Comments Add Comment

लघुकथा-त्यो यात्रा र यो निम्तो

वैकुण्ठ ढकाल

कलंकी-बल्खु-सानेपा-एकान्तकुना-सातदोबाटको -ग्वार्को -कोटेश्वर-भक्तपुर, बसको ढोकामा उभिएको मैलोधैलो एक बालक चिच्याईरहेको थियो । एकै सासमा कलंकीदेखि भक्तपुरसम्मका मूख्यमूख्य चोकहरुको नाम चिच्याउँथ्यो ।

Baikunthaकलंकीबाट बस गुड्दैथियो । साँझको समय सबैलाई घर र्फकन हतार, कलंकीमै बसको सीट प्याक । यात्रुहरु त्यही एउटा बस बाहेक अरु कुनै बस सडकमा गुड्दैन जस्तै गर्दैथे ।

अषेश अघिदेखि नै बसको डण्डीमा समाएर उभिएकै थियो । प्रत्येक स्टपमा ओलर्ने भन्दा चढ्ने यात्रुकै संख्या बढि थियो । एकान्तकुनाबाट यात्रुको ठूलो संख्या थपियो ।

झ्यालको सिसा खोलेर अघिकै मैलोधैलो खलासी चिच्याउँदै थियो (‘दिदी, दाइहरु पछि पछि सर्दिनुस त ! अनि सडकमा उफ्रिउफ्रि कराउँदै थियो, अब अर्को गाडि आउँदैन है !)’

यात्रुहरु बरबराउँदै थिए- ‘कोच्न सकेको मान्छे, ठाउँ न थर बूढीको रहर, कति चाहिने रे’छ, यसलाई पैसा ।’

अषेशको अगाडि जीउडाल मिलेकी रसले भरिएकी एउटा नारी उभिन आईपुगीन् । (सिटमा बसेकाहरु कानेखुशी गर्दैथिए -क्वा च्याङ रहिछ, ठ्याक्कै उचाई पनि मिलेको । बजियालाई चिट्ठा नै पर्‍यो, हामीले पनि सिट नपाएको भए हुन्थ्यो नि …..!)

उफ् ! के को जाम हो फेरी ? जसो तसो बस सातदोबाटो पुग्यो, सातदोबाटोमा पनि उत्तिकै मान्छे ।

अषेश-‘बहिनी कहाँ पुग्ने ?’
‘सुर्य बिनायक’
‘नाम चाहि के हो नि ?’
‘अस्मिता’
‘सारै राम्रो नाम, म चाहिं अषेश, अस्मिता-अशेष, संयोगले हाम्रो नामको रिदम पनि मिलेछ’
‘अस्मिताको शरीर त, क्या नरम डलफ जस्तै’

(अस्मिता फरक्क पछाडि फर्केर, अषेशको अनुहार हेरिन, ढाडे आँखा पल्टाईन, बोल्न चाहिं केहि बोलिनन)
अशेष केहि हच्कियो । कोटेश्वर पुगेपछि यात्रु झन थपिए । यात्रुको चापले अस्मिता र अषेशलाई झन नजिकै ल्यायो, लपक्कै टाँसिए ।
‘डलफमाथि सुत्न, क्या गजप हुन्छ है !’
‘के रे ?’
‘सार्‍है गर्मी भयो भन्या नि !’
‘त्यही भएर त धेरै नपेल्नु भन्या नि ……..’

बस सुर्यबिनायक पुगेर रोकियो, अस्मिता उत्रिईन, सडकमा उभिएर हात हल्लाईन, अनुहार रातो थियो । कानको जरीबुटीबाट झरेको पसिनाले दुबै गाला भिजेका थिए ।

(अषेश पनि, घर पुगेर, जुत्तै नखोली डङरङ खाटमा पल्टियो, आँखा खुल्लै राखेर, सिलिङतिर हेरेर केहिबेर अगाडि भएको बसको यात्रा सम्झिरहृयो । कत्तिखेर निदाएछ । पत्तै भएन ।)

एक बर्षपछि अषेश आफ्नै बिबाहको निम्तो लिएर सानीआमाको घरमा पुग्यो । ऊ सानीआमाको घर पुगेको यो दोस्रो पटक हो, यस अघि ऊ आफ्नो ब्रतबन्धको निम्तो दिन पुगेको थियो ।

साँझ परिसकेको थियो । अषेशले टाढैबाट सानीआमाका बारेमा सोध्यो । तरकारी केलाईरहेकी अस्मिताले ममी मामाघर गएको जानकारी गराईन ।

त्यसपछि दुबैका बोली बन्द भए । आफू नै पुगेपछि कार्डको जरुरी नभए पनि हत्तारहतार कार्डमा सानोबुबाको नाम लेखेर अस्मिताको अगाडि फ्यात्त फ्याँकेर, अस्मिता तिर हेर्दै नहेरि आफ्नो बाटो लाग्यो ।

उसले बसमा सोधेको पहिलो प्रश्न सम्झ्यो -‘बहिनी कहाँ पुग्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment