Comments Add Comment

भूकम्पपीडितको जस्तापाता खुल्ला चौरमा अलपत्र

Jastapata

रविन्द्र घिमिरे

१९ कात्तिक, काठमाडौं । भूकम्पपछि साल्ट ट्रेडिङ कर्पोरेशनले खरिद गरेको झण्डै ५० हजार बडण्ल जस्तापाता खुल्ला चौरमा अलपत्र परेको छ ।

भूकम्पमा ध्वस्त भएका स्वास्थ्य तथा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि खरिद गरिएको जस्ता अलपत्र परेको हो ।

साल्ट ट्रेडिङले भारतबाट जिन्दल ब्राण्डको जस्तापाता भित्र्याएको हो । जस्ता किन्न झण्डै ४० करोड रुपैयाँ खर्च भएको छ । असारमा खरिद गरिएको जस्तापातामा सरकारले आधा भन्सार मिनाह गरेको थियो ।

तत्कालीन मन्त्रिपरिषदको निर्णयअनुसार नै जस्तापाता खरिद गरिएको साल्ट ट्रेडिङले जनाएको छ । तर, प्रयोग नभएपछि ती जस्तापाता वीरगञ्जमा खुला आकाशमुनि खिया लाग्ने अवस्थामा पुगेको छ ।

‘जस्तापाता किन्ने बेच्ने हाम्रो योजना थिएन । तर, सरकारी निर्णयअनुरुप हामीले टेण्डर प्रक्रिया पूरा गरे खरिद गर्‍यौं । तर, अहिले कुनै सरकारी निकायले जस्ता लिन मानेका छैनन् ।’ साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरसँग भने ।

किनिएको जस्ता सुरक्षित रुपमा भण्डारण गर्न साल्ट ट्रेडिङलाई समस्या परेको छ । नुन र चिनी राखिने आफ्नो गोदाममा राख्दा छिटै खिया लाग्ने डरका कारण साल्ट ट्रेडिङले ती जस्तापाता वीरगञ्जस्थित खाद्य संस्थानको गोदाममा राखेको छ ।

खुला आकाशमुनि राखिएको जस्तापातामा खिया लाग्ने सम्भावना देखिएको छ । जस्ता भण्डारण गर्न सुरक्षित स्थानको अभाव भएको प्रवक्ता राजभण्डारीले बताए ।

‘जस्ता खरिद गर्न शिक्षा र स्वास्थ्य मन्त्रालयमा हामीले पटक-पटक आग्रह गर्‍यौं । तर, कुनै निकायले त्यसमा सुनुवाइ गरेनन्,’ प्रवक्ता राजभण्डारीले भने ।

केका लागि किनियो ?

नेपालमा जस्तापाताको चरम अभाव भएका बेला शिक्षण संस्थामा र स्वास्थ्य केन्द्रहरुको पुनर्निर्माणका लागि सरकारले साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङमार्फत जस्ता किन्ने निर्णय गरेको थियो ।

ती जस्तापाता स्कुल तथा स्वास्थ्य संस्थाका पुनर्निमाणमा प्रयोग गर्ने सरकारी योजना थियो । त्यतिबेला भूकम्प प्रभावित विद्यालयलाई जस्तापाता उपलब्ध गराउने तयारी पनि भएको थियो । तर, वर्षा टरेपछि सरकारले अस्थायी टहरामा सञ्चालन भएका विद्यालयलाई पनि जस्तापाता उपलब्ध गराउन चासो दिएको छैन ।

शिक्षा मन्त्रालय भन्छ- जस्तापाता हामी किन्छौं

जस्तापाता खरिदमा असहयोग गरेको बारे शिक्षा मन्त्रालयले भने अनविज्ञता जनाएको छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले आफूहरुलाई अहिलेसम्म साल्ट ट्रेडिङमा जस्तापाता भएकोबारे जानकारी नभएको बताए ।

‘हाम्रा विद्यालय अझै छाप्रामै छन्, हामी जस्ता नपाएर हैरान भएका छौं । शैक्षिक संस्थाका लागि जस्ता किनिएकोबारे आधिकारिक जानकारी हामीलाई अहिलेसम्म छैन,’ प्रवक्ता लम्सालले भने, ‘सरकारले नै विद्यालयका लागि भनेर साल्ट ट्रेडिङमार्फत जस्तापाता किनेको हो भने हामी त्यो खरिद गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment