अगाडि परेपछि घरकै बेडरुमदेखि व्यक्तिगत कुरालाई समेत कलाकारले उदांगो पारिदिदा दर्शकको सामु उनीहरु हलुका भएका छन् ।

सेलिब्रेटी भनेको सबैले चिन्ने, चर्चित वा लोकप्रिय भन्ने हुन्छ । उनीहरुलाई साधारण व्यक्तिले आफू भन्दा माथिल्लो तहको सोच्छ । तर, कलाकारका सस्ता कुरा र हलुका टिप्पणीले दर्शकमा उनीहरुप्रतिको भ्रम टुट्न थालेको छ । यहीकारणले नै हो, हिजोआज युटुबमा लाखौ भ्यूज पाउने कलाकारको चलचित्रले हलमा दर्शकलाई तान्न सकेको छैन ।

चलचित्र हलमा सुपरहिट नभएसम्म त्यो कलाकारको क्रेज मापन गर्न सकिदैन । युटुबको भ्यूज, फेसबुकका लाइक र इन्स्टाग्राममा आउने कमेन्टमा रमाएर धेरै कलाकार हिजोआज आँखामा पट्टी बाँधेर सुपरस्टार हुँ भन्ने भ्रममा रमाएका छन् । तर, जब पट्टी खोलेर हलतिर हेर्दा दर्शकको संख्या शुन्य हुन्छ, त्यतिबेला मात्र उनीहरु झसंग हुन्छन् ।

डिजिटल भ्यूजलाई हलसम्म कन्भर्ट गर्न निकै मुश्किल छ । यसैले डिजिटल भ्यूजको लोभमा आफ्नो सबै कुरा उदांगो भएको हेरिरहने कि अब त सजग हुने, सोच्ने पालो कलाकारको नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment