Comments Add Comment

देशबाट बाहिरिने भन्दा भित्रिने रकम १ खर्ब २८ अर्ब बढी

dollar१० माघ, काठमाडौं । देशबाट बाहिरीने रकमभन्दा देश भित्रिने रकम उल्लेख्यरुपले बचतमा रहेको छ । रेमिटान्स बढिरहेको भारतीय नाकाबन्दीका कारण आयात प्रभावित भएकाले देशको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) धनात्मक भएको हो ।

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ खर्ब २८ अर्ब ११ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी गत आर्थिक वर्षको यसै अवधिमा यस्तो बचत २३ अर्ब ३५ करोड रुपैयाँ थियो ।

‘उपरोक्त विकासक्रमको परिणामस्वरुप चालू खाता र समग्र शोधनान्तरमा ऐतिहासिक रुपले उच्च बचत हासिल हुनु बाहृय क्षेत्रको सातौं विशेषता रहेको छ,’ राष्ट्र बैंकले भनेको छ । गत वर्षको मंसिर महिनामा ३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको चालू खाता यो मंसिर मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ

यो मंसिरमा पूँजीगत ट्रान्सफर ६ अर्ब ७८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब ९२ करोड रुपैयाँ रहेकोले पनि शोधनान्तर बचत वृद्धिमा सहयोग पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको मंसिरसम्ममा पूँजीगत ट्रान्सफर ४ अर्ब ७४ करोड र बैदेशिक लगानी ९४ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकबाट लिइएको स्वीकृतिका आधारमा गत आर्थिक वर्षमा प्रत्यक्ष वैदशिक लगानीको लाभांश स्वरुप ७ अर्ब २१ करोड रुपैयाँ भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको पाँच महिनासम्ममा प्रत्यक्ष वैदेशिक लगानीमा १ अर्ब ५२ करोड लाभांश भुक्तानी भएको छ ।

पौने १० खर्ब विदेशी मुद्रा सञ्चिति

वैदेशिक मुद्रा सञ्चितिमा पनि उल्लेख्य रुपले वृद्धि भएको छ । कुल विदेशी विनिमय सञ्चिति २०७२ असार मसान्तको ८ खर्ब २४ अर्ब ६ करोड रुपैयाँबाट १९.६ प्रतिशतले वृद्धि भई २०७२ मंसिर मसान्तमा ९ खर्ब ८५ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७२ असार मसान्तको तुलनामा २०७२ मंसिर मसान्तमा २०.३ प्रतिशतले वृद्धि भई ८ खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ प्रतिशतले वृद्धि भई १ खर्ब ३९ अर्ब ६४ करोड पुगेको छ । कुल सञ्चितिमा नेपाल राष्ट्र बैंकमा रहेको सञ्चितिको अंश ८५.८ प्रतिशत रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment