Comments Add Comment

नेपाली युवतीका साथमा यत्रो हतियार !

Mankumari-Cnongbang

३० असोज, ताप्लेजुङ । तस्वीरमा देखिएकी युवती ताप्लेजुङको सान्थाक्रा निवासी ३३ वर्षीया मनकुमारी चोङबाङ हुन् । मनमायालाई चारवटा बन्दूक, दुईवटा पिस्तोल, पाइप बम र अन्य विस्फोटक पदार्थसहित ताप्लेजुङ प्रहरीले जिल्लाको अति दूर्गम ईखाबु- ४ स्थित चौंरीगोठबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी युवतीका साथबाट बरामद गरिएका केही झण्डा र कागजातसमेत प्रहरीले शनिबार सार्वजनिक गरेको छ । पक्राउ परेकी मनकुमारी कथित ‘हाराहाङ समूह’की सदस्य रहेको खुलेको छ ।

हारहाङ ताप्लेजुङको इखाबु गाविसका देउमान लिम्बू हुन् । प्रहरीले चौंरीगोठमा छापा मादा हाराहाङसहित ६ जना फायरिङ गर्दै भाग्न सफल भएका थिए भने मनकुमारीचाहिँ हातहतियारसहित प्रहरीको फन्दामा परिन् ।

प्रहरीले शनिबार फुङलिङमा पत्रकार सम्मेलन गरेर मनकुमारीलाई सार्वजनिक गरेको छ । उनको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित हातहतियार फेला परेको घटनाले ताप्लेजुङमा हल्लीखल्ली मच्चिएको छ ।

को हुन् हाराहाङ ?

हाराहाङ उर्फ देउमान लिम्बु विभिन्न फौजदारी अपराधमा संलग्न रही प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका व्यक्ति हुन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको दुई नम्बर गेट नजिकै ०७१ साल कात्तिक १६ गते भएको बम बिष्फोटमा उनको संलग्ना रहेको प्रहरीको दाबी छ ।

साथै हाराहाङमाथि ज्यान मार्ने उद्योग र डकैतीसमेत गरी तीनवटा मुद्दा छ । उनीविरुद्ध अन्य जिल्लाहरुमा समेत एक दर्जनभन्दा बढी फौजदारी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

Mankumari-Cnongbang-1

हाराहाङको समूहले इखाबु-४ स्थित चौरीखर्कको एक गोठमा लुकेर तल्लो गाउँमा अलैंची बेच्ने किसानको पैसा लुट्ने गरेको थियो । यस्तो लुटपाटको सूचना पाएपछि प्रहरीले मोस्ट वान्टेडको सूचीमा रहेका उनलाई पक्राउ गर्न सर्च अभियान चलाएको थियो ।

सदुरमुकामबाट दुई दिन टाढा पर्ने दुर्गम चौरीगोठमा छापा मार्दा हाराहाङसहित ६ जना लुटेराहरु भाग्न सफल भएका छन् । भाग्ने क्रममा मनकुमारी चोङ्वाङ पक्राउ परिन् । उनका साथबाट प्रहरीले चारवटा भरुवा बन्दुक, एउटा पेस्तोल, एउटा कटुवा पेस्तोल, तीन थान मोबाईल, तार जडित पाईप बम बरामद गरेको छ ।

चोङवाङसँगै रहेका अन्य ६ जना भने फायरिङ गर्दै भागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । हाराहाङ भने अघिल्लो दिन नै गोठ छाडेर निस्किएकाले फेला नपरेको उनले बताए ।

ताप्लेजुङ सदरमुकामदेखि करीब दुई दिनको पैदलयात्रामा मात्र पुग्न सकिने सो हिमाली क्षेत्रको गोठमा सेल्टर लिएर तल रहेका गाउँमा आई स्थानीयलाई धम्क्याउँदै अलैंची र रकम असुल्न हाराहाङसहित उनको नेतृत्वको समुह सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा विगत केही महिनादेखि अनुसन्धान गर्दै आएको थियो । यसैक्रममा शुक्रबार बिहान करीब चारबजे मनकुमारीसहित विस्फोटक सामाग्री बरामत गर्न प्रहरी सफल भएको छ ।

लुटेराको ‘कभर’मा लिम्बुवानको राजनीति

लुटेरा समूहले राजनीतिको आड लिने प्रचलन नेपालमा बढ्दै गएको छ । मधेसमा पनि लुटेर समूहले मधेस मुक्तिको कुरा गरेजस्तै ताप्लेजुङ लगायतका जिल्लामा कतिपय सशस्त्र समूहले आफ्नो लुटपाटलाई बैधानिकता दिन राजनीतिको आड लिने गरेका छन् । हाराहाङ समूहले पनि त्यसै गर्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकी मनकुमारीका साथबाट प्रहरीले ‘किरात मुलबासी स्वतन्त्र लिम्बुवान केन्दि्रय कार्य समिति’ लेखिएका परिचयपत्रहरु, दस्तावेज र सो समूहको झण्डा लगायतका सामाग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न भूमिगत पार्टीका नाममा सर्वसाधारणलाई आतंकित पार्दै आपराधिक क्रियाकलाप गर्दै आएका थिए । लिम्बुवान राजनीतिको आड लिए पनि उनीहरुले लुटेरा समूहका रुपमा काम गर्दै आएको प्रहरीको भनाइ छ ।

पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लामा किरात लिम्बुवान राष्ट्रिय परिषद्, लिम्बुवान क्रान्तिकारी पार्टी, लिम्बुवान भूमि मुक्ति राष्ट्रिय पार्टी नेपाल लगायतका विभिन्न नाममा विध्वंस मच्चाइने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment